शिक्षक-शिक्षिकालाई छाता, विद्यार्थीलाई छात्रवृत्ति(फोटोफिचर)


धरान । विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भनेर अभिभावक, शिक्षक सबै कक्षा कोठामा भेला भएका थिए । औपचारिक कार्यक्रम शुरु भइसकेपछि उद्घोषकले विद्यार्थीलाई भन्दा पहिला शिक्षक, शिक्षिकाको नाम उद्घोष गरे । विद्यालयका चारै जना शिक्षक, शिक्षिका पनि अचम्म मान्दै पालैपालो अभिभावक, विद्यार्थीको अघि उभिए । आयोजकले सबैलाई उपहार स्वरुप छाता निकालेर दिए ।
बिहिबार सम्यक शिक्षा समुहले धरान १५ खोरिया वस्तीस्थित जनता प्राविका विद्यार्थीलाई छात्रवृत्ति मात्रै दिएन, शिक्षक शिक्षिकालाई प्रोत्साहनस्वरुप उपहार पनि दियो । छात्रवृत्तिले सामुदायिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न प्रेरणा दिनेछ भने उपहारले शिक्षक, शिक्षिकालाई विद्यालय र गुणस्तरीय शिक्षाप्रति थप जिम्मेवार बनाउने अपेक्षा लिएको छात्रवृत्ति वितरक संस्थाले जनाएको छ । ‘राम्रो पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिन्छौं, यसले विद्यार्थीहरुमा पढाईप्रति अभिरुचि बढाएको पाएका छौं । छात्रवृत्ति नपाउनेले पनि राम्रो पढ्नुपर्ने रहेछ भन्ने भावना बनाउने गरेका छन्’–सम्यक शिक्षा समुहका पूर्वअध्यक्ष एवं सम्यक छात्रवृत्ति परियोजनाका निर्देशक सन्दिप शाक्यले भने–‘शिक्षक शिक्षिकालाई पनि उपहार दिदा थप जिम्मेवार बनाउने रहेछ ।’
यो समुहले विगत दुई दशकदेखि शिक्षा र बिषेश गरी नैतिक शिक्षाको क्षेत्रमा सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ । समुहले नै धरान १७ स्थित सुकुम्बासी बस्ती उदय टोलमा सम्यक शिक्षा प्रावि सञ्चालन गरेको थियो भने अहिले समुदायलाई हस्तान्तरण गरिसकेको छ । यस्तै, बासको टाटी र टिनको बेरामा पढाई भइरहेको खोरिया बस्तीस्थित जनता प्राविको भवन पनि समुहकै पहलमा पक्की बनेको थियो । गरिब एवं निम्म आर्थिक अवस्था भएका परिवारको छोराछोरी पढ्ने यही दुई विद्यालयमा बर्षमा २ पटक समुहले छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । समुहका पूर्वअध्यक्ष शाक्यको पहलमा विगत तीन बर्षअघिदेखि यो परियोजना शुरु भएको हो ।
यो परियोजना विदेशी दातृ निकाय एवं संघसंस्थाको सहयोगले चलेको भने होइन । ‘परियोजना भनेको सुन्दा ठुलै रकम सहयोग आउदो रहेछ जस्तो लाग्छ, तर त्यस्तो होइन । छात्रवृत्ति निरन्तर दिउ भनेर परियोजना भनिएको हो । यसमा म, समुहका सदस्यहरु र विदेशमा रहनुभएका धराने, धरान बाहिरका नेपाली महानुभावहरुको निःश्वास्र्थ सहयोग छ’–निर्देशक शाक्यले भने–‘एक जना बच्चा बराबार २५ सय रुपैया उठाउछौं, सहयोग आएको आम्दानी र खर्च लेजरमा राख्छौं, दाताले जतिबेला पनि आएर हेर्नसक्नुहुन्छ । कुन बच्चालाई के सहयोग भयो भनेर हिसाब पारदर्शीरुपमा राखिदिन्छौं ।’ उनका अनुसार परियोजनालाई धरान दुबई हेल्पिङ ह्याण्ड्स, धराने आउट अफ धरान कतारसहित विभिन्न मुलुकमा रहेका नेपालीहरुले सहयोग गरको छन् । पहिलो बर्ष २२ जना र दोस्रो बर्ष २६ जनालाई छात्रवृत्ति दिइएको थियो ।
समुहले बुधबार उदयटोलस्थित सम्यक प्राविका २६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्यो भने बिहिबार खोरिया बस्तीका २६ जना विद्यार्थीहरुलाई नै छात्रवृत्ति प्रदान गर्यो ।

विद्यालयमा राम्रो नजिता ल्याउन सफल र पढाईमा सुधार गरेको विद्यार्थीको रेकर्ड हेरेर मात्रै ६÷६ महिनामा छात्रवृत्ति दिइने गरेको छ । छात्रवृत्ति स्वरुप विद्यार्थीहरुलाई स्कुल ब्याग, कापी, पेन्सिल, ईरेजर, स्केल, कलरपेन, सापनर, कलर कपि, फोल्डिङ छाता प्रदान गरिएको थियो । यस्तै, अन्य विद्यार्थीहरुलाई पनि समुहले कपि, पेन्सिल प्रदान गरेको थियो । दाताकै इच्छा अनुसार सम्यक प्राविका ४ जना शिक्षक शिक्षिकालाई प्रोत्साहन रकम पनि दिइदै आएको समुहले जनाएको छ । छात्रवृत्ति वितरणमा नेपाल भारत मैत्री संघका अध्यक्ष मुकुल कायस्थ, मिस एसएलसी २०१५ एलिसा सुब्बा, मिस एसएलसी २०१४ की विजेता रिया बजाज, परियोजना निर्देशक शाक्यलगायतले छात्रवृत्ति प्रदान गरे । जनता प्राविका प्रअ केशर कार्कीले छात्रवृत्ति पाउदा विद्यार्थीहरु विद्यालय र पढाईप्रति आकर्षित भइरहेको बताए । ‘नियमित विद्यालय आउने र राम्रो पढाई गर्नेले छात्रवृत्ति पाउछन्, त्यसैले विद्यार्थीहरुमा यसले गर्दा परिवर्तन आएको छ’–उनले भने ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे