सुन्दैनन्, बोल्दैनन् तरपनि पढ्ने रहर(फोटोफिचर)

धरान । उनी बोल्न सक्दैनन्, कान सुन्दैनन् । हात खुटा पनि भरपर्दो छैन । यो शारीरिक अपांगता उनी जन्मदादेखिकै हो । यही कारण उनी वाल्यकालमा स्कुल जान पाएनन्, साथीसंगीसँग हाँसखेल गर्न पनि सकेनन् ।
तिनै धरान १५, खोरिया बस्तीका ३५ बर्षीय दिपक राईलाई भर्खर वाल्यकालले छोएको छ । उनी झोलामा कपी, पेन्सिल बोकेर घर नजिकैको जनता प्रावि जान्छन् । कक्षा कोठामा एक सुरमा लेखेर बस्छन् । उमेरमा ठुलो भएपनि उनको वालसुलभ व्यहावहारले अरु विद्यार्थीहरु उनीसँग रमाउछन् । शिक्षिका रिता कार्कीका अनुसार विद्यालय खुलेको दिन दिपक दिनभरि नै अन्य विद्यार्थीहरुसँग स्कुलमै हुन्छन् । कक्षा कोठामा बसेर कपीमा आफ्नै सुरमा लेखिरहन्छन् । तर, उनले के लेखेको हो भनेर बुझ्न भने सकिदैन । ‘उसको पढ्ने रहरले नै होला, स्कुल खुल्यो कि झोपामा कपि, पेन्सिल बोकेर आइहाल्छन्’–शिक्षिका कार्कीले भनिन्–‘कक्षामा बसिरहन्छ, आफै के के लेख्छ । टिफिनमा घर जान्छ र फेरि आउछ ।’
दिपक यसरी नियमित स्कुल आउन थालेको पाँच बर्ष भइसकेको छ । बोली र कान नसुन्ने भएपनि दिपकसँग शिक्षक र विद्यार्थीहरुले इशारामा संवाद गर्छन् । कति कुरा बुझ्छ, कति बुझिदैन । शुरुमा एक कक्षामा राख्दा दिपकले साना विद्यार्थीहरुलाई डिस्टर्ब गरेपछि कक्षा ४ वा ५ मा राखिन थालिएको विद्यालयले जनाएको छ । दिपक ७० बर्षीय वृद्ध एकल आमा दिलकुमारीको साथमा बस्छन् । अरु साथीहरु स्कुल गएको देखेपछि दिपक पनि झोला बोकेर जाने गरेको उनले बताइन् । ‘साथीहरु गएको देखेपछि म पनि स्कुल जान्छु भन्छ, घरमा साथीहरु आयो भने पढ्न खोज्छ’–दिलकुमारीले भनिन्–‘जन्मदै यस्तै हो, पढ्नलाई त के बुझ्छ होला र । यस्तोलाई पढाउने स्कुल छ भन्ने सुनेको छु, पढाई दिए त जान्दथ्यो कि ।’ दिपक स्कुल गएपछि आफु ढुक्क भएर काममा जान पाएको पनि उनले बताइन् ।
श्रीमान् ९ बर्षअघि बितेपछि वृद्ध दिलकुमारीले नै मजदुरी गरेर दिपकलाई पाल्दै आएकी थिइन् । नजिकैको सेउती खोलामा गिटी कुटेर जिविका चलाउने उनी गएको माघदेखि थला परिन् । आराम गरिरहेको बेला घरमै लडेर करङ पनि भाचियो । साथमा एक सुको थिएन । अस्पताल गइनन्, बजार गएर शेर्पाको पसलबाट आर्युवेदिक जडिबुटी ल्याएर खाइन् । उनी अझै तंग्रिएकी छैनन् । सम्पत्तिको नाममा एलनी जमिनमा सानो घर छ । छरछिमेकसँग अ‍ैचोपैचो मागेर छाक टार्दैछिन् । एक्लो छोराको भविष्यदेखि उनी ज्यादै चिन्तित छिन् । ‘जायजेथा भनेकै यही सुकुम्बासी घर हो, पछि यसले कसरी गरिखाला भनेर साह्रै चिन्ता लाग्छ’–वृद्धाले भनिन् । उनको एक छोरीको बिहे भइसकेको छ ।
जनता प्राविका प्रअ केशरबहादुर कार्की दिपक पढ्ने इच्छा भएर नै स्कुल आउने गरेकोले पुरानो किताब, कपी दिएको बताउछन् । अरु विद्यार्थीले लेखेको देखेर लेख्ने प्रयास गरेपनि सबै उल्टो अक्षरमा लेख्ने गरेको प्रअ कार्कीले बताए । ‘हामीलाई सांकेतिक भाषाको ज्ञान छैन, उसलाई त्यसरी पढाउने हो भने धेरै राम्रो हुन्थ्यो । बृद्ध आमाको केही भइहाल्यो भने त उसको विचल्ली हुन्छ’–प्रअ कार्कीले भने ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे