अझै तयार भएन धरान रंगशाला


धरान । मंसिर दोस्रो साता मिति तय भएको सातौं राष्ट्रिय खेलकुद आयोजना गर्न पूर्वाधार निरीक्षण गर्न प्राविधिकसहित धरान १६ स्थित रंगशाला पुगेका राखेप सदस्य सचिव केशव विष्ट आफै अचम्मित भए । यसको कारण थियो, परिषद आफैले दुई पटक म्याद थपेर पनि रंगशालाको पश्चिमपटि निर्माणाधिन भिआइपी प्याराफिट अझै बनिसकेको थिएन ।
सातौं खेलकुद आयोजना अघि प्याराफिटको काम सकेर रंगशाला तयार हुन्छ कि हुदैन भन्नेमा सदस्य सचिव विष्ट आफै अन्यौलमा परे । ‘रंगशालाको काम मंसिरमा सकिन्छ कि सकिदैन म यसै भन्न सक्दिन, त्यो प्राविधिकहरुलाई सोध्नुपर्छ । तर, यहाँ सातौं खेलकुद हुने सम्भावना मैले देखिन’–निरीक्षणपछि पत्रकारहरुसँग विष्टले भने । परिषदले मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको छ ।
सातांै खेलकुद पूर्वाञ्चलमा हुने पक्का भएदेखि नै यहाँका खेलाडी र प्रशिक्षकहरुले उद्घाटन वा समापन मध्ये कुनै एक समारोह धरानमा आयोजना गर्नुपर्ने आवाज उठाउदै आएका थिए । पछिल्लो समय समापन समारोह धरानमा हुने लगभग निश्चित भएको थियो । सपमान समारोहको लागि पनि रंगशाला तयारी हुनु आवश्यक छ । तर, स्वयम सदस्य सचिवले नै धरान रंगशालामा सातौं खेलकुद तयार नहुने मंगलबार स्पष्ट संकत दिइसके । भिआइपी प्याराफिटको काम ढिलाई भइरहेको प्रति असन्तुष्टी व्यक्त गर्दै विष्टले काम चाडै सक्न नयाँ प्रक्रियाबाट जानेसमेत घोषणा गरे । ‘काम ढिलाई भइरहेको देखे, ठेकेदारले काम गरेको रहेनछ । कुन विधिबाट पारदर्शी र छिटो हुन्छ, म त्यो अपनाउछुँ । सबै सम्झौता रद्द गरेर नयाँ प्रक्रियाबाट शुरु गर्छु’–सदस्य सचिव विष्टले भने ।
गुरुयोजना तयार गरेर रंगशालाको स्तरोन्नति गर्न थालेको चार बर्षबढी भइसकेको छ । निर्माण कार्य सम्पन्न नहुदा मोफसलको प्रतिष्ठित बुढासुब्बा गोल्डकपको चार वटा सँस्करण धरान १७ स्थित उमेर समुहलाई प्रशिक्षण दिलाउने पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा भयो । सातौं खेलकुदको समापन कार्यक्रमको दाबी गरिरहेको धरानले समापन समारोहलाई पनि एन्फा टेक्निकलको मैदानमा नै आयोजना गर्नुको विकल्प नभएको जिल्ला खेलकुद विकास समितिका सचिव कुमार पोख्रेलको भनाई छ । ‘भरसक रंगशालामा नै गर्ने हो, नभए एन्फाको मैदानमा नै हुन्छ’–उनले भने ।
गुरुयोजनाअन्र्तगत रंगशाला क्षेत्रमा हालसम्म सेमी कवर्ड हल र मैदानमा उत्तरतर्फको जेनरल प्याराफिटको एक भाग मात्रै तयार छ । पश्चिमतर्फ भिआइपी प्याराफिट अघिल्लो आर्थिक बर्ष (०७१ असार)मै निर्माण सम्पन्न भइसक्नु पथ्र्यो । तर, ठेकेदारले ढिलाई गर्यो । परिषदले ठेकेदारलाई ६ महिना म्याद थप्यो, समयसिमाभित्र काम सकिएन । पुनः ५ महिनाको म्याद थपियो । गएको जेठ १५ मा ठेकेदारको म्याद सकिएपनि भिआइपी प्याराफिट बनिसकेन । त्यसयता, ठेकेदार नै सम्पर्कविहिन छ । ‘दुई पटक म्याद थपेर पनि भिआइपी प्याराफिट बनेन, अब पुरानो ठेक्का ब्रेक गरेर नयाँ ठेक्का प्रक्रियामार्फत नयाँ ठेकेदारबाट काम हुन्छ’–परिषदका साइड इञ्जिनियर पुर्ण सुन्दासले भने ।
भिआइपी प्याराफिट परिषदले क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरी आफैले केन्द्रीयस्तरमा ठेक्का आह्वान गरेर निर्माण गरिरहेको हो । करिब हजार दर्शक अट्ने क्षमताको संरचनासहित भुइतलामा बाथरुम, सौचालय, वेटिङ, चेञ्जिङ, डाक्टर, रेफ्रीलगायत ७ कोठा निर्माण हुने भनिएको छ । यो करिब एक करोड ४२ लाख रुपैयामा ठेक्का लागेको हो । रंगशालाको पूर्वतर्फ अर्को जेनरल प्याराफिट पनि बनिरहेको छ । यसको भने मंसिरसम्म म्याद रहेको र तोकिएको समयमा नै निर्माण भइसक्ने इञ्जिनियर सुन्दासले बताए । उनका अनुसार गुरुयोजनावमोजिम अझै इनर ड्रेन, आउटर ड्रेन, ट्रयाक एण्ड फिल्ड, फिल्ड फिनिसिङ, जनरल प्याराफिट बन्न बाँकी नै छ । क्षेत्रीय रंगशाला विवादले बजेट फ्रिज हुदै गएपछि धरान र इटहरीबीच बजेट आधा आधा उपभोग गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार अहिले धरान र इटहरीमा रंगशाला निर्माणको काम भइरहेको छ ।
स्थानीय खेलकर्मीहरुले भने परिषदले जिल्ला समिति र स्थानीय सरोकारवालाहरुसँग कुनै समन्वय नै नगरी ठेक्का लगाउने र निर्माण गर्ने गरेकोले पूर्वाधार निर्माणको काम सुस्त भएको गुनासो पोख्दै आएका छन् । मंगलबार मन्त्रालय र परिषदसँगको अन्र्तक्रियामा पनि स्थानीय खेलकर्मीहरुले यो कुरा उठाए । जवाफमा सदस्य सचिव विष्टले विगतमा के भयो, आफुलाई जानकारी नभएको तर अबदेखि स्थानीयस्तरबाट नै ठेक्का र निर्माणको काम हुने प्रतिवद्धता जनाए । ‘सबै काम केन्द्रले गर्ने हो भने स्थानीयको सहभागीता हुदैन, र काममा लापरवाही हुन्छ । अबदेखि ऐन, नियमले तोकेकोबाहेक सबै काम स्थानीयस्तरबाटै हुन्छ, उपभोक्ता समिति बनाएर नै हुन्छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे