पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद अनिश्चित



धरान । पूर्वाञ्चल क्षेत्रमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित हुदै गएको भन्दै खेलकुदकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले बजेट सार्वजनिक गर्दा नै रकम बिनियोजन नगर्दा सातौं राष्ट्रिय खेलकुदको भविष्यमाथि प्रश्न उठेको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बजेट निर्माणको क्रममा सातौं राष्ट्रिय खेलकुदको शिर्षकलाई हटाउने खेल भएको बताउछन् । अबको हप्ता दशदिनभित्र मन्त्रीपरिषदबाट बजेट पारित हुन नसकेमा सातौं खेलकुद निश्चित समयमा आयोजना गर्न नसकिने भन्दै उनले चिन्ता व्यक्त गरे । ‘सातौं खेलकुदको आयोजनाबारे जटिलता देखा परेको छ, परिषदले आवश्यक बजेटको माग गरेको थियो, तर बजेट निर्माणको क्रममा सातौं खेलकुदको शिर्षक नै हटाएको देखिन्छ’–शुक्रबार धरान रंगशालास्थित सेमी कवर्ड हलको उद्घाटन समारोहमा सदस्य सचिव लामाले भने–‘अबको ८, १० दिनभित्र मन्त्रीपरिषदबाट सातौं खेलकुदको लागि बजेट पारित भयो भने निश्चित समयमा हुनसक्छ, नत्र गाह्रो छ ।’

एमाओवादी नेतृत्वको सरकारको पालामा नियुक्ती भएका सदस्य सचिव लामा र एमालेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलबीचको द्धन्दले पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदले प्राथमिकता नपाएको बताइन्छ । सरकार परिवर्तन पछि पनि राजनैतिक नियुक्तीमा सदस्य सचिव भएका लामाले पद नछोडेपछि खेलकुद मन्त्री पौडेलले सातौं खेलकुदप्रति चासो नदिएको भनाई छ । राष्ट्रिय खेलकुद शुरु भएयता अहिलेसम्म पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना भएको छैन । सुदुरपश्चिमाञ्चलमा छैटौ राष्ट्रिय खेलकुदको समापनमा सातौं सँस्करण पूर्वाञ्चलमा आयोजना गर्ने गरि झण्डा हस्तान्तरण भएपछि पूर्वक्षेत्रमा धमाधम खेलकुदको पूर्वाधार निर्माण भइरहेको छ । सातौं खेलकुद आयोजना अनिश्चित भएपनि पूर्वाधार निर्माणको कामले भने निरन्तरता पाउने सदस्य सचिव लामाले बताए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले धेरै संघर्ष गरेर सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा ल्याएको उल्लेख गर्दै तोकिएको समयमा आयोजना नहुने संकेत देखिएको भन्दै दुःख व्यक्त गरे । यसले पूर्वाधार निर्माणमा पनि असर पुग्नसक्ने भन्दै उनले तोकिएको समयमा नै सातौं खेलकुद आयोजनाको लागि पूर्वाञ्चलबासी जागरुक हुन पनि आग्रह गरे । सातौं खेलकुदलाई लक्षित गरेर निर्माण भएको सेमी कवर्ड हलको संरक्षणमा स्थानीयबासी र स्थानीय खेलकुदकर्मीहरुले नै गम्भीर चासो दिनुपर्नेमा उनले जोडदिए ।
यो सेमी कवर्ड हल आर्थिक बर्ष २०७०/२०७१ मा करिब ८० लाख लागतमा निर्माण सम्पन्न भएको हो । यहाँ कराते, तेक्वान्दो, जुडोलगायत विभिन्न खेलहरुको अभ्यास गर्न सकिने खेलकुद विकास समितिले जनाएको छ ।
...............

                      ‘लेखा समितिको निर्देशन कार्यान्वन हुन्छ’


राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले अखिल नेपाल फुटबल संघ(एन्फा)का चार पदाधिकारीलाई निलम्बन गर्ने लेखा समितिको निर्देशन कार्यान्वयन भएरै छोड्ने बताएका छन् । लेखा समितिको निर्णय पूर्नविचार गर्ने कुनै निकाय नभएको भन्दै उनले एन्फाको विधान र कानुनसम्मतरिकाले नयाँ प्रक्रियामा जाने बताए । ‘संसदीय व्यवस्थामा संसद वा संसदीय समितिको निर्णय कानुनकोरुप लिन्छ, लेखा समितिको निर्णय कसैले रिभ्यु गर्नसक्दैन, तसर्थ निर्देशन कार्यान्वयन हुदैन कि भन्नेमा शंका गर्नु हुदैन’–सदस्य सचिव लामाले भने–‘ लेखा समितिको निर्देशन कार्यान्वयन गर्न प्रक्रियामा जान्छौं ।’


लेखा समितिले एन्फामा ५८ करोड भन्दा बढी भ्रष्टचार भएको भन्दै असोज १२ गते अध्यक्ष गणेश थापासहित चार पदाधिकारीको पद स्थगन गर्न निर्देशन दिएको थियो भने जिम्मेवार पदाधिकारीलाई भ्रष्टचार मुद्दामा कारबाही अघि बढाउन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागलाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन कार्यान्वयन प्रक्रिया शुरु गर्दै खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बुधबार एन्फाका पदाधिकारीलाई वैकल्पिक नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, बिहिबार एन्फा नेतृत्वले पत्रकार सम्मेलन गर्दै मन्त्रीको विकल्पसहितको निर्देशनलाई स्वीकार गर्न नसक्ने बताएको थियो । ‘सर्वोच्च निकायबाट आएको निर्देशनमा दोहोरी खेल्नु पदैन, निर्देशन मान्दिन भनेर कुनै नेपालीले भन्नु पनि हुदैन’–सदस्य सचिव लामाले भने–‘एन्फाको नयाँ नेतृत्व प्रक्रिया पुर्याएर निर्वाचित कमिटिबाटै हुन्छ, निर्देशन कार्यान्वयन गर्दा नेपाली फुटबललाई असर नपुग्ने कसरी अघि बढ्ने भन्ने चिन्ता र चासो भने छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे