‘१२ नेपाली एक चिहान’को रेड कार्पेट शो


धरान । एक बर्षसम्म सेन्सर बोर्डबाट प्रर्दशनमा रोक लागेको इराक घटनामा आधारित फिल्म ‘१२ नेपाली एक चिहान’को धरानमा च्यारिटी रेड कार्पेट शो भएको छ । नेवार एकता समाजको संयोजनमा गत मंगलबार धरानको भानुचौकस्थित गणेश टाँकिजमा फिल्मको रेड कार्पेट शो भएको हो ।


धरानमा भव्य एवं सफलताका साथ च्यारिटी रेड कार्पेट शो भएको फिल्मका लेखक एवं निर्देशक अरुण प्रधानले बताए । एक बर्षको झमेला पछि सेन्सर बोर्डले यो फिल्मलाई गत साउन २८ गते मात्रै प्रर्दशनमा फुकुवा गरेको थियो । सेन्सरबाट फुकुवा भएपछि यो फिल्म नेपालमा पहिलो पटक मंगलबार धरानमा प्रर्दशन भएको हो । यसअघि, हङकङमा दुई पटक च्यारिटी शो भइसकेको छ । एक दशकअघि बैदेशिक रोजगारीको क्रममा इराक पुर्याइएका १२ नेपाली युवाहरुको निर्ममतापूर्वक हत्या भएको थियो । त्यही सत्य घटनामा आधारित भएर निर्देशक प्रधानले यो फिल्म बनाएका हुन् । उक्त घटनाले नेपालमा हिंसा निम्त्याएको थियो । राजधानीस्थित थुप्रै म्यानपावर कम्पनीमा आक्रमण भएको थियो । तर, फिल्मले हिंसालाई भन्दा बढी बेरोजगार युवाहरुको मनोदशा र पारिवारिक पीडालाई समेटेको छ । उनीहरु कसरी इराक पुगे ? त्यहाँ कस्तो समस्यासँग जुधे ? इराकी बिद्रोहीहरुबाट उनीहरु उक्छन् कि हत्या हुन्छ ? यिनै सेरोफेरोमा फिल्मले दर्शकलाई भावुक बनाउछ र अन्त्यसम्म बाधेर राख्न सफल छ ।

पहिलो च्यारिटी रेड कार्पेट शोबाट दर्शकहरुको सकरात्मक प्रतिक्रियाले थप हौसला मिलेको निर्देशक प्रधानले बताए । ‘दर्शकहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छुँ, धेरै जना त भावुक भएर रुनुँ पनि भएछ’–निर्देशक प्रधानले भने–‘धेरैले यस्तै नेपाली फिल्म बन्नुपर्छ भनेर हौसला पनि दिइरहनु भएको छ ।’ फिल्मको च्यारिटी रेड कार्पेट शोमा अधिकांश कलाकारहरु सहभागी भएर दर्शकसँगै फिल्म हेरेका थिए । जय हनुमान क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तमजंग लिम्बू, जतिन ताम्राकार, राजन खतिवडा, रविन्द्र झा, बिक्रम सिंह, रामभजन कामत, सोनु जयन्ती, मिलन श्रेष्ठ, सुसिल थापा मगर, उमा कार्की, निराजन मेहता, सृर्जना राई, शोभा खजुम,सुवर्ण मोहन पलिखे, सुवास थापा, सुरज थापालगायत कलाकारहरुको अभिनय छ । संगीता प्रधान निर्मात्री रहेको फिल्मको कार्यकारी निर्माता रविन श्रेष्ठ, सह निर्माता भाइसन वर्देवा, रविन राई, संगीत प्रवलदीप विश्वास, गीत शशि थापा सुब्बा, भाइसन बर्देवाको रहेको छ ।


२०६१ भदौ १५ गते इराकमा धनकुटाका मंगल लिम्बू, झापाका प्रकाश अधिकारी, खोटाङका राजेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, धनुषाका मनोज ठाकुर, वुदन शाह, सञ्जय ठाकुर, लालनसिंह कोइली, गोर्खाका जीतबहादुर थापा मगर, लमजुङका विष्णुहरी थापा, रोल्पाका झोकबहादुर थापा मगर र ललितपुरका रमेश खड्काको हत्या भएको थियो । उनले फिल्म बनाउनुअघि पीडित परिवारसँग भेटेर करिब पाँच बर्ष अनुसन्धान गरेका थिए । उक्त घटना हुनु एक महिनाअघि बन्दी बनेर छुटेका युवाहरुसँग पनि प्रधानले अनुसन्धानको क्रममा भेट गरेका थिए ।

सेन्सर बोर्डले एक बर्षसम्म रोक लगाएर रिलिज गर्न ढिलाई भए पनि निर्माण पक्षले यो फिल्मलाई अझै केही समय देश विदेशमा च्यारिटी शोमा नै केन्द्रीत गर्ने जनाएको छ । नेपाल, हङकङलगत्तै सिंगापुर, ब्रुनाई, मलेशिया, दुबई, अष्ट्रेलिया र युकोमा च्यारिटी प्रर्दशन गरिनेछ । देशविदेशमा भएका सबै शोहरुबाट संकलित रकममा खर्च कट्टा गरी बाँकी रहेको रकमबाट १० प्रतिशत रकम छुट्याएर वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवारको बालबालिकाहरुको लागि छात्रवृत्ति कोष सञ्चालन गर्ने फिल्म निर्माण पक्षले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे