घण्टाघरबाट खसेर नवविवाहित युवतीको मृत्यु
धरान । धरानको प्रमुख पर्यटकीय आर्कषणको थलो बनेको भानुचौकमा अवस्थित घण्टाघरबाट खसेर एक नवविवाहित युवतीको मृत्यु भएको छ । आइतबार मध्याह्न करिब सवा १२ बजे मोरङको हरैचा ९ की २१ बर्षीय हेमन्ती मगरको घटनास्थलमै मृत्यु भएको हो ।
उनले आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भनेर यकिन भइसकेको छैन । उनी घण्टाघरको सबैभन्दा माथिल्लो तला(करिब ५२ फिट) माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक घण्टाघरको उत्तर पटिको मोहडातर्फबाट खसेको देखिएको छ । मृतक मगर असोज ३० गते मात्रै २९ बर्षीय टोमबहादुर मगरसँग विवाह बन्धनमा बाँधिएका थिए । उनी घण्टाघर टावरको उत्तरपटिको मोहडाबाट खसेकी थिइन् । उनले आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भनेर यकिन भइसकेको छैन । तर, घटनास्थलमा रहेका व्यक्ति, घटनाको प्रकृत्ति र श्रीमान्को वयानले हेमन्तीले आत्महत्या गरेको हुनसक्ने निष्कर्ष नजिक प्रहरी पुगेको छ । ‘हामी अनुसन्धानकै क्रममा छौं, घटनास्थलको अध्ययन, त्यहाँ रहेका व्यक्तिहरुसँगको सोधपुछबाट कसैले पनि घटना गराएको देखिदैन’–इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले भने–‘मृतक आफैले प्यास लाग्यो भनेर श्रीमान्लाई तल पानी लिन पठाएको, श्रीमान्ले तलै गएर पिउ न भन्दा पनि नमानेको स्थिति छ ।’

घण्टाघरका कर्मचारी राजा सुब्बाका अनुसार घण्टाघर प्रवेश गर्दा दुवै जना सँगै थिए र खुशी नै देखिन्थे । माथि चढेको केहीबेरमा नै युवती तल खसेको र श्रीमान् रुदै गरेको आफुले देखेको उनले बताए । यसैबीच, घटनालगत्तै घण्टाघर व्यवस्थापन समितिले अर्को निर्णय नभएसम्मकोलागि घण्टाघर चढ्नमा रोक लगाएको छ । अनुसन्धान पुरा नभइञ्जेलसम्म चढ्नमा रोक लगाइएको र प्रशासनबाट आवश्यक परामर्श लिएर मात्रै चढ्न दिइने समितिका अध्यक्ष एवं पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले बताए । घण्टाघर परिसरमा रहेका बगैचामा भने प्रवेश निषेध गरिएको छैन । ‘अनुसन्धान पुरा नभएसम्म घण्टाघर टावरमा चढ्न रोक लगाएका छौं, प्रशासनसँग परार्श लिएर आवश्यक सुरक्षा प्रबन्ध गरेपछि मात्रै खोल्छौं’–उनले भने । करिब एक दशकअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको घण्टाघर धरान घुम्न आउनेहरुको प्रमुख गन्तव्यमध्ये पर्छ ।
Comments
Post a Comment