धरानको ग्याँस डिलर र खुद्रा पसलमा प्रशासनको छापा


धरान । चाडपर्वको समयमा कृत्रिम अभाव सृर्जना गरेर खाना पकाउने एलपी ग्याँसमा कालोबजारी गरेको आशंकामा मंगलबार स्थानीय प्रशासनले धरानका डिलर एवं खुद्रा किराना पसलहरुमा छापा मारेको छ । इलाका प्रशासन कार्यालय धरानको नेतृत्वमा मंगलबार धरानका विभिन्न ग्याँस डिलर एवं खुद्रा पसलहरुमा छापा मार्दा डिलरमा ग्याँस स्टक भेटिएन तर, अनधिकृतरुपमा किराना पसलहरुले चर्को मुल्यमा ग्याँस बिक्री गरिरहेको अनुगमन टोलीले फेला पारेको थियो ।
अनुगमन टोलीका अनुसार डिलरमा ग्याँसको स्टक थिएन, तर किराना पसलहरुमा भने लुकाएर राखेको ग्याँस सिलिण्डर फेला परेको थियो । अनुगमन टोलीले ती सिलिण्डरलाई सिज गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको उपभोक्ता हित संरक्षण मञ्चका क्षेत्रीय अध्यक्ष उद्धव श्रेष्ठले बताए । ‘डिलरहरुमा ग्याँस भेटिएन, तर किराना पसलहरुले लुकाएर बेच्ने गरेको पाइयो’–अध्यक्ष श्रेष्ठले भने–‘ती ग्याँस सिलिण्डर बिक्री नगर्न निर्देशन दिएका छौं, र भोली सिडिओ कार्यालयमा उपसिथ्त हुन पत्र थमाएका छौं ।’ उनका अनुसार करिब एक दर्जन किराना पसलहरुमा थोरै थोरै संख्यामा ग्याँस लुकाएर राखिएको भेटिएको थियो । त्यसक्रममा किराना पसलहरुले प्रतिसिलिण्डर २२ सय देखि २५ सय रुपैयासम्म लिने गरेको पनि खुलेको उनले बताए ।

किराना पसलहरुमा ५०/६० वटादेखि डेढ सय वटा सम्म खाली सिलिण्डर भेटिएकोले डिलरकै मिलेमतोमा ती पसलहरुले धेरै ग्याँस स्टक गरेर महंगोमा बिक्री गर्ने गरेको आशंका अनुगमन टोलीको छ । तर, डिलरहरुले खुद्रा बिक्रेताहरुले धेरै मान्छेलाई लाइनमा बस्न लगाएर ग्याँस संकलन गर्ने गरेकोले आफुहरुलाई त्यसबारेमा थाह नभएको जवाफ दिएका थिए । ‘डिलरहरुले नै किराना पसलहरुमा छापा मार्नुस भनेर सुझाव दिएको थियो, किराना पसलमा डेढ सय वटासम्म खाली सिलिण्डर भेट्दा पक्कै कालोबजारी छ भन्ने पुष्टि भयो’–अध्यक्ष श्रेष्ठले भने ।

किराना पसलहरुलाई ग्याँस बिक्री गर्ने अनुमति नभएको भन्दै अनुगमन टोलीले कालोबजारी गर्नेलाई बन्द गर्ने चेतावनी दिएको छ । साथै, माइकिङमार्फत किराना पसलहरुलाई ग्याँस बिक्री नगर्न आह्वान गरिने र नमान्नेलाई कारबाही गरिने पनि टोलीले जनाएको छ । अनुगमन टोलीमा सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि, नगरपालिका, इलाका प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायत निकाय सहभागी थियो । डिलर तथा खुद्रा पसलबाट ग्याँस नपाएको भन्दै उपभोक्ताहरुले इलाका प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले अनुगमन तथा छापा मारेको प्रशासनले जनाएको छ । अनुगमन टोलीले कलेज रोडस्थित मनोज र सुविधा ग्याँसको डिलरमा छापा मार्न थालेपछि अन्य ग्याँस बिक्री गर्ने खुद्रा पसलहरु बन्द गरेर फरार भएका थिए । कृत्रिम अभाव तथा कालोबजारी रोक्न अनुगमन गरिएको इलाका प्रशासन कार्यालय धरानका नायब सुब्बा युवराज पोख्रेलले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे