खुलेआम बिक्री भइरहेको पटकाजन्य सामान जफत
धरान । तिहारको मौकामा अवैधरुपमा ल्याएर बिक्री वितरण गर्दै गरेको पटकाजन्य सामानलाई मंगलबार धरान बजारबाट प्रहरीले जफत गरेको छ । इलाका प्रहरी कार्यालयले धरानको विभिन्न स्थानमा छापा मारेर बिक्री विरतण गरिरहेको पटकाजन्य सामानहरु ठुलो परिमाणमा जफत गरेको हो । प्रहरीले धरानको सब्जी बजार क्षेत्रबाट मात्रै तीन गाडी पटकाजन्य झिरझिरेलगायत सामान जफत गरेको प्रत्यक्षदर्शीको भनाई छ । ती सामानहरु अवैधरुपमा भित्र्याइएकोले जफत गरिएको प्रहरीको भनाई छ । धरान भानुचौकस्थित सब्जी बजार क्षेत्रमा खुलेआम पटकाजन्य सामानहरु बिक्रीवितरण हुदै आएको थियो ।धरानको भानुचौकस्थित सब्जीबजार, महेन्द्र पथस्थित फुटपाथबाट अवैधरुपमा बिक्रीवितरण हुदै आएको पटकाजन्य सामानहरु जफत गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले बताए । उनका अनुसार बजारमा अवैधरुपमा पटकाजन्य सामानहरु खुलेआम बिक्रीवितरण भइरहेको सुचना आएपछि बिक्री क्षेत्र पहिचान गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । बिक्री भइरहेको क्षेत्र पहिचान भएपछि मंगलबार छापा मारिएको डिएसपी थापाले बताए ।
‘यस्ता अवैध सामानहरु बिक्रीवितरण नगर्न सार्वजनिकरुपमा सुचना गरिएपनि ख्याल गरिएको पाइएन, त्यसैले बिषेश अपरेशन नै चलाउनु पर्यो’–डिएसपी थापाले भने । प्रतिबन्धित पटकाजन्य सामानको बिक्रीवितरणमा यसअघि सब्जी व्यापार गर्नेहरु नै भेटिएको पनि उनले बताए । ती सामानहरुलाई बुधबार पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरिने र खाडलमा पुरेर नष्ट गरिने पनि उनले बताए ।

Comments
Post a Comment