तेस्रो सुनसरी टेक्निकल कलेज एमेच्योर गल्फ कार्तिक १२ गते हुने


धरान । तेस्रो सुनसरी टेक्निकल कलेज गल्फ एमेच्योर ओपन प्रतियोगिता कार्तिक १२ गते आयोजना हुने भएको छ । धरान गल्फ क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै छठ पर्वको दिन निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
स्ट्रोक प्लेको आधारमा हुने प्रतियोगितामा देशभरका ३० भन्दा बढी एमेच्योर खेलाडीहरु सहभागी रहने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष पुर्ण लिम्बूले बताए । पूर्वाञ्चलबाहेक काठमाण्डौं र पोखराका खेलाडीहरुलाई पनि प्रतियोगिताबारे जानकारी दिइएको उनले बताए । यसअघिको सँस्करणहरुमा भने पूर्वाञ्चल क्षेत्रको मात्रै खेलाडीहरु सहभागी थिए । ‘यसपाली पनि सबै एमेच्योर खेलाडीहरुलाई खबर गरेका छौं, पोखराबाट खेलाडी सहभागी हुने सम्भावना छ’–अध्यक्ष लिम्बूले भने–‘गल्फ खेलमा आफ्नो खर्चमा आउने जाने गर्नुपर्ने भएकोले खेलाडीहरुलाई समस्या परेको हुनसक्छ ।’ आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपाल गल्फ संघ काठमाण्डौं र हिमालयन गल्फ क्लब पोखरालाई पत्राचार गरिएको छ ।

प्रतियोगितामा खुल ७१ ह्जार खर्च हुने अनुमान गरिएको र सो रकम प्रायोजक कलेज तथा खेलाडी प्रवेश शुल्कबाट व्यवस्था हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि क्लब र सुनसरी टेक्निकल कलेजबीच तीन बर्षअघि पाँच बर्षे सम्झौता भएको थियो । सम्झौता वमोजिम पाँच बर्षसम्म प्रतियोगिता सञ्चालन गर्न कलेजले बर्षेनी ५० हजार रुपैया उपलब्ध गराउनुपर्नेछ । धरान ४ स्थित कलेजका प्रमुख एवं अध्यक्ष लेखीराज सुब्बाले सम्झौता सकिन अझै २ बर्ष बाँकी रहेको र त्यसपछि पुर्नविचार गरिने बताए । ‘सम्झौता वमोजिम बर्षेनी ५० हजार दिन्छौं, अझै २ बर्ष बाँकी छ । सम्झौता अवधि सकिएपछि पुर्नविचार गछौं’–उनले भने ।
प्रतियोगिताको लागि निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ गल्फ रिसोर्टको बिशेष सहयोग रहेको आयोजकले जनाएको छ । विजेता खेलाडीहरुलाई ट्रफी पुरस्कार दिइनेछ । एमेच्योर खेलमा नगद पुरस्कार दिइदैन । पुरस्कारमा प्रथम, दोस्रोसँगै ग्रस, लेडिज प्रथम, लङ्गेष्ट ड्रइभ, नियरेष्ट टु दि पिन, मोष्ट बर्डिज, मोष्ट बुगिलगायत पुरस्कार पनि दिइनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे