पर्यटन विकास एवं प्रर्वद्धन गर्न पर्यटन मन्त्रीसक्षम एमालेको माग


धरान । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको जिकिर गर्दै एमाले धरान नगर कमिटिले पर्यटन मन्त्री कृपासुर शेर्पासमक्ष अधिकार सम्पन्न वृहत्तर विजयपुर विकास समिति गठन गर्न माग गरेका छन् । शुक्रबार धरान आएका मन्त्री शेर्पालाई पार्टी कार्यालयमा स्वागत गर्दै पर्यटन विकास एवं प्रर्वद्धनको लागि गर्नुपर्ने कामको १० वटा बुँदाहरु बुझाउदै एमालेले समिति गठनको छुट्टै माग गरेको हो ।
एमालेले धरानमा निर्माणाधिन बहुजातीय संग्रहालयलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पनि माग गरेको छ । मन्त्रालयले संग्रहालय निर्माणको लागि बार्षिकरुपमा ५० लाख मात्रै विनियोजन गर्दै आइरहेकोमा बजेट बढाएर चाडै निर्माण सम्पन्न गर्न पनि आग्रह गरेको छ । मन्त्री शेर्पालाई एमाले नगरअध्यक्ष तारा सुब्बाले माग पत्र पेश गरेका थिए । धरान १४ स्थित ऐतिहासिक विजयपुरगढीमा पौराणिक तथा ऐतिहासिक महत्वका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिर छ भने किरात राजा हाङ बुद्धिकणको दरबारको भग्नावशेष पनि रहेको छ । यस्तै, आदिबासी जनजाति महासंघले विजयपुरमा नै बहुजातीय संग्रहालय पनि निर्माण गरिरहेको छ ।
‘हामीले अधिकार सम्पन्न विजयपुर विकास समिति गठनको माग गरेका हौं, समिति गठन भएपछि बार्षिकरुपमा बजेट विनियोजन हुन्छ र विकास निर्माणसँगै पर्यटन प्रवद्धनको कामले गति लिन्छ’–एमाले नगरउपाध्यक्ष नारायण सुवेदीले भने–‘यसले समग्र धरानको पर्यटन प्रर्वद्धन र विकासमा महत्वपुर्ण योगदान पुग्नेछ भन्ने ठानेर नै माग गरेका हौं ।’ उनका अनुसार संग्रहालयले पनि धरानको गरिमा बढाउने भएपनि बजेट अभावले निर्माण ढिलाई भइरहेकोले राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरिएको हो ।
यस क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि कोशी पर्यटन कार्यालय धरानमा स्थापना गर्न, इलामदेखि सुनसरीको बराहक्षेत्रसम्मको महाभारत पर्वतीय भु भाग समेटर महाभारत पर्वतीय पयर्टन विकास समिति गठन गर्नुपर्नेलागयत थप १० बुँदे सुझाव एमालेले मन्त्री शेर्पालाई बुझाएको छ । पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा मन्दिरलाई राष्ट्रिय सम्पदाको सुचीमा सुचीकृत गर्नुपर्ने, बराहक्षेत्र र विष्णुपादुकाको धार्मिक पर्यटनलाई वृद्धि र विकास गर्न सुर्द खोलामा २ वटा पुल निर्माण गरी सडकको स्तरोन्नती गर्नुपर्ने र पुरात्तत्व विभागको क्षेत्रीय कार्यालय धरानमा स्थापना गर्न पनि सुझाएको छ । यसैगरि, सोही कार्यक्रमा नै आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीले पनि मन्त्री शेर्पालाई ज्ञापनपत्र बुझाउदै बहुजातीय संग्रहालयको लागि बजेट बृद्धि गर्न माग गरेको छ । अध्यक्ष खम्बासिं गुरुङका अनुसार ६ करोड लागत अनुमान गरिएको संग्रहालयलाई सरकारले बार्षिक ५० लाख मात्रै दिने गरेको  छ ।
मन्त्री शेर्पाले वृहत्तर विजयपुर विकास समिति गठन गर्न तत्काल सम्भव नभएपनि बहुजातीय संग्रहालयको बजेट बृद्धि गर्न सकरात्मक प्रतिक्रिया दिए । ‘समिति गठन तत्काल सकिदैन, नसकिने कुरा म हुन्छ पनि भन्दिन’–मन्त्री शेर्पाले भने–‘तर, बहुजातीय संग्रहालयलाई बजेट बढाउन सम्बन्धीत निकायसँग छलफल गर्छु । ६ करोडको योजना बार्षिकरुपमा ५० लाख मात्रै दिदा त १२ बर्ष लाग्ने रैछ, यो त धेरै ढिला भयो ।’ पार्टी कार्यालयमा स्वागतअघि एमालेले मन्त्री शेर्पालाई निर्माणाधिन बहुजातीय संग्रहालय र एयारपोर्टको जग्गा पनि अवलोकन गराएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे