खेलकुदको शहर धरान


गत फागुन १६ गतेदेखि २३ गतेसम्म धरानमा सञ्चालन भएको १७ औं बुढासुब्बा गोल्डकपको चर्चा सेलाइसकेकै छैन । फुटबलको कारण धरानले ‘मिनि ब्राजिल’ को उपमा पाएको छ । विगत १७ बर्षदेखि नियमित सञ्चालनमा आएको एक मात्र प्रतियोगिता हो बुढासुब्बा गोल्डकप । गोल्डकप हुदा धरान बाहिर र स्थानीय कति दर्शक आएर खेल हेरे ? भन्ने चर्चाले धरान सधै तातिन्छ ।
गोल्डकप सञ्चालन हुदा सहभागी टिमका खेलाडी र अफिसियलले धरानका होटल, लज झण्डै एक सातासम्म खचाखच हुन्छ । फुटबल हेर्न सनुसरीका विभिन्न स्थानसँगै धनकुटा, मोरङ, झापादेखि इलाम जिल्लाबाटसमेत दर्शक आउने गर्छन् । कुनै समय एन्फाको विवादले ए डिभिजन लिग नहुदा शुन्यप्रायः भएको नेपाली फुटबललाई बुढासुब्बाले धानेको थियो । यति महत्व बोकेको बुढासुब्बा गोल्डकपको माध्यमबाट पर्यटन प्रर्वद्धनमा पनि सघाउ पुगिरहेको छ भन्नेतर्फ भने कमैको ध्यान छ । फुटबललाई मात्रै खेल र मनोरञ्जनको एक साधन मात्रै हो ठान्ने सोच हावी छ । जसले प्रचुर सम्भावना भएर पनि यहाँ खेल पर्यटनको अवधारणा फष्टाउन सकेको छैन ।
सरोकारवालाले ध्यान नदिए पनि आयोजक धरान फुटबल क्लब भने गोल्डकपले पर्यटन प्रर्वद्धनमा ठुलो भुमिका खेलिरहेको मान्छ । एक साताको लागि मात्रै भएपनि आन्तरिक पर्यटक धरान भित्रिने र आर्थिक गतिविधि बढाउछ । क्लबका महासचिव प्रताप तामाङका अनुसार खेलाडी, अफिसियलसँगै दर्शकहरु भेडेटारसम्म घुम्न र किनमेल गर्न पुग्छन् । धरानमा आर्थिक गतिविधि त हुने भयो नै धनकुटाको पर्यटकीयस्थल भेडेटारसम्म यसको प्रभाव पुग्छ । अघिल्लो १६ औं सँस्करणमा पोखराको सहारा क्लब बुढासुब्बाको फाइनलमा पुग्दा सर्मथकहरु गाडी रिर्जब गरेर धरान आएको उनी सम्झन्छन् । ‘धरान खेलकुदको शहर हो, बुढासुब्बा गोल्डकपको उद्देश्य फुटबलको विकास गर्नु त छदैछ, खेल पर्यटन प्रर्वद्धन गर्नु पनि हो’–उनी भन्छन् ।
बुढासुब्बाअघि फागनु ९ मा आयोजित तेस्रो नेवा च्यारिटी ८ के रनमा नेपालभरका हजार भन्दा बढी धावक एवं एथलेटिक्स खेलाडीहरुले सहभागीता जनाए । विगत ३ बर्षदेखि नियमित आयोजना हुदै आएको नेवा च्यारिटी रनमा एसियन च्याम्पियनसिपमा नेपाललाई एक मात्र पदक दिलाएकी करातेकी खेलाडी विमला तामाङ र चर्चित धावक बैकुण्ठ मानन्धर आर्कषणको केन्द्र बने । अझ धावक मानन्धर त प्रतियोगितामा सहभागीता भएर भेट्रानतर्फ तेस्रो विजेता नै बने । बेलायतमा बस्दै आएका सन्तोष राई हरेक साल जन्मभुमि आएर यो प्रतियोगिता सम्पन्न गराई फर्कन्छन् ।
यस्तै, पुष २६ र २७ गते शो डाउन धरान २०१५ कार्यक्रमअन्र्तगत पहिलो दिन डाउनहिल इलिट च्याम्पियनसिप र दोस्रो दिन क्रस कन्ट्री माउण्टेन बाइक स्पर्धा भएको थियो । उक्त स्पर्धामा पाँच भुटनिज खेलाडी, बेलायती, अमेरिकनसँगै राजधानीबाट आएका साइक्लिष्टहरु पनि सहभागी थिए । शो डाउनमा सहभागी हुन आएका साइक्लिष्टहरुले प्याराग्लाइडिङ गरेर थप मजा पनि लिए । गएको कार्तिक अन्तिम साता निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा आयोजित चार दिने सुर्य नेपाल इष्र्टन ओपन भयो । जसमा स्थानीय एमेच्योर र व्यावसायिक गल्फरसहित ५६ जना खेलाडी सहभागी थिए । नेपालको पुरानो मध्येको एक यो गल्फ कोर्षमा हरेक बर्ष यो प्रतियोगिता आयोजना हुन्छ ।
यी खेल गतिविधिले धरान खेलकुद भएको परिचय मात्रै दिदैन, खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन र आर्थिक गतिविधि पनि बढाएको छ । यी त गतिविधि हुने भएर सबैले थाह पाउने, देखिने खेल हो । यसबाहेक धरानमा खेल पर्यटनको मुख्य आर्कषण र्याफटिङ, कायाकिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, एङ्लिङ(बल्छी खेल्ने), आर्चरी, स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, बास्केटवल कोर्ट पनि छन् । जसले धरानलाई खेल पर्यटनको हबकोरुपमा पहिचान दिलाउनेछ । धरानमा एक दिन भन्दा बढी घुम्ने ठाउँ नभएको भन्ने पर्यटकहरुको गुनासो छ । भानुचौकको घण्टाघर, विजयपुर गढीमा अवस्थित मठमन्दिर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरियाली वनको चिल्ड्रेन पार्क, मिनि चिडियाघर पर्यटकको प्राथमिकतामा पर्छ । जुन बिहानदेखि मध्य दिउसोसम्ममा घुमेर सकिन्छ । विभिन्न खेल पर्यटनलाई प्याकेजमा बिक्री गर्न सक्ने हो भने ती पर्यटकहरुको बसाई लम्ब्याउन सकिन्छ । पर्यटन व्यावसायीहरुको ध्यान त्यता पुग्न सकेको छैन ।
धरानमा धार्मिक पर्यटनमात्रै छ भन्ने बढी प्रचारले साहसिक एवं खेल पर्यटन सधै ओझेलमा परेको पर्यटन प्रर्वद्धनमा सक्रिय रोयल इष्र्टन इन्फिल्डर्सका अध्यक्ष योगेन राई बताउछन् । ‘मठमन्दिर मात्रै पर्यटनस्थल र त्यहाँ घुम्न आउने मात्रै पर्यटक हुन् भन्ने धारणा छ, साहसिक एवं खेल पर्यटनप्रति चासो कम छ’–उनी भन्छन् । उनको विचारमा नयाँ पुस्ता भने साहसिक तथा खेल पर्यटनप्रति आकर्षित छ । उनको समुह रोयल इन्फिल्डमै भए पनि हरेक बर्ष पूर्वदेखि पश्चिमका विभिन्न जिल्ला र भारतको दार्जिलिङ, सिक्किम पुगेर धरान घुम्न आउन निमन्त्रण बाड्छ ।
खेल पर्यटनको मुख्य अंग हो र्याफ्टिङ । नेपाली कांग्रेसको राजनीति छोडेर पर्यटन व्यावसायमा होमिएका मदन ढकालले तमोर रिभर र्याफ्टिङ शुरु गरेका छन् । धनकुटाको मुलघाट तमोरदेखि शुरु हुने र्याफ्टिङ चतराघाट कोशीमा टुंगिन्छ । एक दिन वा एक दिन एक रातको र्याफ्टिङ प्याकेज छ । तमोर रिभरले र्याफ्टिङसँगै कायाकिङ पनि गराउछ । क्यानोनिङका पारखीलाई नमस्ते झरना लगेर त्यो इच्छा पनि पुरा गरिदिन्छ । र्याफटिङको सिजन भएकोले अहिले भ्याइनभ्याई छ ।
माउण्टेन बाइकिङमा पूर्वमा धरान मात्रै एक शहर हो, जहाँ छोटो अवधिमै ४ वटा शो रुम खुलिसकेको छ । राइडर्स एण्ड एमटिबि जोन, ग्रिन ह्विल्स, इष्र्टन ट्रेल र टक्स माउण्टेन बााइक शो रुम साइकल बिक्रीमा मात्रै सिमित छैन । हरेक दिन जसो प्याकेजमा गाउघर, डाँडाकाडा घुम्न जाने शहरियाको संख्या बढेको छ । धरान आउने पर्यटकलाई पनि साइक्लिङमा जंगल सफरी, सिटि राइड वा एग्रो ट्रेलमा गाउँघर घुमाउन लगे बसाई लम्बिन्छ । पूर्वाधार विकास भएकोले अचेल यहाँ क्रस क्रन्ट्री र डाउनहिल च्याम्पियनसिप पनि आयोजना हुन थालेपछि स्वदेशी र विदेशी साइक्लिष्टको गन्तव्य धरान बनेको छ । यहाँको डाउनहिलको ट्रयाक साइक्लिष्टहरुले औधी रुचाएका छन् ।
निर्वाण कन्ट्री क्लबस्थित गल्फ कोर्षले इतिहास बोकेको छ । ब्रिटिश घोपा क्याम्प यहाँ रहदा सन् १९६२ मा गोराहरुले खेल्न यो कोर्ष बनाएका थिए । यहाँ हरेक बर्ष सुर्य नेपाल इष्र्टन ओपन हुने गर्छ भने स्थानीयस्तरमा पनि एमेच्योर स्पर्धा हुन्छ । उहिल्यै यहाँ वेष्ट वंगालबाट भारतीय गल्फर तथा धनाढ्य व्यावसायीहरु खेल्न आउथे । अचेल आउदैनन् । शुल्क तिरेर गल्फ सिक्ने, खेल्ने व्यवस्था पनि छ । पर्यटकलाई यसले पनि आर्कषिर्त गर्नेछ । गल्फ कोर्षको प्राकृतिक सौन्दर्यले लठ्याउने छुट्टै पाटो छदैछ । ब्रिटिश क्याम्पकै कारण यहाँ एङलिङ(बल्छीले माछा मार्ने) को चलन पनि शुरुवात भएको थियो । यो अहिले पनि कायममै छ । एङलिङको टिमले नियमित तमोर, कोशी नदीमा बल्छी लिएर जान्छ । विदेशी टिमलाई पनि लैजान्छन् । उनीहरु माछा भने मार्दैनन् । साइज नापेर पुनः नदीमा नै छोडिदिन्छन् । धरान आसपासको डाँडातिर हाइकिङमा गएर धरानको दृष्यपान गर्दै रमाउने समुहहरु पनि छ । केही बर्षदेखि यहाँ नियमित प्याराग्लाइडिङको उडान परीक्षण पनि भइरहेको छ । धरान प्याराग्लाइडिङ क्लबको पहलमा यहाँ चाडै व्यावसायिकरुपमा उडान शुरु हुदैछ । धरानका देशविर जिमीले टेन्डम पाइलटको कोर्ष पुरा गरिसकेका छन् । पूर्वेलीहरु प्याराग्लाइडिङको मजा लुट्न पोखरा पुग्नैपर्ने बाध्यता हट्नेछ ।
साहसिक तथा खेल पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन एवं विकास गर्न सबै मिलेर एक्सट्रिम धरानमा आवद्ध भएका छन् । कुनै ठुलो इभेन्ट गर्दा सहकार्य गर्ने र धरान आउने पर्यटकको बसाई लम्ब्याउन सबै प्रकारका साहसिक तथा खेल पर्यटनलाई समेटेर प्याकेज बनाउने यसको उद्देश्य छ । जसमा र्याफ्टिङ, प्याराग्लाइडिङ, क्यानोनिङ, साइक्लिङ, ट्रेकिङ, एङलिङ, आर्चरी, रोयल इनष्र्टन इन्फिल्ड, स्टाटिक इनगेभर्स र मोडिफिकेशन धरान आवद्ध छ । ‘भौगोलिक, पर्यावरणीय, समाजिक र सास्ँकृतिकरुपमा पनि धरान साहसिक खेल पर्यटनको लागि एकदमै उपयुक्त गन्तव्य हो’–एक्सट्रिमका संयोजक तथा प्याराग्लाइडिङ क्लबका अध्यक्ष लेखमणि राईले भने–‘यसको प्रर्वद्धन र विकासको लागि हामीसँग भएका प्रोडक्टको व्यावसायिकरण गर्न अतिआवश्यक छ ।’ नेपालमा पोखरापछि संगठितरुपमा खेल पर्यटनमा धरान अघि बढेको उनको भनाई छ । तर, खेलको शहरलाई धान्न खेल पर्यटनका गतिविधिहरु सक्रियतापूर्वक निरन्तर भइरहनुचाहि पर्छ ।
। । । । । ।। । । । ।। । ।

लेखमणि राई,
संयोजक एक्सट्रिम धरान तथा अध्यक्ष धरान प्याराग्लाइडिङ क्लब 
: खेल पर्यटनको प्रचुर सम्भावना छ, तर अझै पनि पहिचान गरिसकेका छैनौं । स्वयम खेल र साहसिक पर्यटनमा संलग्नहरु आफुलाई पर्यटनकर्मी नै ठान्दैनन् । आफ्नै तालमा काम र गतिविधि भइरेको छ, अब सबै मिलेर व्यावसायिकरण गर्न जरुरी छ । प्राकृतिक सौन्दर्य मात्रै पर्यटनको आधार होइन । उपचार गराउन आउने विरामीहरुबाट स्वास्थ्य पर्यटन, खेलाडी र दर्शकबाट खेल पर्यटन, दाई गर्ने र धान रोप्नेजस्ता हाम्रो परम्परागतशैली तथा चलनबाट ग्रामिण पर्यटनको प्रर्वद्धन र विकास हुन्छ भन्ने बुझ्नुपर्छ । ठुला होटल बन्दैमा मात्रै पर्यटन विकास हुदैन, खरकै छानो भएको घरमा पनि पर्यटकलाई सन्तुष्टी दिनसकिन्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।
==================================================
योगेन राई
अध्यक्ष, रोयल इष्टर्न इन्फिल्डर्स
: पर्यटनकर्मी होटल व्यावसायी र ट्राभल एजेन्सी मात्रै हो भन्ने मान्यता हटाउनुपर्छ । अब नयाँ युवा पिढीहरु साहसिक र खेल पर्यटनमा धेरै आर्कषित छन् । यसतर्फ ध्यान दिएर अघि बढ्ने हो भने धरान खेल पर्यटनबाट माथि उठ्छ, साहसिक र खेल पर्यटन यहाँको पहिचान बन्छ । खेल पर्यटन सम्बद्ध सबै मिलेर प्याकेज तयार गर्ने हो भने पर्यटकलाई एक सातासम्म धरानमा राख्न सकिन्छ । तर, सबै सरोकारवालाहरुबीच सकरात्मक सहकार्य जरुरी छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे