बीपीमा द्धन्दपीडितलाई निःशुल्क उपचार

धरान । सशस्त्र द्धन्दको समयमा अंगभंग एवं घाइते भएका पीडितहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गरिने भएको छ । द्धन्दपीडित घाइतेहरुको उपचारसँगै समाजमा पूर्नस्थापना गराउने उद्देश्य लिएर सरकारले प्रतिष्ठान हातामा अस्पताल सुविधासहितको पूर्नस्थापना केन्द्र निर्माण गरिरहेको छ ।
अपांगमैत्री भनिएको केन्द्र आगामी साउन पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्र निर्माणको कार्य अन्तिम चरणमा रहेको छ भने आवश्यक उपकरणहरु पनि आइसकेको छ । केन्द्र सञ्चालनको तयारी भएसँगै पूर्वाञ्चलभरिका द्धन्दपीडितहरुको संख्या यकिन गर्न मंगलबारदेखि प्रतिष्ठानमा दुई दिने अन्र्तक्रिया शुरु भएको छ । अन्र्तक्रियामा पूर्वाञ्चलभरिको १६ जिल्लाबाट शान्ति समितिका प्रतिनिधि, शान्ति कोष, सत्यनिरुपण तथा मेलमिलाप आयोग, दातृनिकाय युरोपियन युनियनलगायतको सहभागीता रहेको छ । दुई दिने छलफलले पूर्वाञ्चलभरिका वास्तविक द्धन्दपीडित घाइतेको संख्या, घाइतेको प्रकृत्तिबारे थाह हुने शान्ति कोषक सचिवालयकी शाखा अधिकृत रुकु शर्मा पौडेलले बताइन् । ‘केन्द्र सञ्चालनमा आउनै लागेकोले कति र कस्ता प्रकृत्तिका पीडित छन् भनेर थाह पाउन छलफल गरिएको हो, उहाँहरुबाट सुझाव लिएर केन्द्रलाई कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि पनि तयार गछौं’–पौडेलले भनिन् । उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि शुरुवाती चरणमा कोषले सहयोग गर्नेछ भने पछि बीपी प्रतिष्ठान आफैले सञ्चालन गर्नुपर्ने मान्यता रहेको बताइन् ।
केन्द्र प्रतिष्ठानको हाडजोर्नी विभागमातहतमा रहेर सञ्चालनमा आउनेछ । बिशेषज्ञ सेवासहित उपचार र फिजियोथेरापी सेवा पनि यही भवनबाट सञ्चालन हुनेछ । हाडजोर्नी विभागका प्रमुख डाक्टर गुरु खनालका अनुसार द्धन्दकालमा हातखुट्टा गुमाएर अंगभंग भएकाहरुलाई उपचार गर्ने, हात र खुट्टा लगाइदिनेलगायत सम्पुर्ण सेवा दिइनेछ । साथै, पीडितहरु उपचार सकेर घर फर्कदा केही गरिखान सक्ने क्षमता विकास गराउने उद्देश्य पनि केन्द्रको रहेको खनालले बताए । ‘केन्द्र द्धन्दपीडितहरुको लागि मात्रै भनिएको छ, तर हामी प्रकृति प्रकोपबाट घाइते अंगभंग भएका, असहाय र निम्नस्तरकालाई पनि सेवा दिने सोचमा छौं’–खनालले भने–‘सरकारले निःशुल्क भनेर मात्रै हुदैन, बजेट पनि व्यवस्था गर्नुपर्छ । दुई बर्षसम्म निःशुल्क सेवा दिन कम्तीमा ४, ५ करोड लाग्छ ।’
प्रतिष्ठानका उपकुलपति डाक्टर बीपी दासले जनशक्ति र उपकरण भएपनि आवश्यक स्रोत(बजेट) अभावमा केन्द्र सञ्चालनमा समस्या आउनसक्ने भन्दै सहयोग गर्न सरकार र दातृ निकायसँग आग्रह गरे । केन्द्रमा लामो समय बसाएर घाइतेको उपचार गर्नुपर्ने भएकोले आर्थिक सहयोग विना निःशुल्क उपचार गर्न सम्भव नभएको उनको भनाई छ । साथै उनले केन्द्रमा अप्रेशन थिएटर, आइसियु र पोष्ट अपरेशन रुम पनि स्थापना भएमा अन्र्तराष्ट्रियस्तरको सेवा दिन सकिने भएकोले सरकार र दातृनिकायले यसतर्फ बिशेष ध्यान दिनुपर्ने बताए । ‘भवन हस्तान्तरण गरेलगत्तै उपकरणहरु जोड्छौं र सेवा सुचारु हुन्छ । तर, निःशुल्क सेवा दिनुपर्ने भएकोले कसरी दिगोरुपमा सञ्चालन गर्ने भनेर सरकार र दात्तृनिकायले पनि सोचदिनुपर्छ’–दासले भने ।
सशस्त्र द्धन्दकोक्रममा राज्य र विद्रोही पक्षबाट अंगभंग भएका घाइतेहरुको उपचार तथा पूर्नस्थापनाको लागि सरकारले पाँचै विकास क्षेत्रमा पूर्नस्थापना केन्द्र बनाउने योजना बनाएको थियो । तर, सरकारले पूर्वाञ्चलक्षेत्रको लागि धरानस्थित बीपी प्रतिष्ठानमा मात्रै केन्द्र बनेको छ । यही केन्द्रमा नै देशभरीका घाइतेहरुको उपचार गराउने सरकारको योजना छ । हाल यहाँ २५ शैयाको क्षमता छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे