वन्यजन्तु अंगको तस्करलाई उन्मुक्ति


खाँदबारी(संखुवासभा) । गएको बर्ष भदौ १४ गते साँझ करिब ६ बजे मोटरसाइकलमा सवार खाँदबारी नगरपालिका १ नयाँ बस्तीका छिरिङ भोटेलाई एक बोरा सतुवा(जंगली जडिबुटी)सहित प्रहरीले पक्राउ गर्यो । लगत्तै, प्रहरीले उनको घरमा छापा मारेर थप १७ बोरा सतुवा वरामद गर्यो । रात परिसकेकोले वरामदी मुचुल्का गरेर जिल्ला प्रहरी कार्यालय संखुवासभाले तत्काल उनलाई हिरासतमा लियो ।
उज्यालो भइनसक्दै छिरिङ पक्राउ परेको खबर डढेलोसरि फैलिसकेछ । छिरिङ पक्राउ परेको खबरले वन्यजन्तुको अंग र जडिबुटीको अवैध कारोबार(तस्करी) गर्नेहरु त तर्सिने भइहाले । तर, सरकारी निकाय जिल्ला वन कार्यालय, मकालु वरुण राष्ट्रिय निकुञ्ज र प्रशासन पनि झस्कियो । यसको कारण थियो, पक्राउ परेका छिरिङ भोटे(वास्तविक नाम छिरिङ रिदर भोटे) जिल्ला वन मातहतको पावा खोला इलाका वन कार्यालयका वन रक्षक थिए । वनमा सरुवा हुनुअघि उनी निकुञ्जमा गेम स्काउटकोरुपमा काम गरिसकेका थिए । भोलीपल्ट पत्रकार र वन कर्मचारीको रोहबरमा प्रहरीले १८ बोरा सतुवा(अन्दाजी ४३३ केजी ९ ग्राम) खन्याएर चेकजाच गर्दा एउटा बोरामा लुकाई राखेको लोपोन्मुख कस्तुरीको विना(३७.११ ग्राम) फेला परेको थियो । सतुवाभित्र विना लुकाएर चीनतर्फ लैजाने तयारी थियो ।
‘यो घटनाले हामीलाई झस्कायो, किनभने उनी पहिला यही निकुञ्जकै कर्मचारी थिए । वनमा यहीबाट गएका हुन्’–निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहले भने–‘अहिले हामी बढी नै अलर्ट छौं, यसमा दुई मत छैन ।’ चीनसँग सिमाना जोडिएको हिमाली जिल्लामध्ये संखुवासभाको किमाथांका गाविस नेपालको एक नाकामा मध्येमा पर्छ । यो नाकाबाट जडिबुटीको अवैध कारोबार र लोपोन्मुख वन्यजन्तुको बहुमुल्य अंगको तस्करी चीनतर्फ भइरहेको छ । हिमाली विकट क्षेत्रमा राज्य प्रशासनको कमजोर उपस्थितिको फाइदा तस्करहरुले उठाइरहेको छ । त्यतिमात्रै होइन, तस्करीलाई नियन्त्रण गर्नुपर्ने निकाय(वन)कै कर्मचारीले सघाउ पुर्याइरहेको तथ्य पनि छिरिङ पक्राउको घटनाले उजागर गर्यो ।
०६८ साल यताको रेकर्ड हेर्दा वन्यजन्तु अंगको तस्करीको १४ वटा घटनालाई जिल्ला प्रहरी र वन कार्यालयले नियन्त्रणमा लिन सफल भएको देखिन्छ । प्रहरीले रतुवा मृगको छाला, निगाले बाघको छाला, बाघको पुरै शरीरको छाला, बाघको टाउको, भालुको पञ्जा र पित्त, कस्तुरीको विना, सालकको खपेटा, रक्तचन्दनसमेत वरामद गरेको छ । प्रहरीका अनुसार जे जति पक्राउ पर्यो, ती सबै चीनतर्फ लैजाने तयारी थियो । यही समयमा डेढ दर्जन बढी कारोबारीहरु पक्राउ परे । तर, कसैलाई पनि कडा दण्ड सजाय भएन । मुद्दा फैसला भएकालाई जिल्ला वनले सामान्य जरिवाना लिएर छोडेको देखिन्छ । ‘तस्कर नै कम पक्राउ पर्छन्, त्यसमाथि वनले कडा सजाय नदिई छोडिदिदा तस्करी गर्नेहरुकै मनोवल बढ्छ’–जिल्ला प्रहरी कार्यालयका एक अधिकृत भन्छन् ।
जिल्ला वनले गरेको फैसलाको रेकर्ड हेर्दा भालुको ४ थान पञ्जा र ११० ग्राम पित्तसहित समातिएका रमेश राईसहित ९ जनालाई जिल्ला वनले जनही ५ हजार रुपैया मात्रै जरिवाना लिएर छाडेको देखिन्छ भने रतुवा मृगको छाला ओसारपासारमा संलग्न खड्गबहादुर राईलाई ५ हजार जरिवाना र ११ दिन कैद मात्र फैसला भएको छ । यस्तै, सालकको खपटा, दुम्सीको काँडा, बाघको दुधको डल्लो, भालुको पित्तलगायत लुकाईपिछाई राखेको अभियोगमा समातिएका जेनजेन भोटे र छाङ छेजर भोटेलाई पनि वनले जनही ५ हजार मात्र जरिवाना लिएको छ । ध्वासे चितुवाको छालासहित पक्राउ परेका डिल्लीराम गुरुङ र १४ केजी ५ सय ग्राम सालकको खपटासहित समातिएकी देवकी भन्ने मनकुमारी राई जनही एक एक लाख जरीवाना तिरेर छुटेको देखिन्छ ।
कस्तुरीको विनासहित समातिएका वन रक्षक छिरिङसहितको ४ वटा मुद्दा भने विचाराधिन भएपनि छिरिङ पुनरावेदन अदालत धनकुटाको आदेशअनुसार छुटिसकेका छन् । वन्यजन्तु अंगको कारोबारीलाई जिल्ला वन कार्यालयले नै अनुसन्धान, मुद्दा दर्ता र फैसला गर्ने कानुनी अधिकार छ । वन्यजन्तु अंगको तस्करीमा संलग्नलाई सामान्य जरिवाना लिएर छोडिनुलाई वन अधिकारी भने कानुनले दिएको ‘तजविजी अधिकार’को प्रयोग भन्छन् । जिल्ला वन अधिकृत पञ्चलाल शाहका अनुसार ऐनले नै न्युनतम र अधिकतम जरिवानाको सिमा तोकेको छ । यसैको फाइदा तस्करहरुले उठाउने गर्छन् । जरिवाना वा कैद वा दुवै भनेर दण्ड सजायको कानुनी व्यवस्था गरिएकोले यही प्रावधानलाई टेकेर फैसला गरिएको हुनसक्ने उनले बताए । ‘मुद्दा दायर गर्दा अधिकतम मागदाबी हुन्छ, तर फैसला न्युनतम मात्रै हुन्छ, कतिलाई त सफाई पनि हुनसक्छ’–जिल्ला वन अधिकृत शाह भन्छन्–‘ऐनले नै सिमा दिएको छ, यतिदेखि यतिसम्म जरिवाना वा कैद वा दुवै भनेर । यो तजविजी अधिकार हो ।’ वन कार्यालय आफैले अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र फैसला पनि आफैले गर्ने कानुनी व्यवस्थालाई चैनपुरस्थित सरकारी वकिल कार्यालयका एक वकिल प्राकृत्तिक न्यायको सिद्धान्त विपरीत भएको बताउछन् । ‘कानुन नै तस्कर मैत्री छ जस्तो छ, दण्ड सजायमा ‘र’ भइदिए हुन्थ्यो । ‘वा’ भनेर पर्याप्त खेल्ने ठाउँ दिइएको छ । वन आफै अनुसन्धान गर्ने, मुद्दा दायर आफै गर्ने र आफै फैसला पनि गर्छ । यो त प्राकृत्तिक न्यायको सिद्धान्त विपरीत हो’–नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने ।

                           वन कर्मचारी जोगाउने खेल 

छिरिङ पक्राउ परेको थाह पाउनुबित्तिकैे आफ्नो कर्मचारी भएको र सतुवा सोलुखुम्बुबाट छुटपुर्जीसहित ल्याएकोले वैध भएको दाबी गर्दै वन कार्यालयले छोडिदिन प्रहरीलाई दबाब दियो । प्रहरीले एक पटक बोरा खन्याएर सतुवा जाँच गरेर मात्रै छोड्ने अडान लिएर बोरा खोल्यो । एउटा बोरामा बहुमुल्य कस्तुरीको विना फेला परेपछि घटनाले अर्कै मोड लियो । छिरिङ तत्काल छुटेनन् ।
 सतुवामा विनासमेत भेटिएपछि वन रक्षक छिरिङ समातिएको घटना जिल्लामा ‘हाइ प्रोपाइल केस’कोरुपमा चर्चा पायो । सबैको चासो र दबाब परेपछि वनले धरौती वा जरिवानामा छोड्ने आँट गरेन । ०७१ असोज ७ मा पुपुक्षमा थुनामा राख्ने निर्णय गर्यो । छिरिङले वेरितको निर्णय खारेजीको माग गर्दै पुनरावेदन अदालत धनकुटामा निवेदन दिए । पुनरावेदनले कार्तिक २० गते जिल्ला वनको निर्णय वेरितको देखिएको भन्दै २ लाख जमानत लिएर तारेखमा राख्न आदेश दियो । पुनरावेदनको यो आदेश पछि छुटेका छिरिङ अहिले सिद्धपोखरी इलाका वन कार्यालयमा कार्यरत छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कस्तुरीको विना राख्ने, खरीद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पचास हजार रुपैयादेखि एक लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैददेखि पन्ध्र बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
छिरिङ पुनरावेदनको आदेशले छुटेको देखिएपनि उनलाई छुटाउन ठुलो चलखेल भएको स्रोतको दाबी छ । छिरिङलाई जोगाउन वनले शुरुबाटै प्रयास गरेको देखिन्छ । छिरिङ समातिएपछि उनको घरमा डेरा गरी बस्ने वाङदा भोटेलाई सतुवाको कारोबारीको रुपमा उभ्याइएको छ । वाङदा नातामा छिरिङको साला पर्छन् । उक्त सतुवा छिरिङले नभई वाङदाले नै सोलुखुम्बुका गोपालचन्द्र राईको नाममा छोटपुर्जी रहेको ४८० केजी संखुवासभा मगाएको वयान दिएको वन कार्यालयको दाबी छ । घटना पछि फरार रहेको भनिएका वाङदा र गोपालचन्द्र पछिल्लो पटक ०७२ बैशाख १७ मा उपस्थित भएर वयान दिए र सोही दिन जनही २ लाख जमानीमा छुटे । वनको अर्को कतुर्त भनेको कस्तुरीको विनामा अभियोग लगाइए पनि विना लुकाउन प्रयोग गरिएको सतुवामा अभियोग दाबी नै नगर्नु हो । पुनरावेदनको आदेशमा यो कुरालाई पनि आधार मानेको छ ।
 यस्तै, पुनरावेदनले भदौ १४ गते सतुवा वरामद हुदाको अवस्थामा वरामदी मुचुल्कामा कस्तुरीको विना वरामद भएको उल्लेख भएको नदेखिएको र कस्तुरीको विना वरामद भएको मिति भदौ १५ को मुचुल्कामा अदालती वन्दोवस्ती १७२ को रित नपुर्याई प्रतिवादी छिरिङ रिदर भोटेलाई रोहबरमा नरोखेको भन्दै जिल्ला वनको आदेश वेरितको देखिएको भन्दै वदर गरेको उल्लेख छ । जबकी, १५ गते विना वरामद हुदाको मुचुल्काको रोहबरमा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी पछि दोस्रो पानामा उनै छिरिङलाई रोहबरमा राखिएको छ । पुनरावेदन सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मुकुन्दप्रसाद अधिकारीले पनि यो घटनामा अनुसन्धानको क्रममा नै प्रक्रियागत त्रुटी देखिएको बताए । अनुसन्धान गर्दा रिपोर्ट, मुचुल्का, वयान गराउने सिक्वेन्स नमिलेको उनको भनाई छ ।
...........

                            प्रहरी पनि शंकाको घेरामा

यही असार ३ गते नुम गाविसको मुढे भन्ने स्थानबाट ११ टुक्रा(१४६ केजी) रक्तचन्दन पक्राउ गर्यो । ग्राबेल बाटोको ह्युम पाइपभित्र ६ वटा कालो रगको झोलामा लुकाई राखेको रक्तचन्दन भएको हल्ला भएपछि प्रहरीले वरामद गर्यो । केही समय पछि हटिया ८ का छिरिङ वङडाक भोटे र चेपुवा २ का तेम्बा भोटे उक्त काठ हाम्रो हो भन्दै आएपछि प्रहरीले पक्राउ गर्यो ।
उनीहरु नुमबाट उम्कन सकेको भए गोला भन्ने स्थानमा मात्रै चेकपोष्ट थियो । त्यसपछि रक्तचन्दन पक्राउ गर्ने सम्भावना नै थिएन । पक्राउ परेकाहरुले काकडभिट्टाबाट खरीद गरेर ल्याएको वयान दिएपछि चार जिल्ला पार गरेर संखुवासभाको नुमसम्म पुग्नुले प्रहरीमाथि नै शंका उब्जाएको छ । ‘काकडभिट्टाबाट त्यत्रो बाटो सजिलै कसरी कटाउन सक्यौ भन्दा उनीहरुको आसय बाटोमा प्रहरीले नभेटेको होइन, मिलायौं भन्ने थियो’–जिल्ला वनका एक कर्मचारी भन्छन्–‘नुममा पनि झोलाको राखेको काठ छरिएर खल्लीखल्ली भयो र मिलाउने सम्भावना नभएर समातिएको हो । जिम्मेवार सुरक्षा निकायको सेटिङ विना सम्भव नै छैन ।’ माथिल्लो लेभलमा सेटिङविना झापा, मोरङ, सुनसरी र धनकुटा जिल्ला कटाउदै संखुवासभाको उत्तरी गाविस नुमसम्म रक्तचन्दन पुर्याउन सम्भव नै नहुने उनको दाबी छ ।
डिएसपी कमल थापा भने प्रहरी सक्रियताकै कारण वन्यजन्तुको अंग र अवैध जडिबुटी तस्कर धमाधम पक्राउ परेको र पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको दाबी गर्छन् । रक्तचन्दनको तस्करहरु सल्बलाउने प्रयास गरेपनि पक्राउ परेपछि त्यो समुह अहिले गायब भएको उनले बताए । ‘रक्तचन्दनको यो टोली सफल भएको भए जुन रुटबाट नुम पुगेको थियो, त्यो रुट प्रयोग गर्ने योजना रहेछ । पुराना समुह सक्रिय हुनखोजेको देखियो’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे