गर्भवती किसोर घरबाट बेपत्ता, श्रीमान् र सासु नियन्त्रणमा


धरान । श्रीमान् र सासु आमाले जिम्मा लिएकै रात घरबाट नै छ महिनाको गर्भवती एक किसोरी बेपत्ता भएकी छिन् । वोदे ८ धनकुटाकी १६ बर्षीय कविता राई धरान १५, बगरकोटस्थित घरबाटै बुधबार राती रहस्यमयरुपमा बेपत्ता भएकी हुन् ।
उनी बेपत्ता भएपछि माइती पक्षले ज्यान दाखिला गरिपाउ भन्दै जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले श्रीमान् सुवास लिम्बू र सासु भारती लिम्बूलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । माइती पक्षका अनुसार गत बैशाखदेखि प्रेम सम्बन्धमा रहेकी कविता र सुवासबीच शारीरिक सम्पर्कसमेत हुन गएर गर्भवती भएकी थिइन् । छ महिनाको गर्भ रहेको खुलेपछि असोज २८ गते मंगलबार धरान प्रहरीमा दुवै पक्षबीच छलफल भएर आमा छोराले नै कवितालाई जिम्मा लिइ घर लगेका थिए । तर, सोही राती कविता घरबाट बेपत्ता हुनु रहस्यमय भएको प्रहरीको भनाई छ ।
‘सासु र श्रीमान्लाई अनुसन्धानको लागि ल्याएका छौं, सास कि लाश नभेटेसम्म यही हो भनेर भन्न सक्दैनौं, घटना रहस्यमय नै छ’–डिएसपी सञ्जयसिंह थापाले भने । एउटै कोठामा सुतेको भएता पनि घरका अन्य सदस्यहरुले केही थाह नपाएको जवाफ दिएको उनले बताए । यस्तै, हराएकी कविताको झोला, कपडा, मोवाइल, चप्पलसमेत घरमा नै हुनुले भने घटना रहस्यमय बनेको डिएसपी थापाले बताए ।

यता, बेपत्ता भएकी कविताकी फूपु र बडी आमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै कवितालाई जिम्मा लिएर घरमा पुर्याएको केही समयपछि नै सासुले कुटपिट गरेको कारण उनी हराउनुमा पनि उनको हात हुनसक्ने आशांका व्यक्त गरेका छन् । ‘प्रहरीमा छलफल हुदा पनि केटाले सबै कुरा स्वीकार गदै जिम्मा लिएको हो, तर सासुले नै अनेकथरी आरोप लगाउदै जिम्मा लिन मानेको थिएन’–कविताकी फुपू मुना राईले भनिन्–‘अढाई बजे जिम्मा लिएर घर लगेको थियो, तर ४ बजेतिर कविताले रुदै फोन गरेर कुटपिट गर्यो भनेर गुहाररिन्, हामीले नै तातो रिस भएर होला, केही सहेर बस भन्यौं, तर यस्तो हुनु रहेछ ।’ त्यो रात सुवासललाई घरमा सुत्न नदिएर अन्यत्रै पठाएको थाह भएको पनि उनले बताइन् ।
बेपत्ता कविताकी आमा सानैमा पोइल गएकी थिइन् भने उनको बुबा पनि लामो समयदेखि वैदेशिक रोजगारमा छन् । उनलाई बाजे बजुले गाउँमा दुःख गरी हुर्काएका थिए । कविताको घर नजिकै सुवासका आफन्त छन् । सुवास त्यही जादा कवितासँग भेटघाट भएको थियो । ‘कविता आफै भाग्ने भए सरसामान, चप्पल, मोवाइल किन छोडेर जान्थी होला ? हामीले बुझ्दा उल्टै कहाँ लुकायौं भनेर आरोप लगाए । हाम्रो छोरीचेली हराएको छ, कि सास चाहियो कि लाश’–कविताकी बडी आमा दुर्गा राईले भनिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे