धरानमा ‘ग्रिन सिटी, क्लिन सिटी’को अभियान
धरान । सफा शहरको परिचय बनाएको धरान उपमहानगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नागरिकस्तरबाट ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान शुरु गरिएको छ । लायन्स क्लब अफ धरान बुढासुब्बाले ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणा तयार गरेर अभियान शुरु गरेको हो ।
यो अभियानलाई अझ वृहत बनाउन र मुर्तरुप दिन लायन्सले उपमहानगरपालिकालाई गुरुयोजना तयार गर्नसमेत सुझाएको छ । यसबारेमा उपमहानगरसँग पनि छलफल र समन्वय भइरहेको लायन्सले जनाएको छ । ‘धरानले पर्यटनबाट आफुलाई स्थापित गर्नसक्ने धेरै सम्भावनाहरु छन्, यसको लागि पनि ग्रिन सिटी, क्लिन सिटी अभियानले थप मद्दत पुर्याउनेछ’–लायन्सका अध्यक्ष देव सुब्बाले भने–‘यो हामीले शुरुवात गरेपनि नागरिकस्तरकै अभियान हो, धरानभित्र रहेको वातावरण, शिक्षा, सरसफाई क्षेत्रमा सक्रिय सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्नेछौं ।’
अभियानको शुरुवात गर्दै लायन्सले शनिबार धरान १५ स्थित निराजन मार्गमा अढाई सय वटा अशोकको विरुवा रोपेको छ भने निराजन कल्याण मसाज, निराजन मार्ग उपभोक्ता समितिलगायतसँग समन्वय गरेर ती विरुवाको संरक्षण पनि आफैले गर्ने घोषणा गरेको छ । धरानमा रहेका अन्य ३ वटा लायन्स क्लबसँग सहकार्य गरेर बार्षिकरुपमा कम्तीमा एक हजार बोटविरुवा रोपेर संरक्षण पनि गर्ने लायन्स क्लब अफ धरान बुढासुब्बाले जनाएको छ । शहरको सडक पैदल यात्री मैत्री हुनुपर्ने र सडक किनारमा विरुवा रोप्न प्रोत्साहित गर्नुपर्ने अवधारणा पनि लायन्सले अघि सारेको छ । विश्वविद्यालय, कलेज र विद्यालयहरुमा वोटानिकल गार्डेन वा वालमैत्री फुलवारी हुनुपर्ने, हरेक वडामा वाल उद्यान र वृद्धवृद्धाहरुको लागि पार्क बनाउनुपर्ने, हरियालीयुक्त मिनि चिडियाघर, सर्दु र सेउती किनारमा तटबन्ध गरेर कटान रोक्न वृक्षरोपण गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन एवं विर्सजनको लागि पनि अभियान चलाउनुपर्नेलगायत लायन्सले अवधारणा अघि सारेको छ ।


Comments
Post a Comment