पठन सँस्कृति बढाउदै धरान रिडर्स गु्रप

धरान १८ स्थित माउण्ड हार्मोन एकेडेमीका प्रिन्सिपल अनुप योञ्जनसँग विगतको यस्तो अनुभव अचेल भने छैन । उनी हिजोआज विदाको समयमा नयाँ नयाँ पुस्तक पढेर समय बिताउछन् । पढिसकेका किताबबारे साथीभाईबीच छलफल गर्छन्, किताबबारे आफ्नो धारणा व्यक्त गर्छन् । उनकै शब्दमा ‘अचेल एउटा किताब पढ्यो, अर्को पढ्न मन लाग्ने’ बानी बसेको छ । किताब पढ्न पाउदा उनलाई आनन्द लाग्छ । ‘मेरो बानीमा सुधार आएको छ । पहिला छुट्टीमा यता उता गयो, गफ गर्यो, त्यतिकै समय बित्थ्यो’–सोमबार उनले अनुभब बाड्दै भने–‘अचेल छुट्टीमा यति वटा किताब पढीसक्छु भन्ने भावना विकास भएको छ, एउटा पढ्यो अर्को पढ्न मन लाग्छ । किताब पढ्न मजा आउन थालेको छ ।’

‘मैले विजयकुमार पाण्डेको खुशी पढे, उनको हाइप्रोफाइलसँग धेरै संगत रहेछ । केही गर्छु भन्ने छ भने सनकीपन हुनुपर्छ भन्ने कुरा यो पुस्तकबाट मैले बुझे’–जेनिथ बोर्डिङ स्कुलका प्रिन्सिपल समुन जवेगुले पुस्तबारे भने । रिसर्ड ग्रुपसँगको सामिप्यताले पढ्ने बानीको विकाससँगै आफुले पढ्न नपाएको पुस्तक र त्यसले दिने सन्देशबारे पनि थाह पाउने अवसर पाएको उनले बताए । ‘आफुले पढेको पुस्तकबाट ज्ञान त पायौं नै, पढ्न नपाएको किताबको ज्ञान पनि अरुबाट पाइन्छ, यो ज्यादै राम्रो अभियान हो’–उनले थपे ।
भेलामा पहिलो पटक सहभागी धीजनबाबु काफ्लेले आफु विराटनगरमा हुँदा वाणी प्रकाशनमा प्रत्येक १५ दिनमा हुने साहित्यिक जमघटको सुखद् स्मरण गराएको बताए । शिक्षक हेमन्त भण्डारीले डुलेर, खाएर र फेसबुकमै बसेर बित्ने विदाको समयलाई सदुपयोग गर्दै खलंगामा हमला र नयनराज पाण्डेको चकलेट कथा संग्रह पढेको अनुभव सुनाए । भेलामा सहभागी बालजित राई, युवा गजलकार रोमनाथ ढुंगेल, शिक्षक सन्तोष कोइराला, लेखक चेवन राईलगायतले पनि आफुले अध्ययन गरेको पुस्तक र त्यसले दिने सन्देशबारे धारणा राखेका थिए । धरान १८ स्थित माउण्ट हार्मोन एकेडेमीमा प्रत्येक महिनामा हुने भेलाको आगामी सँस्करणमा भने अग्रज लेखक एवं साहित्यकारलाई उपस्थित गराएर पठन सँस्कृति र पुस्तकबारे छलफल गराउने योजना रहेको ग्रुपका अनुप योञ्जनले बताए ।
Comments
Post a Comment