नेशनल एकेडेमीले दलित विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता

धरान । नेशनल एकेडेमी उच्चमावि धरान २ ले तीन जना दलित विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । दलित सेवा संघ र उच्चमाविबीच सोमबार तीन जना गरिब तर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने तीन बर्षे सम्झौता भएको छ ।
संघका जिल्ला अध्यक्ष मणिराज सुनाम र उच्चमाविका सञ्चालक समिति अध्यक्ष देव सुब्बाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार विद्यालयले हरेक बर्ष एक जना जेहेन्दार तर विपन्न अवस्थाका दलित विद्यार्थीलाई निःशुल्क पढ्ने अवसर दिनेछ । यस्ता विद्यार्थी सुनसरी वा पूर्वाञ्चलका दलित समुदायको हुने दुवै पक्षको भनाई छ । उच्चमाविले व्यवस्थापन संकायमा छात्रवृत्ति उपलब्ध गराएको हो । सम्झौता अनुसार हरेक बर्ष एक जना दलित विद्यार्थी भर्ना हुनेछन् । तीन बर्षसम्म छात्रवृत्ति पाएको विद्यार्थीहरुको लगनशिलता र परीक्षाको नजिता मुल्यांकनको आधारमा सम्झौता १० बर्षसम्म बढाउन सकिने दुवै पक्षबीच मौखिक सहमति भएको संघले जनाएको छ ।

नेशनल एकेडेमीका सञ्चालक समिति अध्यक्ष सुब्बाले आर्थिक विपन्नताकै कारण जेहोन्दार विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर छात्रवृत्ति उपलब्ध गराएको बताए । ‘शिक्षा क्षेत्र व्यावसाय मात्रै भयो र विद्यार्थी वस्तुकोरुपमा भयो भन्ने व्यापक टिकाटिप्पणी हुन्छ । तर हामी संस्थागत विद्यालयहरुको राष्ट्र, समाजप्रति पनि जिम्मेवार छौं है भन्ने सन्देश दिने पनि यो प्रयास हो’–उनले भने । संघका अनुसार शिक्षा विभागको पछिल्लो तथ्यांक अनुसार प्राथमिक तहमा १९ दशमलव ९५ प्रतिशत मात्रै दलित समुदायको भर्नादर छ भने उच्च शिक्षा आइपुग्दा घटेर ६ दशमलव ७५ प्रतिशतमा पुगेको छ ।
Comments
Post a Comment