वर्कस पार्टीले हतियार बुझायो


धरान । पूर्वी पहाडी जिल्लामा भुमिगतरुपमा सशस्त्र गतिविधि गरिरहेको किरात जनवादी वर्कस पार्टीले शान्तिपुर्ण राजनीतिक धारमा समाहित हुने भन्दै नेपाल सरकारसमक्ष हतियार बुझाएको छ । पार्टीले शुक्रबार धरानमा संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिलाईलाई हतियार बुझाउदै सशस्त्र गतिविधि एवं कार्यशैलीलाई परिवर्तन गरी निशस्त्र र विचार मूल राजनीतिक धारमा उभिएर सैद्धान्तिक लडाई लड्ने घोषणा गर्दै हतियार बुझाएको हो ।
पार्टी अध्यक्ष साङकन्मा किरातीले संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितीका संयोजक एवं सभासद आनन्द प्रसाद ढुङ्गानालाई हतियार बुझाएकी थिइन् । त्यसक्रममा जिल्ला सुरक्षा प्रमुखहरुको पनि उपस्थिति थियो । पार्टीले सरकारलाई ४ थना थ्रि नट थ्री राईफल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बुझाएको छ । तेस्रो चरणमा हतियार बुझाउने क्रममा पार्टीले आफुसँग भएको सम्पुर्ण हतियार बुझाएको जनाएको छ ।
हतियार बुझाउने क्रममा पार्टीका अध्यक्ष साङकन्माले सशस्त्र आन्दोलनबाट क्रान्तिको अस्तित्व रक्षा गर्न नसक्ने निष्कर्षमा पुगेर राज्य एवं संविधानसभा सामु ४ बुँदे माग राखेर हतियार बुझाएको बताइन् । सरकारले लडेर पार्टीलाई जित्न नसकेपछि आफ्ना दुतहरु पार्टीमा घुसाएर तहननहस पार्ने षडयन्त्र गरेको पनि उनले आरोप लगाइन् । ‘त्यसको परिमाण हामीले पाएको उपलब्धीको पनि रक्षा गर्न सकेनौं र हतियार बुझाउन बाध्य भयौं’–उनले भनिन् । पार्टीले विभिन्न समयमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाई गर्न सरकारसँग माग गरेको छ । यसैगरि, विभिन्न मुद्दा खेपिरहेका नेता कार्यकर्ताहरुको मुद्दा खारेजी हुनुपर्ने, सरकारद्वारा मारिएको पार्टी अध्यक्ष विवश विद्रोही र खगेन्द्र जबेगुलाई सहिद घोषणा गर्न पनि सो पार्टीले माग गरेको छ ।
यस्तै, अर्धसैन्य बललाई भरणपोषणको निम्ति र सहिद परिवारले पाउने एकमुष्ट रकम एक करोड राज्यले प्रदान गर्न पनि माग गरेको छ ।
आज देखि हामी सम्पुर्ण रुपले निशस्त्र भएका छौं । हाम्रो पार्टीसंग कुनै पनि प्रकारको हातहतियार बाँकी नराखीकन राज्यलाई बुझाएका छौ । आसन्न संविधानमा हाम्रो बिमती रहे भएमा हाम्रो राजनीतिक कार्यक्रम शान्तिपुर्ण रुपमा हुनेछ भनी घोषणा गर्दछौं ।
भुमिगत सशस्त्र गतिविधि गर्ने क्रममा पार्टीले खोटाङको चिसापानी, देविस्थान, फाक्टाङ र नुनथला प्रहरी चौकी आक्रमण गरेर प्रहरीको हतियार लुटेको थियो । प्रहरीको बिशेष कारबाहीमा अध्यक्ष विवश मारिनु, र अन्य नेताहरु धमाधम पक्राउ परेपछि पार्टी तहसनहस भएको थियो । पार्टी र सरकारबीच पहिलो पटक २०७१ वैशाख १६ गते ईलाममा वार्ता भएको थियो । त्यहीबेला ४ थान हतियार बुझाईसकेको थियो भने दोस्रो पटक गत भदौंमा खोटाङमा पनि ४ थान हतियार बुझाएको थियो ।
सरकारको तर्फबाट वार्ता उपसमितिका संयोजक एवं सभासद ढुङ्गानाले पार्टीको माग संविधानसभामा पेश भएर छलफलको बिषय भइसकेकोले सम्बोधन हुने बताए । संविधानसभाबाट माग टुंगो लाग्ने उल्लेख गर्दै उनले शान्तिपुर्ण राजनीतिमा विश्वास गर्न र राजनीति गर्न पनि सुझाव दिए । साथै उनले नेता, कार्यकर्ताहरुको सुरक्षाको ग्यारेष्टी हुने पनि बताए । कार्यक्रममा वार्ता टोलीका सदस्यहरु धर्मनाथ शाह, शक्तिबहादुर बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी संजय राज शर्माको पनि उपस्थिति थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे