आत्मविश्वासले बनायो प्रशिक्षक
धरान । जिल्लामा महिलाहरुको लागि कुनै सीपमुलक तालिम आयोजना हुदैछ भने त्यहाँ नछुट्ने प्रशिक्षकको नाम हो रुक्मिणी कोइराला । मधेशा ७, सुनसरीकी ५४ बर्षीय कोइरालाको हातमा धेरै सीप छ । त्यही सीपको कारण उनी फुर्सदमा बस्नु परेको छैन ।
कहिले उनी प्रशिक्षक बनेर जिल्लाको दक्षिणी भेग साहेबगञ्ज, देवानगञ्ज, कप्तानगञ्जरित पुगेकी हुन्छिन् भने कहिले उत्तरी क्षेत्र इटहरी र धरानतिर सीप सिकाउन पुग्छिन् । छिमेकी जिल्ला मोरङको विराटनगरमा पुगेर पनि उनले थुप्रै पटक आफ्नो ज्ञान बाडिन् । उनी अवस्था हेरेर मात्रै प्रशिक्षक शुल्क लिने बताउछिन् । आफुबाट सिकेकाहरुले गरिखाएको देख्दा उनलाई सन्तुष्टी मिल्छ । प्रशिक्षार्थी महिलाहरुबाट पाउने माया, सम्मान नै उनको सबैभन्दा ठुलो पारिश्रमिक हो । ‘प्रशिक्षण दिन धेरै तिर जान्छु । कति ठाउँमा त शुल्क पनि लिन्न । सिकेकाहरुले गरिखाएको देख्दा मनमा सन्तुष्टी मिल्छ’–एकल महिलाहरुलाई धरानमा च्याउ खेती तालिम दिन आउदाको भेटमा उनले भनिन् ।
यो अवस्थासम्म आइपुग्न भने उनले धेरै पापड बेल्नु पर्यो । श्रीमान्को मृत्यु हुदा मात्रै उनी २१ बर्षकी थिइन् । साथमा डेढ डेढ बर्षको दुई छोरा र एक छोरी थिए । अझ छोरी त डेढ महिना मात्रै पुगेकी थिइन् । जीवनका रथ भर्खरै अघि बढ्दै गर्दा आइपरेको ब्रजपातले उनी निक्कै हतास भइन् । ‘श्रीमान् खसेपछि ४ बर्ष कृर्षि शाखामा जागिर खाए, नानीहरुको हेरचाह गर्न समय नभएपछि छोडिदिए’–उनले विगत सम्झदै भनिन्–‘जागिर छोडेपछि त झण्डै बौलाए, तर मान्छे दुःखले नै गरिखादो रहेछ ।’
०५८ सालतिर उनले जिविसबाट कटिङ सिक्ने अवसर पाइन् । सिके पछि उनी त्यतिकै बसिनन् । जिविसबाट ३ वटा र आफैले ५ वटा मेशिन थपेर लगत्तै घरमा टेलरिङ व्यावसाय शुरु गरिन् र सिकाउन पनि थालिन् । उनको सीप सिक्ने क्रम यतिमै रोकिएन । कुनै सीपमुलक तालिम हुदैछ भन्ने थाह पाउनुबित्तिकै उनी खाजा आफै बोकेर सिक्न पुग्थिन् । त्यही भएर टेलरिङबाट शुरु भएको उनको सीप यात्रा स्क्वास, जाम, अगरबत्ति, मैनबत्ति, अचार, च्याउ खेतीलगायत आधा दर्जन बढी पुग्यो ।
अहिले उनी यिनै बिषयमा प्रशिक्षक बनेर गाउँ शहरका महिलाहरुलाई सिप सिकाउछिन् । आफुजस्तै एकल महिलाहरुको लागि सिप बाँच्ने आधार हुने उनको भनाई छ । ‘यो दिनसम्म आइपुग्न धेरै गाह्रो भयो । मैले शुरुमा बाध्यताले सिकेर केही गरौं भनेर लागिपरे । पछि अरुलाई सिकाउदै गए’–उनले भनिन्–‘महिलाहरुलाई यस्तो सिप सिक्न अतिआवश्यक छ ।’
उनले गाउँघरमा समुह बनाएर स्क्वास बनाएर बेचिन् । जहाँ जहाँ प्रशिक्षण दिन जान्छिन्, त्यहाँ समुह बनाएर उत्पादन शुरु गर्न प्रेरणा दिन्छिन् । च्याउ खेती गरेर कुनै समय दैनिक ३० किलोसम्म बिक्री पनि गरिन् । समुहमा मिलेर सिजनअनुसार स्क्वास, मैनबत्ति, अगरबत्ति, जामलगायत उत्पादन गरेर बिक्री गर्न सहज हुने उनको भनाई छ । ‘सिकाउन गएको ठाउँमा समुह बनाइदिन्छौं र मिलेर गर्छन्’–उनले भनिन् ।
Comments
Post a Comment