यौन दुव्र्यवहारको आरोप लागेका बीपी प्रतिष्ठानका प्रोफेसरमाथि आक्रमण


धरान । यौन दुव्र्यवहारको आरोप लागेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका प्रोफेसर मुरारीलाल दासमाथि बुधबार दिउँसो आक्रमण भएको छ । विभागका कार्यवाहक विभागीय प्रमुखसमेत रहेका दासमाथि प्रतिष्ठान हाताभित्र रहेको निवास(क्वार्टर)मा पुगेर एक समुहले निर्घात कुटपिट गरेको हो ।
उनको विभागबाट करार सकिएकी एक युवती(कर्मचारी)ले दासमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । युवती पक्षले प्रतिष्ठानका रजिष्टार समक्ष गत असोज २३ गते दासविरुद्ध लिखितरुपमा निवेदन पनि दिएका थिए । कुटपिटमा संलग्न ४ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रमणबाट घाइते दासको बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनलाई टाउको र अनुहारमा गम्भीर चोट लागेको चिकित्सकहरुले बताएका छन् । वमिट भइरहेकोले भित्र चोट भएको हुनसक्ने अस्पताल सहायक निर्देशक एवं प्रतिष्ठानका प्रवक्ता डा.पशुपति चौधरीले बताए । ‘टाउकोमा, अनुहारमा गहिरो चोट छ, अनुहार सुन्निएको पनि छ’–प्रवक्ता चौधरीले भने ।
दासमाथि बुधबार करिब साढे एक बजोतिर आक्रमण भएको हो । उनी खाना खाने समयमा कार्यालयबाट सि ५ २.२ क्वार्टरमा पुगेलगत्तै आक्रमण भएको घाइते दासले बताए । ‘मोटरसाइकलबाट उत्रिएर कोठातर्फ जादै गर्दा एक्कासी आक्रमण भयो’–उपचाररत दासले भने । प्रतिष्ठान हाताभित्रको अस्पताल क्षेत्र र क्वार्टर क्षेत्रबीचमा स्क्रिनिङ गेट पार गरेर आक्रमणकारी दासमाथि आक्रमण गर्न पुग्नुले एक पटक फेरि प्रतिष्ठानको सुरक्षा व्यवस्थामाथि चुनौतीसमेत खडा गरेको छ । स्क्रिनिङ गेटबाट जोकोहीलाई क्वार्टर क्षेत्रमा प्रवेश गर्न पाउदैन । तर, प्रतिष्ठानको सुरक्षा जिम्मेवारी लिएको निजी सुरक्षा कम्पनी जिफोरएसले भने यसमा कडाई गर्न सकेको छैन ।  

धरान १७ की २३ बर्षीय आशा राई करिब एक बर्षअघि माइक्रोबायोजली विभागमा करारमा काम गर्न पुगेकी थिइन् । उनको करार अवधि गत अगष्टसम्म मात्रै भएपनि दासले एक महिनाको तलबसमेत नदिई सेप्टेम्बरसम्म काम गराएको गत असोज तेस्रो साता पत्रकारहरुमाझ बताएकी थिइन् । दासले आफुलाई जर्बजस्ती अंकमाल गर्ने, संवेदनशील अंगहरु छुइदिने, काम नहुदा पनि विभिन्न बहानामा नजिकिने गरेको आरोप ती उनले लगाएकी थिइन् । त्यसलगत्तै युवती पक्षले प्रतिष्ठानका रजिष्टारलाई दासविरुद्ध जाहेरी दिएकी थिए । दासले भने आरोपको खण्डन गर्दै आएका थिए । ‘लोकतन्त्रमा कानुनी उपचारमार्फत न्याय खोज्नुपर्छ, तर यो घटना गुण्डागर्दी शैलीमा भएको छ । हामी घोर भत्र्सना गछौं, यस्ता घटनाहरु निरुत्साहित हुनुपर्छ र दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ भन्छांै’–प्रवक्ता चौधरीले भने ।
आक्रमणमा संलग्नलाई कानुनी कारबाही गराउन प्रतिष्ठानले प्रहरीमा जाहेरी दिने प्रवक्ता चौधरीले बताए । युवती पक्षले दिएको निवेदनबारे प्रतिष्ठानले एक समिति गठन गरेर आन्तरिकरुपमा छानबिन गरिरहेको समयमा आक्रमण भएपछि घटनाले अर्को मोड लिएको उनको भनाई छ । ‘निवेदन परेपछि समिति गठन भएर सत्यतथ्य बुझ्न आन्तरिकरुपमा छनबिन भइरहेको थियो, समितिले प्रतिवेदन दिने तयारीसमेत गरिरहेको थियो’–प्रवक्ता चौधरीले भने–‘अस्पताल हाताभित्र यस्तो घटना हुनुहुदैन थियो, अब त छानबिन समितिले के देख्यो भन्ने कुुरा गौण भइसक्यो ।’
घटनालगत्तै प्रहरीले धरान १७ का २८ बर्षीय सुवास राई, २३ बर्षीय आशा राई, ३८ बर्षीय एकराज राई, ३३ बर्षीय चन्द्रकला राई, २० बर्षीय नविना राई र ३० बर्षीय गीता राईलाई पक्राउ गरेको छ । यसैगरि, को ५ प ३८०४, बा ३१ प ४०२५ र को १९ प ३३३३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई पुरुष फरार रहेको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘आरोप प्रत्यारोप चलिरहेको थियो, त्यसै बिषयमा प्रोफेसरमाथि कुटपिट भएको रहेछ । ६ जना समातिएका छन्, २ जना फरार छ । बीपीबाट जे कुरा आउछ, त्यसैवमोजिम कानुनी प्रक्रिया अघि बढ्न’–डिएसपी थापाले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे