बीपी प्रतिष्ठानका कर्मचारीले फेरि काम नगर्ने घोषणा


धरान । तीन साता लामो बन्द खुलेको एक साता बित्न नपाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले पुनः काम अवज्ञा गर्ने घोषणा गरेका छन् । उपकुलपति कार्यालयअघि विगत ४ सातादेखि शान्तिपुर्ण धर्ना दिइरहेको कर्मचारी कल्याण समाज तदर्थ समितिले आन्दोलनलाई कडा बनाउदै सोमबारदेखि असोज ३१ गतेसम्म कामलाई अवज्ञा गर्ने घोषणा गरेको हो ।
तदर्थ समितिले धर्नास्थलमा आइतबार पत्रकार सम्मेलन गर्दै कामलाई अवज्ञा गरेर सोमबारदेखि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना दिइने जनाएको छ । त्यतिबेलासम्म पनि मागलाई सम्बोधन नभए कार्तिक २ गतेदेखि प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिने पनि तदर्थ समितिले चेतावनी दिएको छ । ‘माग पुरा गराउन २८ दिनसम्म शान्तिपुर्ण धर्ना दियौं, कामलाई बाधा पनि पुर्याएनौं । तर, व्यवस्थापनले न माग पुरा गर्यो न वार्तामा नै बोलायो । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्दै कडारुपमा जान बाध्य भयौं’–तदर्थ समितिका संयोजक राजन कोइरालाले भने । तदर्थ समितिले प्रशासनिक, नर्सिङ, प्राविधिक सबै क्षेत्रका कर्मचारीहरुलाई काममा अवज्ञा गर्न आग्रह गरिएको उनले बताए ।

मागहरु एउटै भएपनि आधिकारीक संस्था कर्मचारी कल्याण समाज र समाजको नेतृत्वसँग असन्तुष्ट भएर गठन भएको तदर्थ समितिले छुट्टा छुट्टैरुपमा आन्दोलन गर्दै आएको थियो । गत भदौ ३० गतेको ३६ औं सिनेट बैठकले माग पुरा नगरेको भन्दै समाजले चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै आकस्मिक र अन्तरंगबाहेक सेवा ठप्प बनाएको थियो । चौतर्फी दबाब र आलोचना पछि समाजले गएको सोमबार मात्रै आन्दोलनको स्वरुप फेर्दै ताला खोलेको थियो भने सेवा सुचारु बनाएको थियो । समाजले अहिले २ बजेदेखि ५ बजेसम्म जिओपिडी भवनमा धर्ना भने दिइनै रहेको छ ।
प्रतिष्ठानका कर्मचारीहरुले आर्थिक बर्ष २०७०÷०७१ मा सरकारले बढाएको १८ प्रतिशत तलब, ०७१÷०७२ को १० प्रतिशत बद्धि भएको तलब, २५ प्रतिशत प्रोत्साहन भत्ता, सेवा अवधि गणना, जोखिम भत्ता, अध्ययन विदा, एक दिनको तलब बराबरको ग्रेडलगायत माग गर्दै आइरहेका छन् । यही मागलाई लिएर गत जेठ महिनादेखि कर्मचारीहरु दुई समुहमा विभाजित भएर आन्दोलन हुदै आएको छ । यसअघि, आन्दोलनकारी र व्यवस्थापन पक्षबीच सिनेट बैठकबाट माग सम्बोधन गर्ने सहमति भएपनि गत भदौ ३० गते राजधानीमा सम्पन्न प्रतिष्ठानको ३६ औं सिनेट बैठकले कर्मचारीहरुको मागबारे तलबमान आयोग गठन गरिएपछि प्रतिष्ठानमा पुनः आन्दोलन चर्किएको थियो । तलबमान आयोगलाई प्रतिवेदन बुझाउने समयसिमा नतोकिएको र हालसम्म बैठकसमेत बस्न नसकेकोले आयोग कर्मचारीहरुको मागलाई अल्मल्याउन मात्रै गठन गरिएकोले माग पुरा नभएसम्म आन्दोलन नराकिने तदर्थ समितिका सल्लाहकार महेश्वर राईले बताए । ‘पदाधिकारी र व्यवस्थापनले निर्णय गर्ने अधिकार छैन भन्छन्, अधिकार नहुने हो भने पदमा बसिरहने अधिकार पनि छैन’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे