पर्यटन प्रर्वद्धन गर्न युवाहरु पाँच दिने साइकल यात्रामा जादै

धरान । साहसिक पर्यटन प्रर्वद्धन र सहकार्य गर्ने उद्देश्यले साइक्लिङमा सक्रिय युवाहरुको एक टोली पूर्वीउत्तर भारतको सिक्किमसम्म पाँच दिने यात्रामा जाने भएका छन् । इन्डो–नेपाल साइक्लिङ एडभेञ्चर फ्रेण्डसिपको नारा दिएको यात्राको नाम ह्विल्स अन हिल्स साइक्लिङ एक्सपिडिशन २०१५ दिइएको छ ।
बिहिबारदेखि शुरु हुने यात्रा सोमबार धरानमा आएर टुंगिनेछ । यात्रामा धरान, काठमाण्डौं, विराटनगरका १६ जना साइक्लिष्ट हुनेछन् भने ३ जना इभेन्ट मेनेजर रहनेछन् । टोलीमा विश्वसाइकल यात्री पुष्कर शाह पनि छन् भने टोलीमा एक जना विराटनगर र एक काठमाण्डौंकी महिला साइक्लिष्ट पनि सहभागी हुनेछन् । यो यात्राको संयोजन दर्शन धरानले गरेको हो भने धरान उपमहानगरपालिकाको बिशेष सहयोग छ । उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राईले बुधबार टोली प्रमुख सुदन थापा र विश्व साइकल यात्री शाहलाई संयुक्तरुपमा राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
टक्स माउण्टेनबाइक शो रुमका प्रमुख कृष्ण केसीका अनुसार इलामको यात्रा पशुपतिनगर, दार्जिलिङ, कालिङपोङ हुदै सिक्किम पुग्नेछ । त्यहाँबाट सिलगुडी, काकडभिट्टा हुदै साइकले टोली फागुन २५ गते धरान आइपुग्नेछ । यात्राको क्रममा धरानसँगै पूर्वको धार्मिक र साहसिक पर्यटनको प्रचार एवं प्रर्वद्धन गरिने केसीले बताए । ‘पूर्वी नेपालको साहसिक र धार्मिक पर्यटनको प्रचार गछौं, भारत र नेपालमा साहसिक पर्यटन प्रर्वद्धन गर्न कसरी सहकार्य गर्न सकिन्छ भनेर पहल पनि गछौं’–उनले भने ।
साइक्लिष्ट टोलीले धरान उपमहानगर र सिक्किमको गान्तोक नगरबीच भगिनी सम्बन्ध गाँस्न पहल पनि गर्नेछ । यसको लागि धरान उपमहानगरपालिकाले टोलीको साथमा औपचारिक पत्र पठाउदैछ । गान्तोकबाट सकरात्मक प्रतिक्रिया आएमा धरानले प्रक्रिया अघि बढाउने समाज कल्याण शाखा अधिकृत सुनिल नेपालले बताए । ‘यो यात्राले धरान, आसपासको क्षेत्र र समग्र पूर्वी नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ भन्ने सन्देश समग्र पूर्वीउत्तर भारतमा जान्छ । यो यात्राले पर्यटन विकासमा एउटा नौलो अवधारणा ल्याउने आशा लिएको छुँ’–उनले थपे ।
आयोजक संस्थाले बर्षमा एक पटक यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । अर्को बर्ष भारतबाट पर्यटनसम्बन्धी संस्थालाई नेपाल ल्याउने योजना रहेको दर्शन धरानका प्रमुख सुदन थापाले बताए । ‘अर्को पटक भेडेटार, राजारानी, रवि, राके, इलाम, सन्दकपुर, दार्जिलिङ हुदै सिक्किम पुग्ने रुटमा जान्छौं’–उनले भने । पछिल्लो समय सिक्किममा अग्र्यानिक खेती फष्टाएकोले त्यहाँको खेतीको पद्दतीलाई यहाँ ल्याउन पनि अध्ययन गर्ने उनीहरुको भनाई छ । धरान २३, वसन्तटारका नमुना कृषक कृष्ण राईको वृत्तचित्र पनि प्रर्दशन गर्ने टोलीले जनाएको छ । विश्व साइकलयात्री शाहले ग्रामिण सडकले पदयात्राको रुट ध्वस्त भएकोले साइकल पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे