बीपी प्रतिष्ठानमा चार सय बेड मातृ–शिशु सेन्टर विस्तार हुने



धरान । पूर्वाञ्चलको प्रमुख स्वास्थ्य संस्थाकोरुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ सय बेड क्षमताको मेटरनिटी एण्ड चाइल्ड हेल्थ सेन्टर(एमसिएच) स्थापना हुने भएको छ ।
सेन्टरको लागि मन्त्रालय र पछिल्लो सञ्चालक परिषद(सिनेट) बैठकले स्वीकृत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सेन्टर विस्तार भएमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन उल्लेख्य योगदान पुग्ने सम्बन्धित चिकित्सकहरुले बताएका छन् । ‘चार सय बेडको मेटरनिटी एण्ड चाइल हेल्थ सेन्टर बनाउन मन्त्रालय र सिनेटबाट स्वीकृति पाइसक्यौं, सेन्टर बनेपछि गाइनो र पेडियाट्रिकको सम्पुर्ण सेवा एकैठाउमा उपलब्ध हुन्छ, विरामीहरु कतै भौतारिनु पदैन’–प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले भने ।
उनका अनुसार सेन्टर बनेपछि प्रतिष्ठानमा बेड अभावको समस्या पुर्णरुपमा हट्नेछ । अहिले प्रतिष्ठानमा गाइनोमा सबैभन्दा धेरै विरामीको चाप हुन्छ । बेड अभावले विरामी एवं गर्भवती महिलाहरुलाई भुइँमा राखेरसमेत उपचार गराउनुपर्ने बाध्यतासमेत प्रतिष्ठानले भोग्दै आएको छ । प्रतिष्ठानले हाल गाइनो र पेडियाट्रिक(बच्चा)को लागि छुट्टा छुट्टै आकस्मिक सेवासमेत सञ्चालन गर्दै आएको छ । ‘बच्चा र गाइनोमा ठाउँ नपुगेर उपचार गर्न समस्या छ, तर ४ सय वेडको सेन्टर बनेपछि समस्या हुदैन’–प्रतिष्ठानका उपकुलपति डा.बीपी दासले भने–‘अहिलेको भन्दा धेरै गुणस्तरीय र अझ भरपर्दो सेवा उपलब्ध हुन्छ ।’ उनका अनुसार यस्तो सेन्टर अहिलेसम्म नेपालमा कही पनि छैन ।
बीपी प्रतिष्ठानको बच्चाको आकस्मिक कक्षमा नर्सहरु काम गर्दै ।
सेन्टर बनाउन प्रतिष्ठानले कन्सल्टेन्ट(परामर्शदाता) नियुक्त गरेर डिजाइन तयार गर्ने र स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयमा पठाएर आवश्यक बजेट विनियोजन गर्ने प्रक्रिया तत्काल शुरु गर्ने उपकुलपति डा.दासले बताए । उनका अनुसार प्रतिष्ठानले छैठ पर्व पछि प्राथमिकता दिएर सेन्टरको लागि पहल थालिनेछ । ‘छैठ पर्वलगत्तै यो काममा लाग्छौं, डिजाइन अर्थ र स्वास्थ्य मन्त्रालयमा पठाएपछि प्रत्यके बर्ष बजेट बिनियोजन हुन्छ’–उपकुलपति दासले भने ।
बाल रोग विभागका विभागीय प्रमुख डा.गौरीशंकर शाहले सेन्टर स्थापनाले आमा र नवजात शिशुको स्वास्थ्यको लागि धेरै राम्रो हुने बताए । गाइनो र बच्चाको जटिल किसिमको शल्यक्रिया एवं उपचार सेवा सेन्टर बनेपछि पाउने उनको भनाई छ । ‘अहिले मातृ मृत्युदर र नवजात शिशु मृत्युदर धेरै छ, सेन्टरकोरुपमा विस्तार भएपछि त्यसलाई कम गर्न मद्दत पुर्याउछ’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे