धरान घुमाउन ‘नाइन प्वाइन्ट’ निर्धारण


धरान । पर्यटकीय केन्द्रकोरुपमा धरानलाई विकास गर्ने उद्देश्यले यहाँका सरोकारवालाहरुले विभिन्न ९ वटा पर्यटकीय गन्तव्य(नाइन प्वाइन्ट)को छनौट एवं निर्धारण गरेका छन् । स्थानीयस्तरमा पर्यटनबारे चासो बढ्दै गएको र धरान घुम्न आउने पर्यटकहरुको संख्या पनि वृद्धि हुदै गएको बेला गन्तव्य छनौट गरिनु फलदायी हुने पर्यटनकर्मीहरुको भनाई छ ।
पर्यटकीय गन्तव्यको पहिचान एवं निर्धारण गर्न शनिबार सुनसरी पर्यटन प्रर्वद्धन समितिले धरानमा एक गोष्ठीको आयोजना गरेको थियो । सोही गोष्ठीबाट धरानभित्रका विभिन्न ९ स्थानलाई वैज्ञानिक विधिमार्फत पर्यटकीय गन्तव्यको प्राथमिकतामा राखेर छनौट गरिएको समितिले जनाएको छ । गोष्ठीमा ४६ वटा गन्तव्यहरु छलफलको क्रममा पेश भएको थियो । समितिका अनुसार ती मध्ये ऐतिहासिक विजयपुरगढीमा अवस्थित बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर प्राथमिकतामा परेको छ भने तीनकुने जंगलमा अवस्थित शनि मन्दिर, धरान ५ स्थित गीता भवन(मन्दिर), भानुचौकस्थित घण्टाघर, धरान १६ स्थित इस्कोन मन्दिर, धरान १८ स्थित विपि प्रतिष्ठान र गल्फ मैदान पनि नाइन प्वाइन्टमा समेटिएको छ ।
यी मध्ये बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, गीता भवन धार्मिक पर्यटकीय हिसाबले धरानको मुख्य गन्तव्यमा पर्छ भने शनि मन्दिर र इस्कोन पनि पछिल्लो समय चर्चामा छ । यस्तै, शैक्षिक र स्वास्थ्य उपचारको केन्द्र बनेको बीपी प्रतिष्ठान तथा प्रतिष्ठान अन्र्तगतको गल्फ मैदान खेल र प्राकृतिक सौन्दर्यले धरान घुम्न आउने पर्यटकहरुलाई लोभ्याउदै गएको छ भने भानुचोकमै उभिएको घण्टाघर सबैमा नजरमा हुन्छ । पर्यटनकर्मी एवं व्यावसायीहरुले धरान आएका पर्यटकहरुलाई एकीकृत प्याकेजकोरुपमा बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले गन्तव्य(प्वाइन्ट) निर्धारण गरिएको समितिका अध्यक्ष एवं होटल व्यावसायी शिवराज श्रेष्ठले बताए । उनका अनुसार ऐतिहासिकता, पूर्वाधार, सुरक्षा, प्रसिद्धिलगायत आधारमा ९ प्वाइन्ट निर्धारण गरिएको हो । ‘धरान घुम्न आउने पर्यटकहरुलाई कहाँ घुम्ने भन्ने द्धिविधा नहोस् भनेर प्वाइन्ट निर्धारण गरिएको हो, पर्यटन व्यावसायीहरुले पाहुनालाई प्याकेजकोरुपमा यी प्वाइन्ट छन् भन्दै घुम्न जान प्रेरित गर्नेछन्’–श्रेष्ठले भने ।
धरानमा २०३० सालदेखि नै पर्यटनको चर्चा शुरु हुन थालेको थियो । ०३० सालमा धरानको पर्यटनलाई व्यवस्थित गर्न तत्कालीन नगर पञ्चालयतले गाइड प्रकाशित गरेको थियो । तर, अपेक्षितरुपमा धरानको पर्यटनले गति लिन सकेको थिएन । पछिल्लो समय भने सरोकारवाला निकायहरु सक्रिय भएसँगै धरानको पर्यटनले पनि गति लिन थालेको हो । ‘कोही बीपी प्रतिष्ठान आएका होलान्, कोही गल्फमा त कोही बुढासुब्बा मात्रै पुग्ने भनेर आएका हुन्छन् । त्यसरी बिषयगतरुपमा आउने बाहेक धरानमा विदा मनाउने गरि आउने पर्यटककोलागि नाइन प्वाइन्ट निर्धारण गरिएको हो’–सेक्ष ट्राभलिङसम्बद्ध पर्यटन व्यावसायी वासुदेव वरालले भने–‘अब यी प्वाइन्टलाई होटल, ट्राभल र यातायात व्यावसायी मिलेर मार्केटिङ गछौं, धरानमा घुम्ने यी ठाउँहरु छन् है भन्छौं ।’
  धरान उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले संस्थागतरुपमा योजनासहित प्रस्ताव आएमा नीति एवं बजेट तर्जुम गर्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे । ‘धरानको पर्यटन विकास र प्रर्वद्धनमा नगरपालिका सदैव सकरात्मक छ र सक्दो सहयोग गरिरहेको पनि छ । यसरी संस्थागतरुपमा सबै मिलेर योजनासहितको प्रस्ताव आउदा हामीलाई बजेट, नीति बनाउन झनै सहयोग पुग्छ’–उनले भने । पर्यटनविद् कृष्ण शाहले पर्यटन विकासको लागि धरान उपमहानगरपालिकाले पहल गरिरहे पनि संस्थागत हुन नसक्दा प्रतिफल पाउन नसकेको बताए । साथै उनले नीतिगत स्पष्टताको आवश्यकता पनि औल्याए । पत्रकार भवानी वरालले धरानभित्र प्याकेजकोरुपमा बिक्री गर्नसकिने गन्तव्यस्थल रहेकोले सामुहिक पहलको खाँचो रहेको बताए । एमाले नगर सचिव राजमणी निरौलाले पर्यटन धरानको पहिचान हुनसक्ने प्रशस्तै आधारहरु रहेकोले यसको विकास र प्रर्वद्धन गर्न जरुरी रहेको बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे