साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्न हेल्प डेस्क


धरान । साना तथा मझौला उद्यम, व्यावसायलाई प्रोत्साहन एवं प्रर्वद्धन गर्न धरानमा बिजनेश हेल्प डेस्क स्थापना गरिने भएको छ । डेस्क सञ्चालनबारे सुनसरी उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघअन्र्तगतको महिला उद्यम विकास समितिबीच मंगलबार सम्झौता भएको छ ।
 समितिले साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्न सुनसरीमा बिशेष कार्यक्रम पनि लागु गर्दैछ । समितिले मंगलबार धरानमा महिला उद्यमी प्रर्वद्धन सम्बन्धी छलफल आयोजना गरि कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रम सबै साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य भएपनि सुनसरीमा भने महिला उद्यमीहरुमा केन्द्रीत रहने बताइएको छ ।
महासंघकी केन्द्रीय सदस्य तथा समितिकी अध्यक्ष कमला श्रेष्ठका अनुसार आइएलओसँगको सम्झौता अनुरुप यो कार्यक्रम सुनसरीसँगै मोरङ, कास्की र चितवन जिल्लामा पनि लागु भएको छ । यो कार्यक्रमले साना तथा मझौला उद्यमीहरुलाई संगठित गर्ने, तथ्यांक संकलन गर्ने, क्षमता विकासलगायतका तालिमहरु सञ्चालन गरेर उद्यमशील बन्न प्रोत्साहित गर्ने श्रेष्ठले बताइन् । ‘कतिपय साना उद्योगहरु घरबाटै चलिरहेको छ, उहाँहरुलाई दर्ता प्रक्रियामा ल्याएर कर, सहुलियतपुर्ण ऋणबारे जानकारी दिन्छौं । लेखा,बजार प्रर्वद्धन जस्ता तालिम दिएर क्षमता बढाउन प्रोत्साहित पनि गछौं’–श्रेष्ठले भनिन् ।
हाल कार्यक्रम पहिलो चरणमा रहेकोले सर्वेको काम मात्रै भइरहेको समितिले जनाएको छ । कार्यक्रम लागु भएको ४ वटा जिल्लाबाट ६० जना साना तथा मझौला उद्यमीलाई छनौट गरेर क्षमता विकास अभिवृद्धि गर्न तालिम दिलाउने समिति अध्यक्ष श्रेष्ठले बताइन् । उनका अनुसार जिल्ला संघ र महासंघबीचको समन्वयमा हेल्प डेस्क पनि सञ्चालन आउनेछ । धरानमा उद्यमीहरु संगठित भएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठले क्षमता बढाउन र आफ्नो अधिकारप्रति सचेत गराउन तालिमको आवश्यकता महसुस गरेको पनि बताइन् ।
तीन दिनअघि सुनसरी उद्योग वाणिज्य संघको पहलमा धरानका साना तथा मझौला उद्यमीहरु संगठित भएका थिए । ब्युटिपार्लर व्यावसायी सन्ध्या श्रेष्ठको संयोजकत्वमा विभिन्न उद्यम गरिरहेका महिलाहरुको १३ सदस्यीय महिला उद्यमी प्रर्वद्धन तदर्थ समिति गठन भएको थियो । धेरै क्षेत्रका महिला उद्यमीहरु समेटिएर पहिलो पटक संगठित भएकोले धेरै उत्साह मिलेको संयोजक श्रेष्ठले बताइन् । तदर्थ समिति सदस्य सविता राईले महिलाहरुलाई विना धितो ऋण, राजश्वय छुटजस्ता बिशेष सहुलियत राज्यबाट प्राप्त भए उद्यमशील बन्न थप प्रोत्साहन मिल्ने बताइन् । ‘संगठित भएकोले महिलाहरुलाई प्रोत्साहन गर्न पहल हुनुपर्छ’–उनले भनिन् ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले समिति गठन र प्रर्वद्धन कार्यक्रम शुरु भएपछि निष्क्रिय रहेका सुनसरीका महिला उद्यमीहरु सक्रिय हुने अपेक्षा व्यक्त गरे । ‘यो प्रर्वद्धन कार्यक्रम हो, त्यसैले साना र घरेलु उद्यम गरिरहेका महिलाहरु सक्रिय हुने अपेक्षा छ’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे