पण्डित छविलाल र मिरालाई सम्झदै युवा कलाकारहरु(फोटोफिचर)


धरान । उन्नाइस बर्षीय रोमन राई जति स्केच(आर्ट) गर्दै गए, ती वृद्ध मुहारचित्रप्रति उनको सम्मानभाव झन् बढ्दै गयो । धरान ९ शिवप्रकाश पथस्थित एक घरको भित्तामा वृद्धको मुहार चित्र बनाइनुअघि भने रोमनलाई उनी को हुन् भन्नेसम्म थाह थिएन ।
ती वृद्ध मुहारचित्र स्वर्गीय पण्डित छविवाल पोख्रेलको हो । यसकारण, अहिले रोमन आफुलाई भाग्यमानी ठान्छन् । पण्डित छविलाल पोख्रेल, जसले हिुन्दु धर्मले जरा गाडेको समयमा पनि जातपात हेरेनन् र, सबैलाई शिक्षा दिलाउनुपर्छ भनेर स्कुल खोल्न, अनि पढाउन जुटे । बाहुनमा सिमित सँस्कृत विद्या राई, लिम्बु, मगर,गुरुङलगायत जनजाति र दलितलाई पनि पढाए, वैदिक मन्त्र सिकाए । अछुत भनिएका दलितहरुलाई सार्वजनिक बाटो हिडाउने र पढाउने हिम्मत गरे । दलितको घरमा पुराण वाचनसमेत गरे । वालिका शिक्षा शुरु गरे । उनका यी काम तत्कालीन समाजले पचाउनै सक्दैनथ्यो । ‘उहाँले धेरै समाज सुधारको काम गर्नुभएको रहेछ, अहिले पो थाह भयो । अब अरुले पनि थाह पाउनेछन् जस्तो लाग्छ’–पण्डित पोख्रेलप्रति नतमस्तक हुदै कलाकार रोमनले भने ।
धनकुटाको कचिञ्डेमा वि.स.१९६२ मंसिरमा जन्मिएका पण्डित पोख्रेलले धरानमा पनि शैक्षिक विकास र समाज सुधारमा धेरै योगदान दिएका थिए । उनको विद्धता देखेर कसैले पुर्वका व्यास भन्थे भने कसैले समाज सुधारक र विद्धान समाजसेवी पनि भन्थे । ०५६ फागुन १ मा देहान्त भएपछि धरानले पण्डित पोख्रेललाई बिर्सदै गयो । उनको योगदानहरु पनि विस्मृत हुदै गयो । नयाँ पुस्ताले त उनलाई चिन्दा पनि चिन्दैनन् । पण्डितका कान्छा छोरा नारायण पोख्रेलका अनुसार धरानमा बुवाको स्मृतिमा एउटा सडकको पनि नामाकरण भएन ।
धरानले मात्र होइन, राष्ट्रले नै बिर्सेका तिनै पण्डित पोख्रेललाई युवा कलाकारहरुले सम्झिएका छन् । स्ट्रिट(अर्बन)आर्ट गरिरहेका युवा कलाकारहरुले धरान ९ स्थित एक घरको भित्तामा पण्डित पोख्रेलको मुहारचित्र उतारिरहेका छन् । पोख्रेलसँगै अल्ट्रा रेसकी धावक मिरा राईलाई पनि कलाकारहरुले भित्तामा कोरिरहेका छन् । धाविका राईले अन्र्तराष्ट्रियस्तरमा विभिन्न प्रतियोगिताहरु जितेर नेपाललाई चिनाउन सफल भएकी छिन् । भोजपुरमा जन्मिएकी उनी एक समय विद्रोही माओवादी लडाकुसमेत थिइन् । दुवैको चरित्रलाई दर्शाउने गरि कलाकारहरुले लेखेका छन्, दुरदर्शी–प्रगतिशिल । दुई पात्रबाहेक धरान चिनाउने घण्टाघर, बुढासुब्बा मन्दिर पनि छ । ‘पण्डित छविलाललाई समाजले पनि विर्सदै गएको रहेछ, त्यसैले उहाँको स्केच बनाउदैछौं । मिरा अहिले युवा पुस्तको लागि प्रेरणदायी पात्र छिन् । समाजले उनीहरु को हुन्, किन स्केच गर्यो भनेर वहस गरोस् भन्ने उद्देश्य पनि हो’–सिनियर डिजाइनर श्रृजन श्रेष्ठले भने ।
करिब तीन बर्षअघि शुरु भएको स्ट्रिट आर्ट कल्चरलाई विस्तार गर्ने क्रममा आर्ट ल्याबसम्बद्ध कलाकारहरु प्रसाद प्रोजेक्ट लिएर एक साताअघि धरान आएका हुन् । उनीहरुले दुई दिनसम्म धरानका १८ जना कलाकारहरुलाई स्ट्रिट आर्टको कलाबारे सिकाए । अहिले त्यही सिपलाई युवा कलाकारहरुले ओपन ग्यालरी(घरको भित्ता)मा पोखिरहेका छन् । निराश भएर बसेका युवाहरुलाई सृर्जनात्मक कार्यमा सहभागी गराउने र सक्रिय रहन प्रेरणा दिने उद्देश्यले प्रसाद प्रोजेक्ट देशव्यापी बनाएको आर्ट ल्याबका प्रबन्ध निर्देशक रोमेल भटराईले बताए । उनका अनुसार युवाहरु निराश भई विदेश जाने र देशमै पनि केही नगरी बस्ने गरेकोले स्ट्रिट आर्टको माध्यमबाट आशावादी बनाउने अभियान थालिएको हो ।
 ‘युवाहरुलाई सकारात्मक सोच र सृर्जनात्मक बनाउने उद्देश्यले स्ट्रिट आर्टबारे ज्ञान, सिप बाढ्दै हिडिरहेका छौं । आर्टको माध्यमबाट संवाद होस् भन्ने पनि उद्देश्य हो’–भटराईले भने । धरानमा प्रशिक्षण दिलाउन राजधानीबाट भटराईसँगै किरण मर्हजन, सुर्जन श्रेष्ठ, अमोक पराजुली, विवेक थापा, अरिन श्रेष्ठ, सञ्जय डंगोलको आएका छन् । आर्ट ल्याबले स्ट्रिट आर्टलाई निरन्तरता दिने कलाकारहरुलाई छनौट गरेर स्रोत, सामाग्री उपलब्ध गराउने र दोस्रो चरणमा दिगोपना वर्कशपमा पनि सहभागी गराउनेछ भने डिसेम्बरभित्र प्रसादको स्ट्रिट आर्ट प्रर्दशनी पनि आयोजना गर्ने योजना बनाएको जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे