बीपीमा प्रतिष्ठानमा सहमति,सबै सेवा सुचारु


धरान । कर्मचारी आन्दोलनको कारण तीन सातादेखि ठप्प बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पुर्ण सेवा सुचारु भएको छ । पदाधिकारी र कर्मचारी कल्याण समाजबीच भएको वार्तामा सोमबार राती १२ बुँदे सहमति भएपछि मंगलबारदेखि सम्पुर्ण सेवाहरु सञ्चालनमा आएको हो ।
सहमतिपछि कर्मचारीहरुले सोमबार राती नै प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा लगाएको ताला पनि खोलिदिएका छन् । सहमति बनेपनि मंगलबारदेखि ओपिडी सेवा, ल्याब, एक्स रे, शैक्षिक कार्यक्रम एवं पठनपाठनहरु सुचारु भएको छ । ‘कर्मचारीहरुको मागबारे सहमति बनेकोले ताला खुल्यो । अस्पताल सेवा, पठनपाठन सबै सुचारु भइसकेको छ’–प्रतिष्ठानका सहायक अस्पताल निर्देशक एवं प्रवक्ता डा.पशुपति चौधरीले भने ।
वार्तामा अघिल्लो आर्थिक बर्षको १८ प्रतिशत तलब र एक हजार भत्ता, चालु आर्थिक बर्षको १० प्रतिशत तलब, बार्षिक बृद्धि ग्रेड, प्रोत्साहन भत्तालगायत माग सम्बोधन गर्न ३६ औं सिनेट बैठकले गठन गरेको तलबमान आयोग र सम्बन्धित निकायहरुबीचमा पहल एवं समन्वय गर्ने सहमति बनेको छ । यस्तै, कर्मचारीहरुलाई नर्सिङ प्राविधिक समुह, पारामेडिक प्राविधिक समुह, इञ्जिनियरिङ प्राविधिक समुह, प्रशासनिक समुह र अन्य समुहमा वर्गीकरण गर्नेबारे ३६ औं सिनेट बैठकको माइन्युटमा समावेश गर्ने, संचित घरविदा २१० दिन कायम गर्ने, न्यायोचित जोखिम भत्ताबारे पहल र समन्वय गर्नेलगायत सहमति भएको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए ।


उनका अनुसार कार्तिक १५ गतेभित्र कर्मचारीहरुको माग र भावनाको समर्थन हुने गरी तलबमान आयोगलाई प्रतिवेदन तथा सुझाव तयार गर्न अनुरोध गर्ने र उक्त सुझाव एवं प्रतिवेदनलाई स्वास्थ्यमन्त्रीबाट निर्देशन प्राप्त भएको बढीमा ७ दिनभित्र कार्यान्वयनको प्रक्रियामा लैजाने सहमति भएको छ । ‘तलबमान आयोगलाई स्थायीत्व प्रदान गर्ने, प्रतिष्ठानको सर्वोपरी हित, विकास र स्थायीत्वको लागि सम्बन्धित निकायबाट न्यायोचित सम्बोधन गराउन व्यवस्थापन, कर्मचारी कल्याण समाज, नागरिक समाज, राजनैतिक दललगायतको सहभागीतामा एक समिति गठन गर्ने सहमति भएको छ’–उनले भने–‘सहमतिलगत्तै समाजको बैठकले सकरात्मकरुपमा लिदै कार्तिक २५ गतेसम्म आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेका छौं ।’ समाजको बैठकले तालाबन्दी खोल्ने, सबै सेवा सुचारु गर्ने सहमति स्वीकृत गरेपनि माग पुरा नभएसम्म दिउसो २ बजेदेखि ५ बजेसम्म जिओपिडी भवन अघि रिले अनसन एवं शान्तिपुर्ण धर्ना भने जारी राख्ने जनाएका छन् ।
गत भदौ ३० गते राजधानीमा सम्पन्न प्रतिष्ठानको ३६ औं सिनेट बैठकले कर्मचारीहरुको मागबारे ठोस निर्णय नगरी सभासद एवं पूर्वउपकुलपति डा. शेखर कोइरालाको संयोजकत्वमा उच्चस्तरीय तलबमान आयोग गठन गरेपछि कर्मचारीहरु दुई समुहमा विभाजित भएर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी कल्याण समाज तदर्थ समितिले शान्तिपुर्णरुपमा धर्ना मात्रै दिइरहेको छ भने कर्मचारी कल्याण समाजले असोज १ गतेदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै आकस्मिक र अन्तरंग सेवाबाहेक सबै ठप्प बनाएको थियो । ताला खुलाउन एवं उपचार सेवा सुचारु गर्न राजनीतिक दल, नागरिक समाज सम्मिलित सर्वपक्षीय वार्ता समितिले पहल एवं दबाब दिदै आएको थियो ।

यसैबीच, तदर्थ समितिले भने आफुहरुले तालाबन्दी नगरेको र उपचार सेवा पनि ठप्प नगरी शान्तिपुर्ण धर्नामात्रै दिएको बताउदै आफुहरुको आन्दोलन भने जारी रहेको जनाएको छ । ‘हामीले तालाबन्दी गरेका छैनौं र काम पनि छोडेका छैनौं, तर माग पुरा नभएसम्म शान्तिपुर्ण धर्ना भने जारी रहन्छ’–संयोजक राजन कोइरालाले भने–‘यसअघि पनि धेरै कार्यदल र समिति बन्यो, तर हाम्रो माग कहिल्यै सम्बोधन गरिएन, सिनेटले गठन गरेको आयोगको पनि समयसिमा तोकेको छैन, त्यसैले यो समिति पनि हामीलाई अल्मलाउने खेल मात्रै हो ।’ यसअघि गठित कार्यदलको रिपोर्ट अनुसार प्रोत्साहन भत्ता बृद्धि गर्ने निर्णय गरेमात्रै पनि आन्दोलन स्थगित गरेर तलबमान आयोगको प्रतिवेदनसम्म पर्खन आफुहरु तयार रहेको उनले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे