सेउतीमा सम्झौता उल्लंघन गरी ढुंगा, गिटी उत्खनन


धरान । ठेक्का सम्झौता विपरीत धरानको सेउती खोलाबाट ठेकेदारले स्काभेटर प्रयोग गरि जथाभावी मिक्स गिटी, ढुंगालगयात नदीजन्य पदार्थ उत्खनन गरिरहेको पाइएको छ । जिल्ला विकास समिति सुनसरी र ठेकेदार कम्पनी जय श्री पाथिभारा ट्रेड एण्ड सप्लायर्स इटहरीबीच भएको ठेक्का सम्झौतामा नदीलाई तीन भागमा विभाजन गरी बीचको भागबाट गहिराई औषतमा ०.७५ मिटर(पौने मिटर) भन्दा बढी नहुने गरि मात्र उत्खनन गर्न पाइने उल्लेख भएपनि सेउतीमा दोब्बर बढी गहिराईसम्म उत्खनन भइरहेको भेटिएको छ ।
इलाका वन कार्यालयको एक टोलीले मंगलबार स्थलगतरुपमा निरीक्षण एवं नापजाच गर्दा स्काभेटरले २ मिटर गहिराईसम्म उत्खनन भइरहेको फेला पारेको हो । सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आइइइ)मा उल्लेख भएका नाकाहरुमा मात्रै मेशनरी(स्काभेटर)को प्रयोग गर्दा अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहवरमा गर्नुपर्ने उल्लेख छ । तर, सेउतीमा जिविसका प्रविधिक र वातावरण अधिकृत दुवै जनाको रोहबर विना नै स्काभेटर प्रयोग भइरहेको छ । त्यसबारेमा जिविसले पनि कुनै चासो दिएको छैन ।
‘ठेक्का सम्झौतामा प्रष्ट पौने मिटर गहिराईसम्म मात्रै उत्खनन गर्न पाइने उल्लेख छ, तर अनियमितरुमा २ मिटर गहिराईसम्म झिकिरहेको भेटियोे’–सहायक वन अधिकत ज्ञानकुमार लामाले भने–‘सम्झौता वमोजिम मात्रै झिक्न निर्देशन दिएका छौं । ठेक्का जिविसले लगाउने भएकोले यसबारेमा जिविसले पनि बिशेष चासो दिनुपर्छ ।’ लामाका अनुसार सम्झौतामा कति गहिराईसम्म उत्खनन गर्ने भन्ने जानकारी नै नभएका ठेकेदारका कर्मचारी खटिएका छन् । जसले गर्दा अनियमितरुपमा खोला उत्खनन भइरहेको हो ।
जथाभावीरुपमा स्काभेटर प्रयोग गरेर खोला उत्खनन गर्दा वन क्षेत्र र मानव वस्ती पनि जोखिममा परेको भन्दै मंगलबार नै एमाले र कांग्रेससम्बद्ध युवाहरु खेला उत्खननस्थलमा पुगेर विरोध जनाएको थियो । स्थानीयबासीले हरेक बर्ष स्काभेटर प्रयोगको विरोध गर्दै आएपनि जिविस र ठेकेदार कम्पनीले वेवस्ता गर्दै सेउतीमा स्काभेटर प्रयोग गरिरहेको छ । मंगलबार युवाहरुले गैरकानुनीरुपमा स्काभेटर प्रयोग गरेको भन्दै नियन्त्रणमा लिएका थिए । ‘अवैधरुपमा स्काभेटरले उत्खनन गरिरहेको थाह पाएर विरोध गरेका हौं । जथाभावी स्काभेटर लगाउदा पनि जिविस के हेरेर बसेको छ ?’–कांग्रेस महाधिवेशन प्रतिनिधि पर्वत राईले भने ।
वन क्षेत्रलाई नोक्सानी भइरहे पनि सेउती खोला आसपासका बाँझगरा वन समुह र पानवारी वन समुहले मासिक ६० हजार रुपैया लिएर स्काभेटर प्रयोग गर्न अनुमति दिएको भन्दै युवाहरुले असन्तुष्टी पनि जनाए । ‘मानव वस्ती मात्रै होइन, वन क्षेत्र पनि हरेक बर्ष कटानमा पर्छ । तर यहाँको वन समुहले आर्थिक प्रलोभनमा परेर स्काभेटर लगाउने स्कीकृत दिएको छ’–युवा संघका केन्द्रीय सदस्य ज्ञानदिप लिम्बूले भने ।
ठेकेदार कम्पनीका प्रनिनिधि युवराज चापागाईले भने आइइइ प्रतिवेदन अनुसार जिविससँग सम्झौता हुदा स्काभेटर प्रयोग गर्न पाइने उल्लेख भएको दाबी गरे । सोमबार जिविसको वातावरण अधिकृत गएर उत्खनन क्षेत्र हेरेको दाबी गर्दै चापागाईले सम्झौताविपरीत धेरै गहिराई नखनेको जिकिर गरे । ‘खोला कतै हाइट छ, कतै लो छ । त्यसैले तलमाथि देखिएको होला, धेरै गहिराई खनेको छैन’–उनले भने ।
जिविसका वातावरण अधिकृत पुष्प नारायण चौधरीले चैत १५ गते आइतबार पनि सम्झौता विपरीत डेढ मिटर उत्खनन गरेकोले पुर्न लगाएको बताए । ‘पहिला पनि बढी झिकेको भेट्यौं र पुर्न लगायौं । अहिले फेरि बढी झिकेको खबर आएकोले रोक लगाइसकेका छौं’–चौधरीले भने–‘भोली बुधबार यसै बिषयमा जिल्ला अनुगमन तथा समन्वय समितिको बैठक बोलाएका छौं ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे