बुढासुब्बा गोल्डकपको १७ औं सँस्करण फागुनमै हुने


धरान । मोसफलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आगामी फागुन पहिलो साता आयोजना हुने भएको छ । प्रतियोगितालाई बर्षेनी सफलरुपमा सञ्चालन गर्दै आएको धरान फुटबल क्लबले १७ औं संस्करण फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
क्लबले शनिबार पत्रकारहरुसँग भेटघाट गर्दै फुटबलको लागि उपयुक्त समय हुने भएकोले फागुनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जनाएको छ । आर्थिक समस्याको कारण जेनतेन आयोजना हुदै आएको बुढासुब्बा गोल्डकपका पछिल्ला सँस्करणहरु चैत महिनाको अन्त्यतिर मात्रै सञ्चालन हुने गरेको थियो । ‘चैत महिनामा प्रतियोगिता गर्नु हाम्रो बाध्यता थियो, तर यो बर्ष फागुन १ गतेदेखि नै आयोजना गर्ने निर्णय गरेका छौं’–क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले भने–‘फागुन एकदमै उपयुक्त समय हो, प्रतियोगिता आयोजना गर्न सहज हुन्छ, मैदान पनि राम्रो अवस्थामा हुन्छ ।’
यो बर्ष ए डिभिजन लिग आयोजना हुने सम्भावना न्युन रहेकोले पनि प्रतियोगितामा उत्कृष्ट क्लब तथा खेलाडीहरुको सहभागीताको अपेक्षा गरिएको क्लबको भनाई छ । प्रतियोगिताको लागि पोखरामा हुने सहारा र सफल कपको आयोजकसँग पनि समन्वय भएको अध्यक्ष राईले बताए । ‘एन्फाको क्यालेन्डरअनुसार चल्न खोज्दा पनि बुढासुब्बा गोल्डकप बर्षको अन्त्यतिर हुन्थ्यो, तर यो बर्ष एन्फा क्यालेन्डर पर्खदैनौं’–उनले भने–‘सहारा र सफल कपको आयोजकसँग पनि समन्वय भएको छ, ती प्रतियोगिता बुढासुब्बाअघि नै माघतिर सञ्चालन हुन्छ ।’ एन्फामा अन्तरसंघर्ष जारी रहेपनि त्यो संस्थागत सुधार र पारदर्शिताको लागि भएको उल्लेख गर्दै उनले त्यसबाट फुटबलको गतिविधिमा कुनै बाधा पुग्न नहुनेमा आफु सचेत रहेको बताए ।


चाडै एक समिति तयार गरेर अनुमानित बजेट तर्जुमाका साथै रणनीतिक योजना पनि तयार गर्ने क्लबले जनाएको छ । यो सँस्करणमा सहभागी टिम बढाएर ९ वा १० टिम पुर्याउने र विदेशबाट पनि सहभागी गराउन पहल थालिने क्लबको भनाई छ । प्रतियोगिता अघि गत बर्ष झै गोल्डकपको प्रचार एवं प्रर्वद्धन गर्न मिडिया कप आयोजना हुनेछ । प्रतियोगितालाई भव्यता प्रदान गर्न एवं आर्थिकरुपमा सफल बनाउन तिहारअघि नै विभिन्न संघसंस्था, व्यावसायीहरुसँग वृहत छलफल गरेर सल्लाह, सुझाव लिइने क्लबले जनाएको छ । क्लब विगत ४ बर्षदेखि नवीकरण गर्न ढिलाइ भइरहेको उल्लेख गर्दै अध्यक्ष राईले गत सँस्करणको अडिटको काम सकेपछि एकैपटक नविकरण गरिने प्रष्ट्याए । ‘तीन बर्षको कागजात तयार छ, गत बर्षको पनि काम हुदैछ, सकिएपछि एकैपटक चार बर्षको नविकरण गछौं’–उनले भने ।
गोल्डकपको १६ औं सँस्करण सकिदासम्म पनि आयोजक धेरै जसो प्रतियोगितामा घाटा व्यहोर्न बाध्य छ । यसको मुख्य कारण पूर्वाधार अभावले गर्दा बाँसको प्याराफिट निर्माण, मैदान मर्मतसम्भारलगायतमा अत्यधिक खर्च हुनु रहेको आयोजकको भनाई छ । ‘आम्दानी नभएको होइन, तर प्रतियोगिताको लागि पूर्वाधार निर्माणमा नै धेरै खर्च गर्नुपर्छ र आम्दानी बच्दैन’–महासचिव प्रताप तामाङले भने । यो बर्ष प्रतियोगितालाई खेल उत्सवकोरुपमा भव्यता दिलाउन उद्घाटन र समापनको अवसरमा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
................

                                मंसिर १ देखि धरान एकेडेमी



बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले युवा परियोजनाअन्र्तगत आगामी मंसिर १ गतेदेखि एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । एकेडेमीको लागि आवश्यक खेलाडी छनौट गर्न महासचिव प्रताप तामाङ संयोजक तथा नविन राई र धनबहादुर राई सदस्य रहेको तीन सदस्यीय छनौट समिति गठन गरिएको क्लबले जनाएको छ ।
समितिले तिहार सकिएलगत्तै छनौट प्रक्रिया शुरु गर्ने संयोजक तामाङले जानकारी दिए । उनका अनुसार परियोजनाको अवधि २ बर्षको रहनेछ । एकेडेमीको लागि २० बर्ष ननाघेका खेलाडी छनौट गरिनेछ र उनीहरुलाई क्लबले २ बर्षसम्म प्रशिक्षण दिलाउनेछ । क्लबको दुई टिममध्ये एकेडेमीले जुनियर टिमकोरुपमा प्रतियोगितामा सहभागीता जनाउने पनि उनले बताए । प्रतिभाशाली खेलाडीहरुलाई राजधानीको ए डिभिजन वा बि डिभिजन क्लबमा अनुबन्धन गराउन क्लबले पहल गर्नेछ । यसअघि पहिलो ब्याचका ६ जना खेलाडीहरु बि डिभिजन क्लब ब्रिगेड ब्वाइज र टुसाल युथ क्लबमा अनुबन्धित हुन सफल भएका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे