लाइसेन्सको फारम भर्न घण्टौं लाममा

धरान । सवारी अनुमति पत्र(लाइसेन्स)को फारम भर्न आइतबार धरानबाट इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीअन्र्तगतको सवारी अनुमति पत्र कार्यालय पुग्दा सुलभ गजमेर निराश भए । कारण थियो, त्यहाँ उनीजस्ता हजारौं युवाहरु फारम भर्न र दर्ता गराउन तछाड मछाड गरिरहेका थिए ।
कोशी अञ्चलमा चैत १५ र १६ गते मोटरसाइकल र मोपेड तथा चैत १७ गते स्कुटरको लाइसेन्सको लागि फारम दर्ता खुलेपछि यतिबेला इटहरीमा हजारौं युवाहरुको घुइचो छ । उनीहरु बिहान झिसमिसेदेखि नै फारम दर्ता गर्न लाइनमा उभिएका छन् । कोशी राजमार्गको धरान इटहरी सडकखण्डमै रहेको कार्यालयमा फारम दर्ता गर्ने र उनीहरुका मोटरसाइकलको भीड छ । ‘यतिको भिड होला भन्ने सोचेकै थिइन, सरकारले लाइसेन्स वितरणलाई नियमित र व्यवस्थित गर्नुपर्छ’–सुलभले भने ।
सरकारले नियमितरुपमा लाइसेन्स वितरण नगर्दा सुलभ जस्ता हजारौं युवाहरु सवारी चालक अनुमतिपत्रबाट बञ्चित छन् । यसअघि भदौ १९ गते लाइसेन्स खुलेको थियो । त्यसयता भने लाइसेन्स वितरण अवरुद्ध थियो । कार्यालयका अनुसार यो पटक कम्तीमा ६ देखि १० हजारले लाइसेन्सको लागि फारम भर्ने अनुमान छ । ‘लामो समयपछि खुलेकोले गर्दा भिड भएको हो, यसपटक फारम भर्नेहरु ६ देखि १० हजारको संख्यामा हुने अनुमान गरेको छुँ’–कार्यालयका प्रमुख रघुवर साहले भने ।
प्रमुख साहका अनुसार जनताको माग वमोजिम नै सवारी दर्ता र सवारी चालक अनुमति पत्र(लाइसेन्स) कार्यालयलाई अलग बनाएपछि संगठनात्मक सुधार एवं व्यवस्थापन गर्न समय लागेकोले ढिलाई भएको हो । दरबन्दी अनुसार कर्मचारी पदस्थापन, छुट्टै कार्यालय स्थापना र तयारीको कारण लाइसेन्स वितरण प्रक्रिया सुचारु हुन नसकेको साहको भनाई छ । ‘अब सवारी दर्ता पहिलाको यातायात कार्यालयमा हुन्छ, यहाँबाट सवारी चालक अनुमति पत्र मात्रै वितरण र नवीकरण हुन्छ’–उनले भने ।
दुई चक्के सवारीको लाइसेन्स फारम खुलेपनि चार पांग्रेको भने खुलेको छैन । ट्रायल सेन्टर अभावमा चार पांग्रेको लाइसेन्स खुलाउन नसकिएको प्रमुख साहको भनाई छ । ट्रायल सेन्टरको बजेट आइसकेको र जिल्ला प्राविधिक कार्यालयलाई स्टिमेट गर्न आग्रह गरिसकेको र चाडै व्यवस्था गरेर चार पांग्रेको पनि लाइसेन्स खुलाउने साहले बताए । दुई चक्के सवारीको लागि भने यसअघि नै मोरंगको साजिलाल उच्चमाविको जग्गा लिजमा लिएर ट्रायल सेन्टर तयार गरेको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे