पहाडे र मधेशीको फाटो टाल्दै एकै ठाउँमा छठ पूजा(फोटोफिचर)

धरान । धरान ३ की ५९ बर्षीय नैनकला न्यौपानेलाई दशैं–तिहारको रौनकले छोडेकै थिएन । तर, बुधबार साँझतिर उनी धरान १५ स्थित सेउती खोला किनारमा बिशेष पूजामा सरिक भइन् । पहाडे मुलकी न्यौपाने बिशेष गरि मधेशबासीले धुमधामले मनाउने छठ पूजामा अस्ताउदो सूर्यलाई आराधाना गरिन् । बिहिबार बिहान पनि उनी यसैगरि उदाउदो सूर्यलाई अर्ध दिनेछिन् ।
एक दशकयता राजनीतिक वृत्तमा जातजातिलाई अधिकार, संघीयतालगायतको आवाज बुलन्ध भएसँगै नेपाली समाजमा पनि धर्म, जातिलगायत विविध कारणले तिक्तता बढ्दै गएको छ । आदिबासी जनजाति–क्षेत्री बाहुन, मधेशी–पहाडे भन्दै नेपाली समाज बिखण्डनको शिकार पो हुने हो कि भनेर चिन्तित हुनेहरु पनि छन् । तर, जाति, धर्म, क्षेत्र जस्ता राजनीतिक नाराले विभाजित यही नेपाली समाज सँस्कृतिकरुपमा भने एकतामा बाधिन्छ भन्ने सन्देश छठ पूजाले दिएको न्यौपानेको भनाई छ । ‘म हरेक बर्ष छठ पूजा गर्छु, धेरै पहाडेहरुले पनि ब्रत बसेका छन्’–उनी भन्छिन्–‘मधेशी, पहाडी, जनजाति भन्छन्, तर यहाँ त सबै एकै लहरमा एकै ठाउँमा उभिएर पूजा गरेको देख्छु ।’


न्यौपानेले भने झै राजनीतिकरुपमा विभाजित मधेशी, पहाडी, जनजाति समुदाय बुधबार साँझ धरानको सर्दु र सेउती खोलामा आयोजित छठ पूजा महोत्सवमा भने एक भएर सुर्यलाई अर्घ दिदै गरेको देखिए । त्यसमध्ये विगत ६ बर्षदेखि धरानमा बस्दै आएका रामकिसोर चौधरी पनि एक हुन् । उनी छठ पूजामा पहाडे समुदायको सहभागीता देखेर चकित छन् । ‘अचेल पहाडे दिदीबहिनी, दाजुभाई पनि छठ पूजामा आउनुहुन्छ, यसले हामीलाई एकतामा बाँध्न सहयोग पुर्याउछ’–उनले भने ।
धरान पहाडे मुलका आदिबासी जनजाति समुदायको बाहुल्यता भएको शहर हो । तर, यहाँ सबै जातजाति, समुदायको बसोबास छ । यहाँ मधेशी समुदायले चार दशकभन्दा पनि अघिदेखि छठ पर्व मनाउन थालेको जानकारहरु बताउछन् । शुरुमा थोरै संख्यामा पिण्डेश्वर मन्दिरस्थित सरस्वती मन्दिरमा पूजा गरिन्थ्यो । पछि संख्या बढ्दै गएपछि सेउती र सर्दु खोला किनारमा पूजा गर्न थालियो । ०६५ सालदेखि भने छठ पूजा समिति बनाएर नै दुवै स्थानमा व्यवस्थितरुपमा पूजा गर्न थालिएको समितिका अध्यक्ष यदुनन्दन शाह बताउछन् । ‘जुनसुकै जाति, पार्टी वा धर्मको मान्छे होस्, अचेल ब्रत बसेर छठ पूजा गर्न थालेका छन् । यसलाई म नेपालीहरुको समानता र एकताको भावना हो भन्छु’–अध्यक्ष शाहले भने–‘यो भावनाले राजनीतिकरुपमा जति नै हामी विभाजित भएपनि साँस्कृतिक, सामाजिकरुपमा एकतामा बाध्छ ।’
चार दिनसम्म मनाइने छठ पूजाको तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर पूजा गरिन्छ भने चौथो दिन बिहान उदाउदो सूर्यलाई अर्घ दिएर समापन हुन्छ । आफुले भाकल गरेको मनोकामना पुरा भएपछि छठ पूजा गर्ने चलन गरेको जानकारहरु बताउछन् । समितिका सचिव रौदी शाहका अनुसार पहिला छठ पूजामा मधेशी सामुदाय मात्रै देखिन्थे । अहिले पहाडे समुदायका नेवार, क्षेत्री बाहुन मात्रै होइन, आदिबासी जनजाति अनुहार पनि उतिकै संख्यामा देखिन थालेको उनी बताउछन् । ‘सँस्कृतिकरुपमा हामी एक ठाउँमा भएजस्तै राजनीतिक नेताहरु पनि मिलेर काम गरे देश समृद्ध हुने थियो’–उनी भन्छन् । किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई नेपाली समाज साँस्कृतिक अन्तरघुलमा रहेको भएपनि अधिकारप्रतिको चासोलाई राजनीतिले गलतरुपमा व्याख्या गरिदिदा तिक्तता बढेको बताउछन् । साँस्कृतिक चाडपर्वले नै समाजलाई पुनः सहिष्णु बनाउने उनको भनाई छ । ‘नेपाली समाज पहिला देखि नै साँस्कृतिकरुपमा सहिष्णु थियो, एक आपसमा सद्भाव र सहयोग आदानप्रदान गर्ने चरित्र हो । तर, आफ्नो अधिकारप्रतिको चासोलाई राजनीतिले गलतरुपमा व्याख्या गरिदिदा तिक्तता बढेको हो । यसलाई चाडपर्व, सँस्कृतिले नै फेरि सहिष्णु बनाउछ भन्ने लाग्छ’–राईले भने ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे