पिण्डेश्वरमा बोलबम मेलाको तयारी
धरान,असार २८ । पिण्डेश्वर बाबाधाम समिति आउदो साउन महिनाभर धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम (मेला)को तयारीमा जुटेको छ । समितिले एक सय एक जनाको मुल आयोजक समिति गठन भएको र विभिन्न उपसमितिहरु गठन गरेर बोलबमको भव्य तयारी भइरहेको जानकारी दिएको छ । बोलबम शुरु हुनु एक साता बाँकी छ ।
समितिले पत्रकार सम्मेलन गर्दै यसबर्ष श्रद्धालु भक्तजनहरुलाई सुरक्षालाई बिषेश ध्यान दिएको जनाएको छ । यस्तै, अत्यधिक भिड हुने भएकोले ढोका बाहिरबाटै जल चढाउने बिशेष व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । समितिले कोठा उपलब्ध गराएपछि त्यहाँ अस्थायी प्रहरी पोष्टकोरुपमा ५ जना प्रहरी महिना दिनसम्म सुरक्षाको लागि रहने सुरक्षा निकायसँग सहमति भएको समितिले जनाएको छ । यस्तै, सशस्त्र प्रहरी पनि नियमितरुपमा खटिनेछन् ।

बाबाधाम समितिका अध्यक्ष गौरीशंकर अग्रवालले अन्य शिवालयमा पनि जल चढाउने चलन शुरु भएपनि पिण्डेश्वरमा जल चढाउनु धार्मिक हिसाबले ठुलो महत्व रहेको बताए । समुन्द्र मन्थनको क्रममा शिवजीले कालकुट बिष पिएको र देवतालाई अमृत वितरण गर्नुअघि छानेको तर र छोक्रालाई पिण्डको आकारमा शिवजी स्थापना गरि देवताहरुले नै पवित्र नदीबाट जल ल्याएर चढाएका थिए । शिवजीको घाटिमा रहेको बिषको प्रभाव कम गर्न पिण्डमा जल चढाउन थालेदेखि नै यहाँ(पिण्डेश्वर) जल चढाउने प्रचलन शुरु भएको अग्रवालको भनाई छ ।
‘त्यतिमात्रै होइन, त्रिपुरासुर दैत्यको बध गरेपछि रौद्र रुपधारी शिवजी यही ठाउँमा आउदा रिस शान्त भएको थियो, र उहाँको आँखाबाट हर्षका आँसु झरेको थियो । त्यही आँशु रुद्राक्षकोरुपमा यहाँ उत्पत्ति भएकोले यो क्षेत्रलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ’–अग्रवालले भने–‘यो महत्व भारतीय भक्तजनहरुलाई पनि बुझाउन सक्यौं भने धेरै धार्मिक पर्यटकहरु भित्र्याउन सक्छौं ।’ पिण्डेश्वरमा शिवजीलाई जल चढाएपछि सतीदेवीको दाँत खसेको दन्तकाली मन्दिरमा दर्शन गर्दा लाभ हुने भन्दै भक्तजनहरुलाई यहाँका अन्य धार्मिक मठमन्दिर घुम्न पनि प्रेरित गरिने अध्यक्ष अग्रवालले बताए ।
यहाँ ०३९ सालदेखि समितिले निरन्तर जल चढाउने व्यवस्थापन गर्दै आइरहेको छ । यहाँ नेपालका विभिन्न स्थानसँगै भारत, भुटानबाटसमेत मनोकांक्षा पुरा हुने आशामा भक्तजनहरु जल चढाउन आउछन् । भक्तजनहरु आइतबार चतरास्थित सप्तकोशीमा जान्छन् र त्यहाँबाट जल बोकेर मध्यरातमा पैदल धरान आउछन् । सोमबार बिहान मन्दिरको ढोलका खुलेपछि जल चढाउने गर्छन् । साउन महिनाभर लाखौं भक्तजनहरुले पिण्डेश्वरमा जल चढाउछन् ।
पार्किङ निःशुल्क वा व्यवस्थित गर्न निर्देशन

इलाका प्रशासन कार्यालयका प्रमुख सिताराम कार्कीले पार्किङ सकेसम्म निःशुल्क गर्न, समिति आफैले व्यवस्थापन गर्न वा जिल्ला प्रशासनबाट स्वीकृति लिएर वैधानिक संस्थालाई मात्रै जिम्मा दिन निर्देशन दिएका छन् । ‘सकेसम्म समिति आफैले व्यवस्थान गर्नुहोस, निःशुल्क होस । त्यसरी सकिदैन भने दर्ता भएको, नविकरण भएको, बार्षिक प्रतिवेदन बुझाएको कुनै एउटा संस्थालाई राम्रो उद्देश्यको लागि सशुल्क व्यवस्थापनको जिम्मा दिनुहोस’–उनले भने–‘जो कोहीलाई पैसा उठाउने जिम्मा दिदा त्यसको आम्दानीले मोजमस्ती गर्छ र समाजमा अपराध जन्माउछ ।’ डिएसपी सुदमकुमार सिजापतिले पनि जथाभावीरुपमा पार्किङ शुल्क उठाउन नपाउने धारणा राखेका थिए । बाबाधाम समितिका सचिव जयन्तराम गौतमले मंगलबार ट्राफिक, प्रशासन र प्रहरीको टोलीले स्थलगतरुपमा पार्किङस्थल हेरेर निर्णय गरिने बताए ।
Comments
Post a Comment