दशैंमा सिमाला डकैतीदेखि सरकारी छाप किर्ते, जुवा तास र डाइस खेलाउनेसम्म पक्राउ

प्रहरीको योजना एवं सक्रियताले उनीहरुलाई असोज ९ गतेदेखि १९ गतेभित्रको समयमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । हाल प्रहरी हिरासतमा रहेका अभियुक्त र उनीहरुबाट वरामद भएको सामानहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको थियो । ‘चाडबाडमा हुनसक्ने अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न बिशेष योजना बनाएर खटिएका थियौं, योजनाले शान्तिसुरक्षा कायम राख्न प्रभावकारी भुमिका खेल्यो’–उनले भने । डिएसपी थापाका अनुसार असोज ९ गते संखुवासभाका ओमनाथ घिमिरेको सिमाला डकैती गर्ने ५ जनाको समुहलाई पक्राउ गरिएको थियो ।
डकैतीको अभियोगमा पक्राउ पर्नेहरुमा धरान ४ का प्रकाश श्रेष्ठ, धरान ५ ज्योति लिम्बू, धरान १५ का राजेश राई, धरान ११ का चन्द्र राई र अर्जुन लिम्बू छन् । उनीहरुले संखुवासभाका घिमिरेको ८ थान सिमाला साढे ७ लाखमा खरीद गर्ने भन्दै इटहरीमा मोलमोलाई गरेर धरान १८ स्थित न्यु ग्रण्ड होटल एण्ड लजमा ल्याई लुटेको प्रहरीको भनाई छ । ‘इटहरीमा मोलमोलाई गरेपछि धरानमा किन्ने मान्छे छ भनेर होटलमा ल्याएको रहेछ, तर त्यहाँ खुकुरी, चक्कु र नक्कली पेस्तोल देखाएर लुटेछन् । घटनाको २ दिनपछिमात्रै जानकारी पायौं, र संलग्न सबैलाई सामानसहित पक्राउ गर्न पनि सफल भयौं’–डिएसपी थापाले भने ।
यस्तै, धरान १५ मा डेरा गरि बस्ने खोटाङ सोल्मा गाविस ९ का पदम भन्ने अनुप राईलाई किर्ते सरकारी एवं निजी कम्पनीको छापसहित प्रहरीले असोज ९ गते नै पक्राउ गरेको छ । उनको साथबाट अर्विन एण्ड ब्रदर्श अटो धरान ८ लेखिएको अवैध छाप १ थान, शाखा अधिकृत लेखिएको छाप १ थान, तापखोला निर्माण सेवा फेदी २ खोटाङ लेखिएको छाप १ थान, यातायात व्यवस्था कार्यालय कोशी अञ्चल इटहरी लेखिएको छाप १ थान र हंसराज हुलासचन्द एण्ड को प्रालि काठमाण्डौं लेखिएको छाप १ थान वरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । यसैगरि, असोज १४ गते राती धरान १७ का ३७ बर्षीय राज राई अवैध सखुवाको चिरान काठ सहित पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले ९० थान(करिब ५० क्युफिट) काठ बरामद गरेको छ ।

यही अवधिमा लागुऔषधसहित विराटनगर २१ क थकु महतो, गगाप्रसाद महतो, धरान ८ का सविन नेपाली, कुसल परियार, धरान १३ का सुरज बिक र धरान १९ का बसन्त लिम्बू पनि पक्राउ परेका छन् । डिएसपी थापाका अनुसार बिशेष सुरक्षा योजना छठ पर्वसम्मको लागि तयार पारिएको हुनाले अपराध नियन्त्रण गर्न प्रहरी हरदम सक्रिय रहेको छ । यो १० दिनमा नशा एवं मदिरा सेवनसँग सम्बन्धित भएकाहरुसमेत गरि सय जना जति व्यक्तिहरु पक्राउ परेको उनले बताए ।
Comments
Post a Comment