बार्सिलोना, आदिबासी फुटबल क्लब र मैत्रीपुर्ण खेल
धरान । स्पेनको बार्सिलोना फुटबल क्लबले सुन्दर फुटबल खेल्दै संसारको ध्यान खिचेको छ । चर्चित र प्रतिभाशाली खेलाडी भरिएकोले पनि विश्वभर यो क्लबका करोडौं प्रसंशक एवं फ्यान छन् । नेपालमा पनि यो क्लबका लाखौं फ्यान छन् । यो क्लब र यहाँका आदिबासि जनजाति आन्दोलनबीच के प्रत्यक्ष एवं अप्रत्यक्ष कुनै सम्बन्ध होला ?
यो प्रश्न सुन्दा जटिल लाग्छ र अचम्मित पनि बनाउछ । तर, आदिबासी जनजाति अधिकारका अभियन्ता एवं विद्धान डा.कृष्ण भट्टचन भने बार्सिलोना फुटबल क्लब स्पेनमा रहेका क्याटालोनिया स्वायत्तताको समर्थनमा शुरु भएको बताउछन् । ‘बार्सिलोना क्लब र आदिबासी जनजाति आन्दोलनबीचको सम्बन्ध छ, यसको शुरुवात नै क्याटालोनिया स्वायत्तताको समर्थनमा त्यहाँका आदिबासीहरुबाट भएको रहेछ’–भट्टचनले भने ।
बार्सिलोना क्लबको यही इतिहासबाट प्रेरित हुदै नेपालका आदिबासी जनजाति आन्दोलनका अभियन्ताहरुले पनि आदिबासी फुटबल क्लब गठन गरेका छन् । क्लब गठन जनजाति आन्दोलनलाई समर्थन जुटाउदै व्यापकता दिने नयाँ अभियान भएको डाक्टर भट्टचनको भनाई छ । अधिकार, पहिचान र स्वायत्तताको एजेण्डालाई सडक, मञ्चहरुमा प्रखररुपमा राख्ने डा.भट्टचन भैm अभियन्ताहरु हिजोआज राजधानीमा नियमित फुटबल खेल्छन् । देशका विभिन्न स्थानमा फुटबल खेल्नकै निम्ति पुग्छन् ।
शुक्रबार डा.भट्टचनको कप्तानीमा आदिबासी जनजाति महासंघका पूर्वकेन्द्रीय सदस्य पासाङ शेर्पासहितको टोली धरान मिडिया स्पोर्टिङ क्लबविरुद्ध धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उत्रियो । ‘स्वास्थ्यको लागि खेलकुद राम्रो छदैछ, तर हाम्रो अर्को उद्देश्य आत्मनिर्णयको अधिकार र स्वायत्तताको आन्दोलनलाई समर्थन जुटाउदै अघि बढाउनु पनि हो’–भट्टचनले भने । बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिको सहयोग तथा धरान नगरपालिकाको संयोजनमा आयोजित मैत्रीपुर्ण खेलमा धरान मिडिया क्लबले ४–२ गोलअन्तरले जित हात पार्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि धरान मिडियाले थप गरिएको १५ मिनेटको समयमा २ गोल गरेको थियो ।

Comments
Post a Comment