पिण्डेश्वरमा बोलबमको तयारी पुरा(फोटोफिचर)
धरान । हिन्दु आराध्य देव शिवको प्रिय महिना साउनभर धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम(मेला)को तयारी पुरा भएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । साउन पहिलो सोमबार(४ गते)बाट शुरु हुने बोलबममा आउने श्रद्धालु भक्तजनहरुको सुरक्षा, आराम गर्ने स्थान, प्राथमिक उपचारदेखि मन्दिरको रंगरोगन र सरसफाईलगायत सम्पुर्ण तयारी भइसकेको समितिको दाबी छ ।
भक्तजनहरुलाई राख्नकै लागि धर्मशाला मुनिका पसल हटाएर खाली गराइएको समितिका अध्यक्ष गौरीशंकर अग्रवालले जानकारी दिए । ‘तयारी लगभग पुरा भइसकेको छ । सुरक्षाको लागि अस्थायी प्रहरी विट नै एक महिनासम्म रहनेछ ।
भक्तजनहरुलाई राख्नको लागि धर्मशाला खाली गरिएको छ अन्य ठाउँ पनि व्यवस्था गरेका छौं’–अध्यक्ष अग्रवालले भने । समितिका अनुसार भक्तजनहरुको अत्यधिक भिड भएमा मध्यराती नै मन्दिरको मुल ढोका खोलिनेछ भने भिड नभए नियमित समयमा नै बिहान(४ बजे)तिर खोलिनेछ । चतरास्थित कोशी नदीबाट जल लिएर आउने गेरुबस्तधारी भक्तजनहरु मुल गेटबाट जल चढाउने व्यवस्था गरिनेछ । जहाँ महिला र पुरुषको दुई लाइन हुनेछ भने स्थानीय भक्तजनहरुलाई मन्दिरको पश्चिम गेट(सरस्वती कुण्डअघि)बाट जल चढाउने व्यवस्था गरिएको अध्यक्ष अग्रवालले बताए । उनका अनुसार रोट्याक्ट क्लब अफ धरान घोपा र परिवार नियोजन संघको स्वास्थ्यकर्मीको टोली भक्तजनहरुको उपचारमा खटिनेछ । भिडभाड कम गर्न र भक्तजनहरुलाई सुविधा पुर्याउन यसपाली मुल ढोकाबाटै तामाको जलहारीबाट शिवलिंगसम्म जल पुग्ने व्यवस्था गरिने यसअघि समितिले घोषणा गरेको थियो । जलहारी तयार भइसकेपनि यो व्यवस्था पहिलो सोमबार भने उपलब्ध नहुने समितिको भनाई छ ।
साउन महिनाभरको लागि धर्मशालाको माथिल्लो तलामा अस्थायी प्रहरी विट स्थापना गरिएको छ । जहाँ असई कृष्ण पौडेलको कमाण्डमा ५ जना प्रहरी नियमितरुपमा बोलबमको सुरक्षार्थ खटिनेछन् भने आइतबार रातीदेखि नै थप जनपद र सशस्त्र प्रहरीको टोली परिचालन हुनेछ । प्रहरीले आइतबार बेलुकीदेखि नै गौधारा, सरस्वती बालआश्रम हुदै मन्दिर पुग्ने बाबाधाम मार्ग र दन्तकाली मन्दिर हुदै पुग्ने दन्तकाली मार्गमा सवारीसाधान आवातजावत निषेध गरेको छ । ‘सोमबार धेरै भिडभाड हुने र भक्तजनलाई असजिलो हुने भएकोले दुवै बाटोबाट आइतबार बेलुकीदेखि नै सवारीसाधान निषेश गछौं, बुढासुब्बा चोक हुदै पिण्डेश्वर विद्यापिठसम्म वैकल्पिक बाटोमा भने यातायात खुला रहन्छ’–असई पौडेलले भने । भक्तजनहरु आइतबार चतरा जाने र कोशीको जल बोकेर मध्यरात हिडेर धरान आई पिण्डेश्वरमा जल चढाउने चलन छ । यहाँ नेपालका विभिन्न स्थानसँगै भारत, भुटानबाटसमेत मनोकांक्षा पुरा हुने आशामा भक्तजनहरु जल चढाउन आउछन् । साउनमा मात्रै यहाँ करिब ४ लाख भक्तजन आउछन् ।

Comments
Post a Comment