पूर्नस्थापना गृहमा असहाय एवं अशक्तहरुसँग दशैं
धरान । हुनेखानेले पो रमाइलोसँग दशैं मनाउछन्, नयाँ कपडा फेर्छन् र मिठो परिकार खान्छन् । तर, जसको कोही छैन र अरुको सहारामा बाँचेका छन्, उनीहरुलाई दशैं पक्की पनि नमिठो लाग्ला । तर, यसपाली धरान ४ छाताचोकस्थित पूर्नस्थापना गृहका असक्त एवं हाय बालबालिका एवं वृद्धहरुले भने दशैंमा निराशामा बिताउनु परेन ।दशैंमा पूर्नस्थापना गृह पुगेर विभिन्न व्यक्ति एवं संघसंस्थाले लत्ताकपडा मात्रै फेरिदिएन, त्यहाँका बालबालिका एवं वृद्धहरुलाई मिठो परिकार पनि खुवाइदिए । जसले गर्दा गृहमा रहेका बालबालिका एवं वृद्धहरुलाई दशैं आएको महशुस गरायो । फुलपातीको दिन डिपोट उच्चमाविका २०५०/०५१ ब्याचका पूर्वविद्यार्थीहरुले गृहलाई करिब ५६ हजार बराबरको ४ वटा सामान राख्ने ड्र, ४ वटा प्लाइउड हस्तान्तरण गरे भने त्यहाँ आश्रय लिइरहेका बालबालिका एवं वृद्धहरुलाई खाना पनि खुवाए ।
कार्यक्रमकी संयोजक फुलमति राईले शिक्षकहरुको सही मार्गनिर्देशनको कारणले समाजसेवाको भावना जागेको बताइन् । सामाजिक सञ्जाल फेसबुकबाट देश विदेशमा रहेका सहपाठीहरुबीच सम्पर्क गरेर आर्थिक सहयोग जुटाउन सकिएको उनले बताइन् । पत्रकार भिम राई ज्वालाले सामाजिक सञ्जालबाट राम्रो काम पनि गर्न सकिन्छ भन्ने उदाहरण डिपोटका पूर्वविद्यार्थीहरुले दिएको धारणा राखे । साथै उनले पूर्नस्थापना गृहलाई व्यवस्थितरुपमा अन्यत्र स्थानान्तरणबारे सोच्न पनि सबैलाई आग्रह गरे ।
सोही कार्यक्रममा ०५० /०५१ ब्याचका विद्यार्थीहरुले हाल बनेपामा मास्तिष्क पक्षघात भएर उपचाररत डिपोटका २०६१ ब्याचका पूर्वविद्यार्थी विकास लिम्बूलाई पनि उपचारको लागि ७५ हजार ५ सय ८१ रुपैया सहयोग प्रदान गरेका थिए । उनीहरुले विद्यालयका प्राचार्य राईलाई संयुक्तरुपमा नगद हस्तान्तरण गरेका थिए । पूर्नस्थापना गृह र विरामी पूर्वविद्यार्थी लिम्बूलाई सहयोग जुटाउन धरानबाट फुलसरी राई, मञ्जु राई, प्रविण राई, केशव राई तथा हङकङबाट सुमी लिम्बू, बेलायतबाट आजु राई, अर्जुन राईलगायतले बिशेष पहल गरेका थिए ।
यस्तै, ज्वाइन ह्याण्डस् सेभ लाईफ नामक सामाजिक संस्थाले पनि गृहका बालबालिका एवं वृद्धहरुलाई दशैंको लत्ताकपडा प्रदान गरेको थियो भने धरान १६ निवासी कमल रिजालले दशैंको कपडा र एक महिनाको राशन पानीको लागि नगद १२ हजार रुपैया प्रदान गरेको गृह प्रमुख भिम राईले बताए । ‘अरुबेला जेजस्तो भएपनि दशैंमा बच्चाहरुले न्यास्रो मान्छन्, यसरी तपाईहरु आइदिएर खुशी बाड्दा यी बच्चाहरुलाई पनि हाम्रो आफन्तजन छन् भन्ने महसुस हुन्छ’–उनले भने । गृहमा २२ जना असहाय एवं अशक्त बालबालिका एवं वृद्धहरुले आश्रय पाएका छन् ।














Comments
Post a Comment