सप्तकोशीमा ‘हाई वाटर’ र्याफ्टिङ शुरु

धरान । गर्मी छल्न धरान हुदै भेडेटारसम्म आउने पर्यटकहरुलाई लक्षित गरी सप्तकोशी नदीमा ‘हाई वाटर’ र्याफ्टिङको शुरु गरिएको छ । धरानस्थित तमोर रिभर एडभेन्चर प्रालिले मनसुन सिजनमा प्याकेज तयार गरेर पूर्वमा पहिलो पटक ‘हाई वाटर’ र्याफ्टिङ शुरु गरेको हो ।
प्रायः हिउदमा मात्रै नदीहरुमा र्याफ्टिङ गरिन्छ । मनसुन सिजन शुरु भएपछि भने ठुला नदीहरुमा बाढी आउने भएकोले र्याफ्टिङ बन्द हुन्छ । तर, प्रालिले सप्तकोशीको तल्लो तटीय क्षेत्रमा सम्भाव्यता अध्ययन गरी बर्षा समयमा पनि ‘हाई वाटर’ र्याफ्टिङ शुरुवात गरेको हो । यो प्याकेजलाई ‘अफ सिजन’ र्याफ्टिङ वा मनसुन र्याफ्टिङ पनि भन्न सकिने प्रालिले जनाएको छ । प्रालिले विगत ९ बर्षदेखि हिउँदमा भने धनकुटाको मुलघाटदेखि सुनसरीको चतराघाटसम्म पर्यटकहरुलाई र्याफ्टिङको मजा चखाउदै आएको छ । यसबाहेक उसले धनुकटाको भडेटार गाविसस्थित सिम्सुवा(नमस्ते) झरनामा पर्यटकहरुलाई क्यानोनिङ र जिप फ्लाइङ पनि गराउदै आएको छ ।
प्रालिले चतराघाटदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको एक दिने प्याकेज र कोशी ब्यारेजसम्मको एक रात दुई दिनको प्याकेज तयार गरेको छ । एक दिनको प्याकेजलाई दुई हजार ५ सय र एक रात दूई दिनको प्याकेजलाई ५ हजार रुपैया शुल्क तोकिएको प्रालिका संस्थापक एवं पर्यटनकर्मी मदन ढकालले बताए । उनका अनुसार एक रात दुई दिनको प्याकेजमा आरक्षमा बास बस्ने र ‘वाइल्ड लाइफ’ नजिकबाट हेर्ने अवसर पनि मिल्नेछ । आरक्ष जंगली भैसी अर्ना र चराचुरङ्गीहरुको बासस्थान हो । ‘कोशी ठुलो नदी भएकोले बर्खामा पनि र्याफ्टिङ सम्भव भयो, यो पूर्वको लागि पर्यटनमा नयाँ प्रोडक्ट हो’–पर्यटनकर्मी ढकालले भने–‘अब कोशीमा बाह्रैमास र्याफ्टिङको मजा लिन सकिन्छ ।’
सोमबार साहसिक पर्यटनआबद्ध संस्थाहरुको टिम एक्स्ट्रीम धरानसँग सहकार्य गरेर ‘हाई वाटर’ र्याफ्टिङको सम्भाव्यता अध्ययन र परीक्षणसमेत गर्दै ‘हाई वाटर’ र्याफ्टिङ शुरुवात गरेको थियो । एक्स्ट्रीम धरानमा र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, हाइकिङ, रोयल इष्ट्रर्न इन्फिल्डर्सलगायत पर्यटनसम्बद्ध संस्थाहरु आवद्ध छन् । ‘बर्षा हुने भएकोले कोशीमा बाढी आउछ र जोखिम छ भन्ने हुन्थ्यो, तर त्यस्तो केही नहुदो रहेछ’–एक्स्ट्रीमका अध्यक्ष लेखमणी जिमीले भने–‘यो सिजनमा भारतीय पर्यटकहरु गर्मी छल्न नेपाल धेरै आउछन्, उनीहरु र विद्यार्थीहरुको लागि हाई वाटर र्याफ्टिङ एकदमै उपयुक्त हुने रहेछ ।’
सेतु उपनामले परिचित र्याफ्टिङका गाइड जीवन सिलवालका अनुसार १० बर्षदेखि ६० बर्ष उमेरसम्मको लागि कोशीमा ‘हाई वाटर’ र्याफ्टिङ उपयुक्त छ । कोशीको तल्लो तटीय क्षेत्रमा खतरनाक र्यापिड छैन । लाइफ ज्याकेट हुने भएकोले पर्यटकहरुले कोशीमा स्विमिङको मजा पनि लिन पाउनेछन् । ‘कोशीको बीच बीचमा रहेको टापुहरु अवलोकन गर्न सकिन्छ, त्यहाँ झरेर रमाउने, फोटो खिच्न पनि सकिन्छ । जताततै हरियाली हुन्छ’–सेतुले भने–‘हिउँदमा तमोरमा ठुला र्यापिड हुने भएकोले केटाकेटी र वृद्धवृद्धाहरुले र्याफ्टिङको मजा लिन पाउदैनन्, तर यहाँ त १० बर्षदेखि ६० बर्षसम्मकाले गर्न सक्छन्, कुनै खतरा हुदैन ।’












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे