श्रीशीशा राईको एकल कविता वाचन(फोटोफिचर)

झिसमिसेका कसिला अँगालाहरु
दिनभरिको बाटो सम्झेर खुकुलिन्छन्
हतार हतार म झोला भिर्छु
एक्लोपनको भयले
मेरी श्रीमतीको अनुहारको रङ्ग बदलिन्छ
तिनका प्यास, रहर र समर्पण जति
आलै छाडेर म
दुनियाँ पछार्न निक्लन्छु घरबाट ।
कविताले भने झै पत्रकार राई शनिबार पनि सुनसरीको हाँसपोशास्थित घरबाट निस्किएर भरौल १ स्थित कालाबञ्जार पुगे । तर, यो यात्रा सदाको भन्दा अलग्गै थियो । गोरखा पत्र दैनिकसँग आवद्ध उनले कालाबञ्जारमा पुगेर कविता सुनाए । धेरै कविताहरुको लहरमा अर्धाङ्गीनिको पीडा..शीर्षकको कवितामार्फत आफ्नो मात्रै होइन, समग्र पत्रकारहरुको अवस्था छर्लङ्ग पारिदिए ।
स्थानीय स्वर्णिम साहित्य समाजले एकल कविता वाचन कार्यक्रम आयोजना गरेर पत्रकार एवं कवि राईलाई कालाबञ्जरको साहित्यिक माहौलमा उभ्याएको थियो । रेडक्रसको भवनमा आयोजित एकल वाचनमा कवि राईले आफ्ना सृर्जनामार्फत पत्रकारको समस्या खोले, पहिचानको नारा घन्याए, तत्कालीन समयमा द्धन्दको चपेटामा परेको नेपाली समाज र नेपालीको मनोदशालाई व्यक्त गरे, यसरीः
जब देश सम्झन्छु–
म एउटा परदेशी जस्तो लाग्छ
जङ्जल भासिएको छु म
अहिले बस्तीमा
विश्वास, इमान, धर्म
मेरै बाटो हेरिरहेका होलान् (दुःखद् सम्झना)
यताबाट आए, म उभिए र बँचे
उताबाट आए, म बसे र बँचे(द्धन्द्दमा)

वरिष्ठ साहित्यकार अनिल पौडेलले कवि राईको कविताहरु सुन्दा शान्त काव्यिक तलाउमा एउटा माझीले छाल आउने गरि पानी चलाएको झै आफुले अनुभूत गरेको बताए । आफ्नो जाती, भाषाको मिथकलाई कवितामा उत्कृष्टढंगले ल्याएको बताउदै साहित्यकार पौडेलले यस्ता स्रष्टा, सृष्टि र उनको दृष्टिलाई सार्वजनिक कार्यक्रमहरुमा उद्धरण गर्नुपर्ने धारणा व्यक्त गरे । यस्तै, समिक्षक डमरु बल्लभ भण्डारीले राईका कविताले नेपाली जनता र नेपालबारे बोलेको धारणा व्यक्त गरे । अर्का समालोचक डा.बद्रीबिशाल पोख्रेलले कविताको शिर्षक चयनमा मौलिकता र कलात्मकता रहेको बताए । साथै, कविताहरु बिम्बात्मक, प्रतिकात्मक र मिथकले भरिएको नयाँपन पनि राईका कविताहरु भेटिने बताए ।
आयोजक संस्थाका अध्यक्ष प्रकाश दिप्साली राई मिराकले स्थानीय कवि, साहित्यकारहरुलाई नेपाली साहित्य एवं कविता कुन दिशामा अघि बढ्दैछ भनेर बुझाउनको लागि पनि कार्यक्रम आयोजना गरिएको बताए । ‘नयाँपिढीले नेपाली साहित्य, कविता कुन ट्याकमा हिडिरहेको छ भनेर बुझ्ने मौका पाउछन्, यसले साहित्य सृर्जनामा मलजलको काम गर्छ’–कार्यक्रमको उद्देश्यबारे उनले भने । कार्यक्रमको दौरान गायक निरज राईले गीत पनि गाएका थिए भने कवि राईलाई किराती परम्पराअनुसार फेटा पनि गुथिएको थियो ।
Comments
Post a Comment