आठ बर्षे बालक फिल्म निर्देशक


धरान । ‘आठ बर्षे बालकले पनि फिल्म निर्देशन गर्न सक्छ र ?’ फिल्म लभ यु बाबा निर्माणको क्रममा अविश्वाससहितको यो प्रश्न ८ बर्षीय निर्देशक सौगात विष्ट, नायक गजित विष्ट र निर्मात्री सम्झना पोख्रेलले निक्कै झेल्नु पर्यो ।
अहिले भने उनीहरुलाई उत्तर दिन त्यति गाह्रो छैन, किनभने फिल्मको सुटिङ सकिइसकेको छ । आठ बर्षीय बालक सौगातले फिल्म निर्देशन गरेर नै प्रश्नको उत्तर दिइसकेका छन् । मंसिर २६ गते देशभर रिलिज गर्ने मिति तय भइसकेको यो फिल्मको टिम अहिले प्रचारप्रसारमा ब्यस्त छ । ‘शुरुमा त ८ बर्षको बच्चाले पनि फिल्म निर्देशन गर्न सक्छ र भनेर विश्वास नै गरेनन्, तर हामीलाई उहाँले गर्न सक्नुहुन्छ, क्षमता छ भन्ने विश्वास थियो’–फिल्मका नायक तथा निर्देशक सौगातका बुबा गजितले भने–‘पछि जब उहाँसँग मानिसहरुले प्रत्यक्ष कुराकानी गरे, काम हरे, अनि विश्वास गर्न थाले ।’

उनका अनुसार सौगातले दुई वटा फिल्ममा अभिनय गरेपछि निर्देशन गर्ने सोच बनाएका थिए । निर्देशन गर्ने सोच भएपछि सौगातले विभिन्न वर्कशपमा भाग लिने, सुटिङ हेर्न जाने, अन्य निर्देशक, पत्रकारहरुसँग भेटेर सल्लाह सुझाव लिने र इन्टरनेटबाट पनि जानकारी हासिल गर्ने गरेको बुबा तथा फिल्मका नायक गजितले जानकारी दिए । ‘फिल्म पारिवारिक कथामा आधारित हो, तर यसमा एक्सन, लभ,थ्रिलर, सस्पेन्स सबै छ । फिल्को १४ वटा सिन त निर्देशक आफैले बनाइदिएका हुन्’–नायक गजितले भने–‘फिल्म बालमनोविज्ञानमा आधारित मात्रै बनेको होइन ।’

निर्देशक सौगातका अनुसार आमाको काखविहिन छोरीलाई आमाको अभाव हुन नदिन बुबाले गरेको संघर्षको पारिवारिक कथामा फिल्म बनेको छ । फिल्ममा बुबाको भुमिकामा गजित विष्ट र छोरीको भुमिकामा संगम विष्ट छिन् । दुवै वास्तविक बाबु छोरी नै हुन् । यसबाहेक निश्मा घिमिरे, वसन्त भट्ट, निर्मल घिमिरे, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत,राज बजाजलगायतको अभिनय छ । ‘मैले प्रोपोगण्डा फैलाउनको लागि निर्देशन गरेको होइन, र पैसाको लागि पनि होइन’–८ बर्षीय निर्देशक सौगातले भने–‘अरु देशका ९ बर्षकोले गर्नसक्छ भने नेपालको बच्चाले पनि गर्न सक्छ भन्ने देखाउन निर्देशन गरेको हुँ, अरुको रेडर्क तोड्नलाई मात्रै पनि होइन ।’
फिल्म हेर्न आउन दर्शकलाई आग्रह गर्न नपर्ने भन्दै निर्देशक सौगातले तीन वटा कारणले दर्शकहरु आफै हलसम्म पुग्ने दाबी गरे । ‘८ बर्षको बच्चाले निर्देशन गरेको फिल्म हो । यो फिल्मको निर्देशकले गिनिज बुकमा नाम लेखाउदैछ । यो कारणले गर्दा ८ बर्षकोले के काम गरेछ भनेर जान्न , हतारो हुन्छ र उहाँहरु आफै फिल्म हेर्न हलसम्म आउनुहुन्छ’–निर्देशकले भने । फिल्म निर्देशनको क्रममा सबैको साथ, सहयोग पाएमा मात्रै निर्देशक सफल हुनसक्छ भन्ने ज्ञान पाएको पनि उनले बताए । निर्देशन बन्न धेरै गाह्रो भएको उल्लेख गर्दै उनले त्यो भन्दा धेरै कलाकार, क्यामेरामेन र निर्मातालाई हुने बताए । निर्देशन अघि सौगातले कखरा भन्ने डकुमेन्ट्री र जन्मभुमि फिल्ममा अभिनय गरेका थिए ।


निर्मात्री एवं सौगातकी आमा सम्झना पोख्रेलले छोराको इच्छापूर्ति गर्न मात्रै नभई उनको प्रतिभा, क्षमता देखेर लगानी गरेको बताइन् । डान्स फिवरको प्रस्तुती रहेको यो फिल्मको कथा गजित विष्टले लेखेका हुन् भने पटकथा÷संवाद गम्भीर विष्टले तयार पारेका हुन् । फिल्मको सहायक निर्देशक सुमन चापागाई, मुख्य सहायक निर्देशक गोविन्द सिंह भण्डारी, द्दन्द चन्द्र पन्त, छाँयाकन दिव्यराज सुवेदी र सम्पादन प्रितम पाण्डे रहेका छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे