अमर सेवा समाजको बहुउद्देश्यीय भवन बनाउन आर्थिक स्रोत जुट्दै

धरान । राष्ट्रिय एवं अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने लक्ष्यसहित धरान १३ मा निर्माण गर्ने भनिएको अमर सेवा समाज बहुउद्देश्यीय खेलकुद भवन(कवर्ड हल)को लागि कुल लागतको एक तिहाई आर्थिक स्रोत(रकम) संकलन भइसकेको छ । स्थानीयस्तरको लगानीमा निर्माण हुन लागेको यो भवनको कुल लागत करिब एक करोडको रहेको छ । गत साउन पहिलो साता भवन बनाउने निर्णय गरेको समाजले तीन महिनाको अवधिमै एक तिहाई स्रोत जुटाउन सफल भएको हो । 


भवन निर्माण समितिका अनुसार अहिलेसम्म ३५ लाख भन्दा बढी रकम संकलन भइसकेको छ भने थप आर्थिक स्रोत जुटाउन पहल भइरहेको छ । ‘भवन बनाउने सोचले निर्णय गरेको तीन महिनाकै अवधिमा एक तिहाई पैसा संकलन भइसकेको छ, हामी अमरहाटबासी सबै लागेका छौं । यो भवन हाम्रो मात्रै होइन, धरान र पूर्वाञ्चलकै गौरव बन्नेछ भनेर आशावादी छौं’–भवन निर्माण समितिका संयोजक हरिबहादुर लिम्बूले आइतबार पत्रकारहरुमाझ भने । समाजले साउन ३ गते भवन बनाउने निर्णय गरेको थियो । संयोजक लिम्बूका अनुसार भवनको लागतस्टिमेट ९८ लाख १४ हजार २ सय १९ रुपैया अनुमान गरिएको छ । यो लागत एसि जडानबाहेकको हो । यसमा सरकारी बजेट छैन ।

समितिका अनुसार अहिलेसम्म समाजका सदस्यहरुबाट १५ लाख, विदेशमा रहेका समाजका सदस्य एवं स्थानीयबासीबाट १० लाख र व्यापारी, संघसंस्था तथा व्यक्तिहरुबाट ५ लाख गरि ३० लाखको हाराहारीमा रकम संकलन भइसकेको छ । भवन निर्माणको लागि आइतबार मात्रै विभिन्न व्यक्तिहरुले ५ लाख बढी रकम निर्माण समितिलार्य हस्तान्तरण गरेको थियो । समाजको कार्यालयमा आयोजित कार्यक्रममा निर्माण समितिका संयोजक लिम्बूले भवन निर्माणको सहयोगार्थ कोषाध्यक्ष देउकुमार राईलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको चेक प्रदान गरे भने जनक बस्नेत र भिमबहादुर राई (चित्र)ले जनही ५५ हजार ५ सय ५५ रुपैया, शर्मिला राईले ५० हजार रुपैया, लक्ष्मी पन्धाकले बुबाको स्मृतिमा ५० हजार रुपैया र चन्द्रबहादुर कटवालले २५ हजार ५ सय ५५ रुपैया निर्माण समितिका संयोजकलाई प्रदान गरेका थिए ।

भवन निर्माणको लागि अमर सेवा समाजका सदस्यहरुले न्युनतम एक हजार रुपैया सहयोग गर्ने निर्णय गरेका थिए । समितिले ५० हजार माथि सहयोग गर्ने दातालाई ताम्रपत्र प्रदान गर्ने, एक लाख माथि सहयोग गर्ने दाताको फोटो राख्ने र २ लाख माथि सहयोग गर्ने दाताको मुर्ति राख्ने निर्णय गरेको समितिका सह संयोजक भुवन राईले जानकारी दिए । ‘कुल लागतको आधा आर्थिक सहयोग प्रदान गर्ने दातालाई भने उनको नाममा नै भवनको नामाकरण गर्ने निर्णय गरेका छौं । जे जति सहयोग प्राप्त हुन्छ, हामी एक पैसा पनि दुरुपयोग गर्ने छैनौं’–उनले थपे । समाजको २ सय ३० को हाराहारीमा सदस्य छन् । 
विभिन्न सामाजिक एवं खुलकुद गतिविधिहरु गर्दै आइरहेको धरान १३ स्थित अमर सेवा समाजले हालको भवन र मैदानको स्तरोन्ती गर्दै विभिन्न इन्डोर खेलहरु आयोजना गर्ने र सेमीनार, गोष्ठी, साँस्कृतिक कार्यक्रमसमेत गर्न सकिने गरी बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको हो । भवनमा बास्केटवल, भलिवल, ब्याडमिन्टन, टेबलटेनिस, तेक्वान्दो, जुडो,करातेलगायत खेलहरु खेल्न सकिनेछ । एउटा जिम हल र पुस्तकाल पनि सञ्चालन गर्ने समाजको योजना छ । ईञ्जिनियर सचिन क्षेत्रीका अनुसार भवनको उत्तर र दक्षिण क्षेत्रमा करिब ३ सय दर्शक क्षमताको प्याराफिट पनि निर्माण हुनेछ । तिहार लगत्तै शिलान्यास गरेर डेढ बर्ष(०७२ चैत महिना)भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्या राखिएको निर्माण समितिको भनाई छ ।
०४१ सालमा स्थापना भएको समाजलाई ०५२ सालमा दर्ता गरिएको थियो । नगरपालिकाले उपलब्ध गराएको ४ कट्ठा जमिनमा हाल ७ वटा कोठा भएको २ तले भवन छ । जहाँ संस्थाअन्र्तगतको युवा प्रतिभा समुह, आमा समुह र अमर वचत तथा ऋण सहकारी संस्थाको कार्यालय सञ्चालनमा छ । समाजले चोकमा पार्क पनि बनाएको छ । संस्थाकै भवनमा सुरक्षाको लागि प्रहरीलाई पनि राखिएको छ । बास्केटवल, भलिवल, टेवल टेनिस र ब्याडमिन्टन खेल्न सकिने भएपनि खुला मैदान छ । ‘शुरुमा थाल बटुका बटुलेर सामुहिक कामको लागि शुरु भएको संस्था हामी सबैको मेहनतले यो रुपमा आउन सक्यो, यो भवन बनेपछि खेलकुदको क्षेत्रमा महत्वपुर्ण योगदान पुग्नेछ भन्ने विश्वास छ’–संयोजक लिम्बूले भने ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे