सातौं खेलेकुदको समापन धरानमा गर्न माग

धरान । धरानका खेलकर्मीहरुले सातौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रम धरानमा गर्न माग गरेका छन् । खेलको पूर्वाधार अध्ययन गर्न आएको खेलकुद मन्त्रालय र राखेप टोलीसँगको अन्र्तक्रियामा धरानका खेलाडी, प्रशिक्षकहरु यस्तो माग गरेका हुन् ।
उनीहरुले बक्सिङ, कराते, साइक्लिङ, बास्केटवल, पौडी, गल्फलगायत खेलहरु पनि धरानमा आयोजना गर्न माग गरेका छन् । सुनसरी जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष नरेन्द्र चोङवाङले धरानमा समापन कार्यक्रम गर्ने भनेर निर्णय भइसकेको दाबी उक्त निर्णय कार्वान्वयन हुनेमा आशावादी रहेको बताए । एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले जिल्लास्तरमा खेलको विकास गर्न नीति, कार्यक्रम र बजेट पनि आउनुपर्ने उनले बताए ।
सुनसरी बक्सिङ संघका अध्यक्ष देवेन्द्र लिम्बूले पूर्वाधार भएकोले धरानमा बक्सिङ खेल आयोजना गर्न माग गरे । सितेरियो करातेका प्रशिक्षक दिपेश शाक्य मुकेशले नेपालमा करातेको जन्म धरानमै भएको र खेलाडी, प्रशिक्षक, पूर्वाधार पनि भएकोले यही आयोजना गर्न आग्रह गरे । सुनसरी साइक्लिङ एशोसिएशनका अध्यक्ष श्याम तामाङले पर्याप्त पूर्वाधार भएकोले साइक्लिङ धरानमा गर्न उपयुक्त रहेको सुझाव दिए । बास्केटवलका पूर्वाञ्चल सह प्रशिक्षक विकास राईले धरानमा कम्तीमा ३० वटा बास्केटवल कोर्ट भएको यही आयोजना गर्न सकिने बताए ।
सदस्य सचिव विष्टले कुन खेल कहाँ उपयुक्त छ भनेर प्राविधिक अध्ययन टोलीले सिफारिश गर्ने भएपनि धरानमा पौडी र गल्फ हुने निश्चत भएको बताए । कराते धरानमा गर्ने कि भरौलमा निर्माणधिन कवर्ड हलमा गर्ने भनेर खेलकर्मीहरुले नै निर्णय गर्नुपर्ने बताए । उनले झापाको चन्द्रगढी, दमक र काकडभिट्टा, सुनसरीको धरान र इटहरी, मोरंगको विराटनगर, उदयपुरको गाइघाट, सिरहा, सप्तरीसँगै पहाडलाई पनि सातौं खेलकुदको अनूभुति दिलाउन तेह्रथुमको वसन्तपुरमा पनि कुनै न कुनै खेल आयोजना गरिने प्रष्ट्याए । ती मध्ये काकडभिट्टामा चेस, गाइघाटमा ह्याण्डवल, सिरहामा कवड्डी लगभग पक्का भइसकेको उनको भनाई थियो ।
पूर्वमा रहेको खेलको भौतिक पूर्वाधारको निरीक्षण र सम्भाव्यता अध्ययनसँगै स्थानीय खेलकर्मीहरुसँग अन्र्तक्रिया र सुझाव लिइरहेको टोलीले जनाएको छ । ‘सातौं खेलकुद भव्य, सभ्य र व्यवस्थितढंगबाट पूर्वमा सम्पन्न गर्न लागिपरेका छौं, त्यसैको लागि के कस्ता पूर्वाधारहरु छन्, कहाँ कुन खेल आयोजना गर्न उपयुक्त हुन्छ भनेर अध्ययन गर्न र खेलकर्मीहरुको सुझाव पनि लिन्छौं’–सदस्य सचिव विष्टले भने ।
 सातौं खेलकुदको लागि पूर्वाधार अध्ययन गर्न मन्त्रालयका सहसचिव चुडामणि पौडेल, राखेप सदस्य सचिव केशव विष्टसहित एक दर्जन पूर्वमा छन् । टोलीले सिरहा, सप्तरी, सुनसरीमा पूर्वाधार निरीक्षण गरिसकेको जनाएको छ । परिषदले यसअघि नै मंसिर ११ देखि १८ सम्म सातौं राष्ट्रिय खेलकुदको मिति तय गरिसकेको छ । साउन ९ गतेभित्र सबै जिल्ला खेदकुद विकास समिति गठन भइसक्ने उल्लेख गर्दै विष्टले भदौ अन्तिम साता जिल्ला छनौट र असोज अन्तिम साता क्षेत्रीय छनौट प्रतियोगिता आयोजना हुने पनि जानकारी दिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे