जनगुनासो बढेपछि पेइङ सेवा बन्द, सुधार गरेर मात्रै सञ्चालनमा ल्याइने


धरान । जनरल सेवालाई नै प्रभावित बनाएको भन्दै जनगुनासो बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘पेइङ सेवा’ अनिश्चितकालको लागि बन्द भएको छ ।प्रतिष्ठानमा कर्मचारीहरु आन्दोलनमा उत्रिएसँगै पेइङ सेवा बन्द भएको महिना दिन पुगेको छ । यद्यपी, अस्पताल प्रशासनले पेइङ सेवालाई सुधार एवं व्यवस्थित गर्न तत्कालको लागि बन्द गरेको जनाएको छ । सर्वसाधारणहरुले बढी शुल्क तिरेर बिशेषज्ञ सेवा पाउने पेइङ अव्यस्थित हुदै गएको, बिशेषज्ञ चिकित्सकहरुको सेवा पेइङमा मात्रै केन्द्रीत हुदा प्रतिष्ठानको आम्दानी घटेको भन्दै कर्मचारीहरुले नै व्यवस्थित गर्नुपर्ने आवाज उठाउदै आएका थिए । पेइङ सेवाबापत लिइने शुल्कमध्ये चिकित्सक एवं प्राविधिक कर्मचारीहरुले कम्तीमा ६० प्रतिशत बाँडफाँड गरेर लैजान्छन् भने अस्पताललाई ४० प्रतिशत मात्रै बुझाउछन् ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द्रकुमार सिन्हाले जनगुनासो आएकोले पेइङ सेवालाई पूर्नमुल्यांकन गरेर सञ्चालन गर्न केही समयको लागि रोकिएको बताए । ‘पेइङ सेवाबारे जनगुनासो पनि आएको छ, पेइङ सेवा शुरु हुदा पनि केही त्रुटी भएको देखियो, ती सबैलाई मध्यनजर गर्दै पुर्नमुल्यांकन गर्ने र सुधार, परिमार्जन गरि व्यवस्थितरुपमा सञ्चालन गछौं’–निर्देशक सिन्हाले भने । पेइङ सेवा व्यवस्थित एवं सुधार गर्न प्रतिष्ठानले गृहकार्य भइरहेको र आमजनताले सर्वसुलभ र सहजरुपमा सेवा पाउने सिन्हाको भनाई छ ।


प्रतिष्ठानमा करिब दशकअघि पेइङ सेवा शुरु भएको हो । प्रतिष्ठान नेपालको एक मात्रै ‘नन्प्राक्टिसिङ ’ स्वास्थ्य संस्थान भएकोले यहाँका चिकित्सकहरु अन्य स्वास्थ्य संस्थामा गएर प्राक्टिस एवं काम गर्न पाउदैनन् । प्रतिष्ठानको तलब र भत्ताका भरमा मात्रै रहनुपर्दा आम्दानी कम हुने भएकोले दक्ष एवं राम्रा चिकित्सकहरु बस्न नमान्ने, पलयान हुनेक्रम बढेपछि रोक्नको लागि प्रतिष्ठानले पेइङ सेवाको अवधारणा ल्याएको थियो । जसअनुसार जेनरल सेवा पछि सर्वसाधारणहरुले चाहेमा पेइङमा बढी शुल्क तिरेर बिशेषज्ञ सेवा पाउथे । यसबापत भएको आम्दानीको ४० प्रतिशत मात्रै अस्पतालले पाउने गर्छ ।
पछिल्लो समयमा बिशेषज्ञ चिकित्सकहरु पेइङ सेवामुखी भएको भन्ने जनगुनासो बढ्दै गएको थियो भने प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजलेसमेत विकृत्ति बढेको भन्दै निर्देशिका तयार गरेर बैज्ञानिक एवं प्रभावकारी बनाउनुपर्ने माग गर्दै आएको थियो । पेइङ सेवामा सम्पुर्ण स्रोतसाधान प्रतिष्ठानको प्रयोग भएपनि आम्दानी भने प्रतिष्ठानमा २० देखि ४० प्रतिशतमात्रै हुने गरेको समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङ बताउछन् । ‘स्रोत साधान, उपकरण सबै प्रतिष्ठानकै प्रयोग हुन्छ, विरामी तलमाथि केही हुदा पनि प्रतिष्ठान नै जिम्मेवार हुनुपर्छ, तर आम्दानी भने ८० प्रतिशतसम्म डाक्टर, नर्स, कर्मचारीहरुले बाडचुडी लैजाने गरेकोसम्म थाह पाएका छौं’–उनले भने ।

नियमअनुसार बिहान ८ बजेदेखि ५ बजेसम्म जेनरल सेवाको समय हो र त्यसअघि वा पछि मात्रै पेइङ सेवा सञ्चालन गर्न पाइन्छ । तर, दिउँसो ३ बजेदेखि नै पेइङ सेवा सञ्चालनमा आउछ । बिशेषज्ञ चिकित्सकहरु पेइङमा मात्रै बस्ने भएकोले जेनरल सेवामा जचाउन आउने विरामीहरुले बिशेषज्ञ सेवा पाउनबाट बञ्चित छन् । पेइङमा जति संख्यामा पनि विरामी हेर्ने, अप्रेशन पनि तुरुन्तै हुन्छ तर जेनरलमा हप्तौं पर्खनु पर्ने भएपछि बाध्यभएर गरिब, निमुखाहरु ऋण काढेरै भएपनि पेइङमा धाउनुपर्ने स्थिति भएको तामाङ बताउछन् । ‘हामी पुर्णरुपमा बन्द होस भन्ने पक्षमा छैनौं, तर अहिले देखिएको विकृति रोकिनुपर्छ, व्यवस्थित गरिनुपर्छ’–उनले भने ।
अस्पताल निर्देशक सिन्हाले चिकित्सकले पेइङमा भन्दा बढी विरामी जेनरलमा जाँच गर्नै पर्ने व्यवस्था राख्दै पेइङ सेवाको नियमलाई परिमार्जन गरिने बताए । यस्तै, आम्दानीको ६० र ४० प्रतिशत बाँडफाँटलाई पनि हटाउदै जेनरल सेवाको शुल्क वापत आम्दानी अस्पतालले पाउने र बाँकी रकम मात्रै चिकित्सक,प्रविधिकहरुले पाउने व्यवस्था गरिने पनि सिन्हाले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे