पूर्वको पर्यटन विकास गर्न गन्तव्यहरुको बजारीकरण आवश्यक

सेछ ट्राभलिङको तेस्रो बार्षिकोत्सवको अवसरमा बिहिबार धरान ४ स्थित होटल सेछमा आयोजित कार्यक्रममा पर्यटन सम्बद्ध व्यक्तिहरुबाट यस्तो धारणा आएको हो । पूर्वक्षेत्रमा पर्यटनको सम्भावना प्रचुर भएपनि बजारीकरणको अभावमा अपेक्षाअनुरुप विकास हुननसकेको उनीहरुको भनाई थियो ।


सोही कार्यक्रममा, पर्यटनप्रति चासो बढाउने उद्देश्यले सुन्दरी प्रतियोगिता मिस टुरिजम २०१५ का प्रतिस्पर्धीहरुबीच वतृत्वकला प्रतियोगिता पनि आयोजना भएको थियो । प्रतिस्पर्धी सुन्दरीहरुले पर्यटन बिषयमा आफ्नो धारणाहरु व्यक्त गरेका थिए । उक्त वतृत्वकलामा सहभागीमध्ये प्रियंका गुरुङ प्रथम, शुभेच्छा कार्की दोस्रो र सुष्मा राई तेस्रो भइन् । उनीहरुलाई प्रमुख अतिथि अधिकारी र सेछकी प्रबन्ध निर्देशक एलिना मगरले प्रमाणपत्र, उपहार प्रदान गरेका थिए । सेछका सञ्चालक एवं पर्यटनकर्मी वासुदेव वरालले तीन बर्षको अवधिमा पूर्व पश्चिमदेखि भारतका विभिन्न स्थानमा पूर्वको पर्यटन प्रचारप्रसार गरेको जानकारी दिदै मिस टुरिजमको नामम युवा पुस्ताले पर्यटन प्रर्वद्धनमा चासो देखाउनु स्वागतयोग्य भएको बताएका थिए ।
नागरिक संवाददातालाई पर्यटन पत्रकारिता पुरस्कार
पर्यटनको प्रर्वद्धन तथा पर्यटनप्रति आम नागरिकको रुचि जगाउन योगदान दिएको कदर स्वरुप नागरिक दैनिकका धरान संवाददाता रोहित राईलाई सेछ पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सेछ ट्राभलिङद्धारा स्थापित पुरस्कार बिहिबार तेस्रो बार्षिकोत्सवको अवसरमा राईलाई प्रदान गरिएको हो ।नागरिककर्मी राईलाई नगद ५ हजार राशी, सम्मानपत्र र दोसल्लासहित प्रमुख अतिथि एवं विराट क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी र प्रबन्ध निर्देशक एलिना मगरले पुरस्कृत गरेका थिए । पर्यटनको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई उत्प्रेरणा दिलाउन र अन्यलाई पनि लेखनमा चासो जगाउने उद्देश्यले पुरस्कार प्रदान गरेको सेछले जनाएको छ । ‘यो बर्षदेखि पुरस्कारको थालनी गरेका छौं, पर्यटन प्रर्वद्धनमा पत्रकारिताको ठुलो भुमिका हुने भएकोले थप उत्प्रेरणा दिन र अन्यलाई पनि अभिरुची जगाउने आशा छ’–सेछका सञ्चालक वरालले भने । तीन बर्षअघि पूर्वका विभिन्न १७ प्याकेज घोषणा गर्दै सेछ ट्राभलिङ शुरुवात भएको थियो । यसले गएको बैशाख महिनादेखि होटल सेक्ष पनि सञ्चालनमा ल्याइसकेको छ ।
Comments
Post a Comment