कष्टकर चैनपुर–टुटेदेउराली यात्रा(फोटोफिचर)


चैनपुर(संखुवासभा),असार २० । संखुवासभाको हेवा खोलामा सञ्चालित वरुण हाइड्रो पावरका प्राविधिक मेघराज बस्नेत(राहुल) सामान लिन बेला बेला धरान, विराटनगरतिर गइरहनुपर्छ । कम्पनीको आफ्नै गाडी छ । उनी त्यसैमा जान्छन् । हिउँदमा त ठिकै हो तर, जब बर्षा शुरु हुन्छ जम्माजम्मी ६ घण्टाको बाटो तय गर्न उनलाई ‘ठुलो युद्ध जिते’ झै लाग्छ ।
यसको कारणको सडकको दुरावस्था । सडक हिलाम्य हुन्छ । गाडी फसेपछि हत्तपत्त निकाल्न सकिदैन । ‘सकेसम्म यो बाटो हिड्नै नपरोस् भन्छु, तर अफिसको कामले नहिडि पनि हुन्न’–शनिबार धरान जादै गरेका बस्नेतले भने–‘कहिले हाम्रो गाडी फस्छ, कहिले अरु बस, ट्रक फसेर घण्टौं रोकिनुपर्छ ।’ उनका अनुसार जरुरी कामले हिडेका, वृद्धवृद्धा र विरामीहरुको लागि यो बाटो बर्षायाममा अभिसाप हो । गत भदौंमा उनी आफै दुर्घटनामा परेपछि उपचार गर्न धरान झार्नु पर्यो । तर, चैनपुर–टुटे देउराली सडकखण्डको साम्सा भन्ने ठाउँमा गाडी फस्यो । उनीहरु रातभर भोकै त्यही बसेर भोलीपल्ट मात्रै जानसके । ‘मेरो हात, अनुहार जलेको थियो । चैनपुरमा प्राथमिक उपचार गरेर झरेको थिए, अरु झनै गम्भीर विरामी फसेको भए त ज्यानै जानेथियो नि’–पुरानो घटनालाई उनले सम्झिए ।
कोशी राजमार्गको संखुवासभा जिल्लामा पर्ने टुटेदेउराली–चैनपुर सडकखण्ड ४ बर्षअघि नै पक्की बनेको हो । तर, ठेकेदारको लापरवाही र सडक डिभिजन कार्यालयको वेवास्ताले सडक कमसल बन्यो । पक्की बनेको सडक एकबर्ष पनि टिकेन । देउरालीदेखि चैनपुरसम्मको ४७ किलोमिटर सडक बनिनसक्दै भत्कन थाल्यो । जहीत्यही खाल्डो छ । बर्षा याममा सडक हिलाम्य बन्छ । हिउदभर धुलो खादै बस यात्रा गर्ने सर्वसाधारणहरु बर्खा याममा भने ज्यानै जोखिममा पारेर यात्रा गर्छन् । ठाउँ ठाउँमा गाडी फसेर घण्टौं रोकिन्छन् । यात्रु आफै झरेर बस तान्नुपर्छ, धकेल्नुपर्छ । नसके ट्याक्टर झिकाएर तान्नुपर्छ । ट्याक्टरलाई थप खर्च हुन्छ । चैनपुरबाट धरान झर्न ६ घण्टा समय लाग्ने हो, तर एक दिन माया मार्नुपर्छ । कहिले काही फसेको गाडी निस्कदैन । समयमा गन्तव्यमा पुगिदैन । सदरमुकाम खादबारीबाट धनकुटा, धरानतिर झर्न तुम्लिङटार–हिले सडकखण्ड पनि विकल्पमा छ । तर, त्यहाँ ट्याक्सी मात्रै चल्छ ।
जोगवनी–किमाथांका नाकालाई जोड्ने भनेर चर्चित यो सडकखण्ड ०६० सालतिरै एक लेनको ट्याक खुलेको हो । ट््रयाक खुलेसँगै सडक पक्की हुने र दुःख, कष्टबाट पार पाउने स्थानीयमा आशा जागेको थियो । नभन्दै ०६८÷०६९ तिर सडक पिच बन्न थाल्यो । स्थानीयबासीमा खुशी छायो । तर, त्यो खुशी एक बर्ष पनि टिकेन । ‘पिच बन्दा अब हाम्रो जीवन पनि फेरिन्छ कि भन्ने आशा थियो, एक बर्षमै निराशामा वदलियो । यो सडक हाम्रो लागि अभिसाप झै बन्यो’–चैनपुर ४, चिप्लिङस्थित भगवती माविका प्रअ माधवप्रसाद गौतमले भने–‘जरुरी काम लिएर हिडेको, कहिल्यै समयमा गन्तव्यमा पुगिएन । धरानसम्म ६ घण्टाको बाटो छ, तर काठमाण्डांै पुग्नुभन्दा बढी समय लाग्छ ।’
प्रअ गौतमका अनुसार मापदण्डअनुसार ठेकेदारले सडक पक्की नबनाउदा जनताले यस्तो कष्ट व्यहोर्नु परेको हो । कमिशनको खेलमा अनुगमन गर्ने सरकारी निकायले पनि वास्ता नगरेको उनको आरोप छ । ‘मापदण्डअनुसार बनेको भए त यस्तो हुने नै थिएन । सबै कमिशनको खेल भयो । आफ्नो लगानीमा बनेपछि सरकारले पनि काम ठिक भएको छ छैन भनेर हेर्नुपथ्र्यो, तर अनुगमन नै भएन’–उनले भने ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी गंगा क्षेत्रीले खराब बाटोले जनतालाई दुःख भएको स्वीकार गर्दै सडक मर्मतको जिम्मा लिएर पनि काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्न सडक डिभिजनलाई निर्देशन दिएको बताए । उनका अनुसार पोहोर सालदेखि नै ठेक्का सम्झौता भएर पनि काम भने भएको छैन । ‘पोहोरदेखि नै ठेक्का सम्झौता भएको छ, तर काम भएकै छैन । त्यस्ता ठेकेदारलाई म्याद थप्नु भन्दा ब्लाक लिष्टमा राख्नुस् र नयाँ प्रक्रियामा जानुस् भनेको छुँ’–प्रजिअ क्षेत्रीले भने । डिभिजन सडक कार्यालय तुम्लिङटारका डिभिजन प्रमुख इष्टनाथ ओझाले शुरुवातमा नै गतिलो काम नहुदा सडकको यो दुगति भएको बताउछन् । सडक बनाउन लापरवाही गर्ने ठेकेदारलाई नै उसैको पैसाले पुनः सडक बनाउन लगाएपनि काम नगरिदिएको प्रमुख ओझाले बताए ।
उनका अनुसार पोहोर सडक डिभिजन कार्यालय धनकुटाले यो सडकको ठेक्का सम्झौता गरेपनि काम पुरा गरेन भने यो बर्ष डिभिजन सडक कार्यालयले ७ वटा खण्डमा विभाजन गरेर सडक बनाउन सम्झौता भएपनि काम भएन । ‘यो बर्ष २ करोड जति बजेट छुट्टिएको थियो, ७ खण्डमा ठेकेदारसँग सम्झौता गरेपनि ढिलाई गर्यो । यो बर्ष मेशिन राखेर फसेको गाडी पास गराउने योजना छ’–डिभिजन प्रमुख ओझाले भने–‘काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने सोचमा छौं, हामी सिफारिश गछांै ।’ थोरै बजेटले सडकको स्तरोन्नति हुन नसक्ने भएकोले गत असोजमा नै ३० करोड बजेटको माग गर्दै विभागमा प्रस्ताव पेश गरेको उनको भनाई छ । यो बर्ष काम नभएपनि आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन गर्न विभागसँग माग गर्ने उनले बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे