दशैंमा साइक्लिङको मजा (फोटोफिचर)


धरान । अग्रजबाट दशैंको टिकासँगै आर्शिवाद थाप्ने र खानपिन गर्ने क्रम सकिएकै थिएन । आफ्ना साथीभाई र आफन्तजनहरु टिका थाप्ने दौडमा नै थिए । तर, धरान १५ निवासी युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल लिम्बू भने आइतबार माउण्टेन बाइकमा गाउँ डुल्न निस्किए ।
आधा दर्जन युवा साथीहरुसँग भर्खर धरानमा गाँभिएको पाँचकन्या गाविसको देउराली, माथ्लो पानबारी, स्कुल डाँडा हुदै जंगल सफारीबाट पुनः धरान आइपुग्दा उनी लखतरान भइसकेका थिए । तर, साइक्लिङको पहिलो अनुभवले उनलाई धेरै आनन्द दिलायो । ‘उकालोमा गाह्रो भएपनि साइक्लिङको पहिलो अनुभव एकदमै रमाइलो भयो, चाडबाडमा मदिरा र चिल्लो,पिरो धेरै खाइन्छ, त्यसलाई पचाउन पनि मद्दत पुग्ने रहेछ’–उनले अनुभव साट्दै भने–‘गाउँघर डुल्न पाइयो, ज्यान पनि हल्का भयो ।’


अर्का युवा गणेश पौडेलको पनि उनको जस्तै अनुभव रह्यो । आइतबार उनी पनि आफ्नै भाईसँग साइक्लिङमा पानबारीतिर गाउँ डुल्न गएका थिए । दशैंमा खाएर, पिएर समय बिताउनु भन्दा साइक्लिङमा जानु धेरै रमाइलो भएको उनको भनाई छ । मौका मिले पुनः साइक्लिङमा गर्ने दुवै युवाको चाहना छ ।
धरान १८ स्थित ग्रिनह्विल्स माउण्टेन बाइक शोरुमका अनुसार दशैंमा साइक्लिङको अनुभव लिने यो पहिलो युवा समुह होइन । दशैंको विदामा फुलपाती यता टिकाको दिनबाहेक हरेक दिन युवाहरु साइक्लिङमा गाउँ डुल्न निस्किएका छन् । टिका दिन पनि स्वयम्सेवी चाइनिज शिक्षकहरुको समुह साइक्लिङ गर्दै कोशीटप्पुमा एक रात विताएको ग्रिनह्विल्सका प्रमुख हेम लिम्बूले बताए । ‘फुलपाती यता हरेक दिन युवाहरु साइक्लिङमा गएका छन्, अहिलेसम्म ६० भन्दा बढी युवाहरुले साइक्लिङको मजा लिइसकेका छन्’–उनले भने–‘दशैंमा लामो विदा हुन्छ, मदिरा र मासु धेरै खाएर शरीर असहज भइरहेको बेला साइक्लिङले पचाउन मद्दत गर्छ र प्रकृतिको आनन्द पनि दिलाउने भएकोले युवाहरु आकषर््िात छन् ।’


उनका अनुसार दशैंको समयमा साइक्लिङको शुरुवाती(बिगिनर्स)अनुभव लिनेहरुलाई पानवारी एग्रो(कृर्षि)ट्रेलमा जान उपयुक्त हुन्छ । यो बेला खेतमा धान रोपिएको हँुदा शहरी युवाहरु हेरियो खेतीबारी देख्ने अवसर पनि पाउछन् । चोक्टी पुगेर फर्कदा शेरा खोलाबाट कोशी राजमार्गको सेउती पुल हुदै धरानसम्मको यात्रा जंगल सफारी पनि हुने भएकोले थप रोमाञ्चक बन्छ । एग्रो ट्रेलबाहेक जंगल सफारी, कोशी टप्पु, बराहक्षेत्र प्याकेज पनि दशैंतिहार जस्ता चाडपर्वमा उपयुक्त प्याकेज हुने ग्रिनह्विल्स प्रमुख लिम्बूको भनाई छ । ‘साइक्लिङ स्वास्थ्य रहनको लागि मात्रै होइन, नेपालको ग्रामिण जनजीवन,सँस्कृतिलाई बुझ्न र प्रकृतिसँग रमाउने माध्यम पनि बन्छ’–उनले थपे ।



























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे