धरानको खानेपानी आयोजनाको निर्माण ठेक्का सम्झौता

धरान । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालन भइरहेको एकीकृत सहरी विकास आयोजनाअन्र्तगत धरानमा खानेपानी आयोजनाको निर्माण कार्य शुरु गर्न ग्लोबल टेण्डरद्धारा स्वीकृत कम्पनी र धरान उपमहानगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ठेक्का पाएको कम्पनी तियाञ्जिन तुदी जेभी र उपमहानगरपालिकाबीच शहरी विकास आयोजनाका उपनिर्देशक पराग कायस्थ, परामर्शदाता बिडिएका निर्देशक अरुण नेपालको उपस्थितिमा बुधबार ठेक्का सम्झौता भएको हो ।
सम्झौतामा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र कम्पनीका प्रतिनिधि निर्माण गोउलीले हस्ताक्षर गरेका छन् । आयोजनाका अनुसार भ्याटसहित कुल लागत खर्च १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैया छ । नेपाल सरकार, एडिबिलगायत निकायले दुई चरणको प्राविधिक र आर्थिक प्रस्ताव मुल्यांकन गरेर मात्रै तियाञ्जिन तुदीको प्रस्ताव स्वीकृत गरेको हो ।
धरानको मुख्य खानेपानी समस्या हल गर्ने लक्ष्यसहित शुरु आयोजनाको लागि एडिबिमार्फत नेपाल सरकारले ५० प्रतिशत अनुदान, नगरविकास कोषले ३५ प्रतिशत ऋण दिनेछ भने १५ प्रतिशत बजेट उपमहानगरपालिकाको सहभागीता हुनेछ । एडिबि र कोषसँग उपमहानगरपालिकाको यसअघि नै सम्झौता भइसकेको थियो । तियाञ्जिनलाई चाडै मोविलाइजेशन खर्च उपलब्ध गराउने र उक्त दिनदेखि ठिक २४ महिना अर्थात २ बर्षभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने आयोजना कार्यान्वयन इकाका व्यवस्थापक राजु पोख्रेलले बताए । ‘ग्लोबल टेण्डरबाट छनौट भएको कम्पनीसँग निर्माण कामको सम्झौता भएको छ, अब मोविलाइजेशन खर्च दिन्छौ र त्यसदिनदेखि २४ महिनाभित्र निर्माण गरेर हामीलाई दिनुपर्छ’–सम्झौताका सर्तबारे उनले भने ।
आयोजनाका अनुसार खानेपानी संस्थानको वितरण प्रणालीभन्दा धेरे सुधार गरिएको अवस्थामा कम्पनीले संचरना हस्तान्तरण गर्नुपर्नेछ । निर्माण सकिएको ९ महिनासम्म कम्पनी आफैले खानेपानी वितरण तथा सञ्चालन गरेर देखाउनुपर्नेछ भने १२ महिनाभित्र कुनै संरचना बिग्रिएमा, भत्किएमा कम्पनीले नै मर्मत गर्नुपर्ने हुन्छ । हालको संरचना सुधार गर्नुका साथै नयाँ थपिने, सर्दु खर्दुको इनटेक सुधार्ने र नयाँ बनाउने, नयाँ ट्युबेल बनाउने र पुरानो मर्मत गर्नेजस्ता निर्माणको कार्य हुने आयोजना व्यवस्थापक पोख्रेलले बताए । ‘पुरानो पाइपलाइन हटाएर नयाँ राख्छौं, र थप पाइपलाइन पनि विस्तार गछौं । ट्रिटमेन्ट प्लान्ट रहन्छ । धरानलाई ५ वटा क्षेत्रमा विभाजन गरेर त्यहाँ रिजर्व वेयर राख्छौं र त्यहीबाटै त्यस क्षेत्रमा पानी वितरणको सिस्टम हुन्छ’–उनले थपे ।
शहरी विकास आयोजनाका उपनिर्देशक कायस्थले कम्पनीसँग एक महिनाभित्र काम गर्ने तालिका मागेर त्यसवमोजिम काम भए नभएको निरन्तर अनुगमन गरिने बताए । साथै उनले आयोजना सफल बनाउन धरानबासीहरुबाट पनि सकरात्मक साथ सहयोगको खाँचो रहेको बताए । ‘काम शुरु भएपछि पाइपलाइन विस्तार गर्न सडकको दायाँबाया खाली हुनुपर्छ, यसबेला धराने जनताले सहयोग गर्नुपर्छ । तर, नयाँ पाइपलाइन नबिछ्याइकन पुरानो हटाउन पाइदैन, यसले खानेपानी वितरणमा कुनै मस्या पनि हुदैन’–उनले भने । निर्माण कम्पनीका प्रतिनिधि गोउलीले सम्झौता अवधिभित्रै काम सक्ने लक्ष्यसहित मोविलाइजेशन खर्च पाएलगत्तै निर्माण कार्य थाल्ने बताए । तोकिएको समयमा काम सक्न धरानबासीको साथ, सहयोगको खाँचो रहेको उनले पनि औल्याए । ‘चुनौती छ, तर कुनै बाधा व्यवधान भएन भने समयमा नै काम सक्छौं’–उनले भने । कार्यकारी अधिकृत टिकादत्त राईले धरान र धरानेहरुको सुनिश्चित भविष्यको लागि आयोजना महत्वपुर्ण भएकोले सहयोग गर्न आह्वान गरे ।
सन् २०१७ भित्र निर्माण सम्पन्न हुने भनिएको आयोजनाले जनसंख्याको सत प्रतिशत र त्यतिपनि नभए ९५ प्रतिशतलाई सुविधा दिलाउने लक्ष्य राखेको छ । आयोजना सञ्चालन अघि नौ महिनासम्म भुमिगत स्रोतको अध्ययन भएको थियो । सो अध्ययनबाट सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्न सकिने देखिएको थियो । आयोजनाबाट दैनिक २ करोड ३० लाख लिटर पानी संकलन हुने अनुमान छ । सन् २०३१ सम्म धरानको जनसंख्या दुई लाख ११ हजार पुग्ने अनुमान छ । दैनिक २ करोड २० लाख लिटर पानीको माग रहेको धरानमा अहिले दैनिक १ लाख २० हजार लिटर मात्रै पानी वितरण भइरहेको खानेपानी संस्थानले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे