प्रयोगकर्ता नै बन्छन् लागुऔषधको कारोबारी


धरान । गत भदौ तेस्रो साता करिब १४ बर्ष मलेसिया बसेर घर फर्किएका धरान १५ का काजी भारती १४.८७ ग्राम ब्राउन सुगरसहित समातिए । मलेसिया जानुअघि नै कुलतमा फसिसकेका उनी मलेसियामा ब्राउन सुगरका अम्मली बने । घर फिरेपछि भने आफ्नो आवश्यकता पूर्ति गर्नेक्रममा उनी कारोबार गर्न पनि थालिसकेका थिए । तर, भदौ तेस्रो साता उनी ब्राउन सुगर किन्न पुगेका छद्मभेषी प्रहरीको फन्दामा परे ।
भारती समातिएको केही दिनपछि नै स्कुटीमा सवार धरान १६ का २७ बर्षीय अर्पण ताम्राकारलाई सवारी चेकजाँचको क्रममा सिट मुनी डिकीमा लुकाई राखेको ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गर्यो । उनको साथबाट प्रहरीले नारोजैसिक एक सय एम्पुल, एभिल एक सय एम्पुल, डाइजेलाव एक सय एम्पुल, नाइट्रोसन ट्याब्लेट एक सय गोटी र स्पास्मो प्रोक्सिन ९६ क्याप्सुल वरामद गरेको थियो ।


लागुऔषध प्रयोगकर्ताहरु नै ओसारपसार तथा कारोबारीमा संलग्न हुने गरेका पछिल्लो उदाहरण बनेका छन्, धरानका गिरी र ताम्राकार । प्रहरीका अनुसार लागुऔषधका अम्मलीहरु आफुले सहजरुपमा लागुऔषध खान पाउने र पैसा पनि कमाउने लोभले उनीहरु नै कारोबारमा संलग्न हुन्छन् । धरान पूर्व क्षेत्रमा अवैध लागुऔषधको प्रमुख बजार एवं प्रभाव रहेको शहर हो । प्रहरी तथ्यांक अनुसार धरानमा सबैभन्दा बढी लागुऔषधका मुद्दा चलेका छन् । जोगवनी नाकाबाट फर्कदै गर्दा विराटनगरमा लागुऔषधसहित पक्राउ पर्ने अधिकांश युवाहरु पनि धरानकै हुन्छन् । ‘धरानको प्रमुख समस्या भनेको दुव्र्यसन र कारोबार नै हो, कतिपय दुव्र्यसनमा फसेका युवाहरु नै कारोबारी र डिलर बनेका छन्’–इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले भने ।
प्रहरीका अनुसार लागुऔषधका अम्मली बनिसकेका युवाहरुलाई चरम आर्थिक संकट हुन्छ । उनीहरु आफ्नो आवश्यकता(लागुऔषध) पूर्ति गर्ने बाटो सबैतिरबाट बन्द भएपछि आफै ओसारपसार र कारोबारीमा संलग्न हुन्छन् । जसले गर्दा उनीहरुले सहजरुपमा लागुऔषध खान पाउछन् भने आर्थिक संकट पनि हुदैन । ‘पछिल्लो समय धमाधाम डिलर र कारोबारी समातिएको छ, सहजरुपमा सेवन गर्न पाउने र बिक्री गरेर आय आर्जन पनि हुने भएकोले प्रयोगकर्ताहरु नै कारोबारमा संलग्न भएको पनि भेटिएको छ’–रिजालले भने ।

                                     तोडिदै लागुऔषधको जालो

इलाका प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७०/०७१ मा २ सय ५१ जनालाई लागुऔषधमा कानुनी कारबाही भएका छन् । ती मध्ये ५१ जनालाई सुधार केन्द्रमा पठाइएको छ भने २ सय जनालाई मुद्दा दायर गरिएको छ । पक्राउ परेकामध्ये अधिकांश कारोबारी र डिलर छन् । गत आर्थिक बर्षमा प्रहरीले २ हजार ७ सय ४२ नारोजैसिक, त्यही मात्रामा डाइजेपाम र एभिल वरामद भएको थियो भने २ सय ८ बोटल कोरेक्स, १ सय ११ नाइट्रोसन ट्याब्लेट, साढे ८ केजी गाँजा र ४ हजार ५ सय ४२ स्मास्मो प्रोक्सिन वरामद भएको थियो । चालु आर्थिक बर्षको चार महिनामा मात्रै लागुऔषधसहित २९ जना पक्राउ परिसकेका छन् भने नारोजेसिक, डाइजेपाम र एभिल क्रमशः ५ सय ५२ थान, नाइट्रोसन ४ हजार ५ सय, ब्राउन सुगर २४ ग्राम र गाँजा अढाई किलो वरामद भइसकेको छ ।
प्रहरीले योजना बनाएर धमाधाम डिलरको जालो ध्वस्त बनाउदै गएपछि लागुऔषधको अभावले प्रयोगकर्ताहरु छटपटिन थालेका छन् र प्रयोगकर्ताहरु पनि अधिक संख्यामा कानुनी दायरामा आएका छन् । ‘कारोबारीको जालो तोडियो, तर प्रयोगकर्ताहरुको संख्या बढी देखिन थालेको छ’–प्रहरी निरीक्षक रिजालले कारण खोतल्दै भने–‘डिलर र कारोबारी समातिएपछि लागुऔषध अभाव हुन थाल्यो र प्रयोगकर्ताहरु छटपटिएर खोज्ने, भौतारिने गर्दा पक्राउ पर्न थालेका छन् ।’

                               प्रो एक्टिभ र रिएक्टिभ पुलिस


इलाका प्रहरी कार्यालय धरानले मुख्य चुनौती लागुऔषध दुव्र्यसन र कारोबार भएको पहिचान गरेर न्युनिकरण गर्न प्रोएक्टिभ र रिएक्टीभ रणनीतिक योजना बनाएर अभियान थालेको छ । प्रोएक्टिभ योजनाअन्र्तगत प्रहरीले जनचेतना र शिक्षाको अभाव महसुस गर्दै विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर समुदायमा लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रहरीले लागुऔषधको प्रभावित क्षेत्र पहिचान गर्ने र त्यहाँ रोकथाम, चेतनाबारे अभियान लिएर पुग्छ । यस्तै, कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई जोगाउनको लागि लागुऔषध सेवनको परिणाम, मानसिक एवं मानवीय क्षति, विकृति, कानुनी दण्ड सजायबारे पनि धरान प्रहरीले चेतनामुलक जानकारी गराउदै आएको छ ।
यस्तै, रिएक्टिभ योजना अन्र्तगत कारोबारी र डिलरको पहिचान, निगरानी गर्दै लागुऔषध कारोबारीको जालो ध्वस्त बनाउन प्रहरी जुटेको छ । ‘टिम बनाएर परिचालन गर्यौं, नाकामा र डिलरहरुलाई निगरानीमा राख्यौं र तीब्र कारबाही गर्यौं’–रिजालले भने–‘अहिले धेरै सुधारको स्थिति देखिएको छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे