रिलिज नभई चेसुङ फिल्मको लगानी उठ्यो


धरान । लिम्बू सँस्कृति एवं किपट प्रथा उन्मुलनमा आधारित भएर बनेको चलचित्र चेसुङ निर्माण भएको ६ बर्ष बितिसक्यो, अहिलेसम्म सिनेमा हलहरुमा रिलिज भएको छैन । तर, सिनेमा हलमा प्रर्दशन हुनुपूर्व नै यो चलचित्रले लगानी उठाउन सफल भएको छ ।
अधिकतर नेपाली फिल्महरुले लगानी नै उठाउन सकिरहेको छैन, तर चेसुङ निर्माण पक्षका अनुसार अन्र्तराष्ट्रिय प्रर्दशनबाट नै चलचित्रको लगानी उठेको हो । लगानी सुरक्षित भइसकेकोले अब नेपालमा रिलिज गरेर सार्वजनिक प्रर्दशनको सोच बनाएको निर्माण पक्षले जनाएको छ । ‘चेसुङको अन्र्तराष्ट्रिय प्रर्दशनले लगानी उठाउन सफल भयो । ऋण पनि तिर्यौं, अहिले ठुलो भारी बिसाएको महसुस भइरहेको छ । ज्यादै खुशी छुँ’–फिल्मको अन्र्तराष्ट्रिय प्रर्दशनबारे सोमबार जानकारी दिदै कथा एवं निर्माण परिकल्पनाकार भिष्मा चेम्जोङले भनिन्–‘निर्माताहरुको लगानी सुरक्षित भएकोले अब रिलिज गर्नेबारे पनि सोच्छौं ।’


चेसुङ फिल्मले पृथ्वीनारायाण शाहबाट पूर्वी नेपालका लिम्बूहरुले पाएको स्वायत्तताको अधिकार किपटलाईसमेत खोरज गर्ने गरि नेपाल सरकारले २०२१ सालमा ल्याएको भुमिसुधार ऐन लागु भएपछि अधिकार खोसिएको राजनीतिक बिषयलाई उठाएको छ । ऐन लागु भएपछि जमिन्दारी प्रथा उन्मुलुनसँगै किपट प्रथा पनि खारेज भएको थियो । यो चलचित्रले २०२१ साल र त्यसअघिको राजनीतिक परिवेशलाई प्रस्तुत गरेको छ । ‘लिम्बूको सँस्कार, सँस्कृति, रहनसहनसँगै पहिचानको कुरालाई पनि उठाएका छौं । हामीले इतिहास खोतलेर जस्ताको तस्तै राख्ने प्रयास गरेका हौं । आफ्नो पहिचान र अस्तित्वको कुरा गरिरहदा अरुको अस्तित्वलाई पनि ख्याल गर्नुपर्छ भन्नेमा पनि फिल्म सचेत छ’–परिकल्पनाकार चेम्जोङले भनिन् ।
चलचित्र चेसुङ ०६४ सालमा बनेको थियो । सन् २००८ मा भएको अन्र्तराष्ट्रिय आदिबासी जनजाति चलचित्र महोत्सव(आइफा)मा नेपालतर्फ यो चलचित्र उत्कृष्ट ठहरिएको थियो । त्यही बर्ष चलचित्र विकास बोर्डले पनि डेढ लाख नगदसहित यो चलचित्रलाई सम्मान पत्र प्रदान गरेको थियो ।


निर्माण पक्षका अनुसार सन् २००९ मा पहिलो पटक विदेश प्रर्दशनको क्रममा चेसुङको हङकङ बिषेश प्रर्दशन गरिएको थियो भने सन् २०१२ मा बेलायत र दक्षिण कोरियामा पनि प्रर्दशन गरिएको थियो । यस्तै, पछिल्लो पटक कथा एवं निर्माण परिकल्पनाकार चेम्जोङ बेलायतमा पुगेर विभिन्न ११ ठाउँमा प्रर्दशन गरेकी थिइन् । ‘अझै पनि अष्ट्रेलिया, अमेरिका, दुबईतिर चलचित्रको माग भइरहेकोछ, व्यवस्थापन गर्न सकिरहेका छैनौं’–उनले भनिन्–‘फिल्म अधुरो छ भनेर धेरै ठाउँमा कुरा उठ्यो, यसको सिक्वेलबारे पनि सोच्छौं ।’
चलचित्रका कार्यकारी निर्माता किसोर सम्बाहाम्फे पहिचान र सँस्कृतिमा आधारित फिल्मले पनि व्यावसायिकरुपमा सफल हुनसक्छ भनेर चेसुङले प्रमाणित गरेको बताए । निर्माण समुहका अनुसार फिल्म २८ लाख लागतमा बनेको थियो भने ऋणसमेत लागेको थियो । ‘पहिचान र सँस्कृतिमा आधारित फिल्मले पनि व्यावसायिकरुपमा सफल हुनसक्ने रहेछ, यो फिल्मको कमाईबाट अचम्मित भएका छौं’–कार्यकारी निर्माता सम्बाहाम्फेले भने । मुख्य कलाकार प्रेम सुब्बाले २०२१ साल ताकाको राजनीतिक परिदृष्यलाई फिल्मले प्रष्ट्याउने प्रयास गरेको बताए । बम्बैया शैलीको फिल्मलाई जस्ताको तस्तै उतार्नुभन्दा आफ्नोपन र शैली पर्दामा उतार्दा दर्शकले मन पराउने उदाहरण चेसुङ बनेको उनले बताए ।


चलचित्रबारे बोल्दै पत्रकार भवानी बरालले चलचित्र किपट प्रथा अन्त्यको कथामा बनेको ऐतिहासिक फिल्म भएपनि अपुरो भएको र सामन्ती प्रथाको प्रतिनिधित्व गर्ने बताए । साथै उनले किपट अन्त्यपछिको फिल्म पनि बन्न आवश्यक भएकोमा जोडदिए । पत्रकार गोपाल देवानले भाषिक, साँस्कृतिक फिल्महरु मुलधारको फिल्म बन्ने भन्दै नेपाली चलचित्रमा सौन्दर्यशास्त्र बदलिएकोले चिम्से आँखा भएकाहरु पनि हिरो हिरोइन हुन थालेको प्रसंग उल्लेख गरे ।
किराँत याक्थुङ माङ्गेन्ना चुम्लुङको प्रस्तुती रहेको फिल्म चेसुङमा प्रेम सुब्बा, शोभा खजुम, भिष्मा चेम्जोङ, रमेश सिंघक, पुष्प श्रेष्ठ, सावित्रा इङनाम, बलराज जबेगु, सुर्य केरुङ, कुलचन्द्र न्यौपाने, सौगात रिजाल, सुर्वण पलिखे, मनोज शाक्यलगायतको भुमिका रहेको छ । फिल्मको लेखन तथा निर्देशन मौसम इम्बुङले गरेका थिए भने युगकुमारी लिम्बू, विमला बोखिम, भिम आङबुङ, सूर्य केरुङ, शशी चेम्जोङ र प्रमिला मेयाङ्बो निर्माता रहेका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे