तेक्वान्दोका ग्राण्ड मास्टर राईलाई सम्मान(फोटोफिचर)


धरान । सन् १९९४ मा ब्रिटिश आर्मीबाट अवकाश पाउदा राजकुमार राई तेक्वान्दो खेलबाट राष्ट्रिय, अन्र्तराष्ट्रियरुपमा ख्याति कमाइसकेका थिए । अर्को बर्ष राष्ट्रिय खेलकुद परिषदबाट प्रशिक्षकको नियुक्ती पाएर धरान आउदा तेक्वान्दो खेल नै थिएन ।  करिब ४ महिना धरानमा प्रशिक्षण गरेका राईले नै तेक्वान्दो खेलको शुरुवात गरे ।
त्यसयता धरानबाट सयौं खेलाडी जन्मिए, र तेक्वान्दोमा राष्ट्रियस्तरमा सफलता पनि हात पारेका छन् । धरानमा तेक्वान्दो खेल र खेलाडी जन्माउने श्रेय पाएका उनै ‘ग्राण्ड मास्टर राई’लाई शनिबार उनका चेलाहरुले सम्मान गर्यो । धरान तेक्वान्दो डोजाङले धरान १० स्थित कवर्ड हलमा आयोजित सम्मान कार्यक्रममा नेपाली टोपी, खादा र सम्मान पत्र थाप्दा उनी निक्कै भावुक भए । राष्ट्रिय, अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा थुप्रै पदक जितिसकेका राईले कुनै औपचारिक समारोहमा पाएको सम्मान यही नै पहिलो थियो ।
‘मैले तेक्वान्दोको विरुवा रोपेको थिएँ, अहिले धेरै खेलाडी जन्मिसके छन् । साना बच्चाहरु पनि खेलेको देखे’–सम्मानपछि नागरिकसँग कुरा गर्दै राईले भने–‘यही ठाउँमा आएर सम्मान पाउदा ज्यादै खुशी लागेको छ, धन्यवाद दिन्छु । यस्तो खालको सम्मान आजसम्म पाएको थिएन । तर, गुनासो पनि छैन ।’ तेक्वान्दोमा सेभेन डान भएपछि खेलाडीले पाउने उपाधि भनेको ग्राण्ड मास्टर मात्रै हो । नेपालमा राईबाहेक नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ मात्रै ग्राण्ड मास्टर छन् ।
सम्मान कार्यक्रममा तेक्वान्दोका खेलाडीहरु ग्राण्ड मास्टरको उपस्थितिले ज्यादै हौसिएका थिए । ‘हामी सबै उहाँको चेला हौं, उहाँकै बाटोमा हिडिरहेका छौं । यहाँ तेक्वान्दोको जेजति विकास भयो, उहाँकै कारणले हो । त्यसैले गुरुलाई प्रत्यक्ष देख्न, भेट्न पाउदा सबैलाई हौसला मिलेको छ’–आयोजक डोजाङका अध्यक्ष गोपाल राईले भने । ग्राण्ड मास्टर राईले डेमोस्ट्रेशन गर्दा खेलाडीहरुले तेक्वान्दो..तेक्वान्दो भन्दै कवर्ड हललाई गुञ्जायमान् बनाएका थिए ।
ग्राण्ड मास्टर उपाधि र धरानमा तेक्वान्दोको जन्मदाताकोरुपमा मात्रै राईको परिचय अधुरो हुन्छ । सन् १९८६ मा दक्षिण कोरियाको सोउलमा आयोजित १० औं एसियन गेम्समा उनले काँस्य पदक जितेका थिए भने सन् १९९९ मा ८ औं साफ गेम्समा स्वर्ण पदक र उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । थुप्रै प्रतियोगितामा उनले जितेका पदकहरुमध्ये यी दुई प्रतियोगिता नेपाली खेलकुदमा स्मरणीय छ । खोटाङको सप्तेश्वर गाविसमा जन्मिएका राई सन् १९८० मा ब्रिटिश आर्मीमा भर्ती भएपछि नै तेक्वान्दो खेल्न थालेका थिए । सन् १९८३ मा ब्रिटिश आर्मी फोर्स तेक्वान्दो प्रतियागिता(हङकङ)मा कस्य पदक जितेर उनले सफलता चाख्न शुरु गरेका थिए । त्यसपछि, १९८८ सम्म उनले निरन्तर विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक जितेका थिए । उनले सन् १९८७ मा तेक्वान्दो विश्व च्याम्पियनसिपमा भाग लिएका थिए भने १९९५ को विश्व च्याम्पियनमा क्वार्टरफाइनल पुग्न सफल भएका थिए ।
सन् १९९९ मा काठमाण्डौंमा भएको ८ औं साफमा उनको चमत्कारिक खेल कौशलले नेपालीहरु चकित भएका थिए । स्वर्ण पदक जितेका राईको ख्याति झनै चुलियो । अर्को बर्ष ‘द कमाण्डो’ नामको नेपाली चलचित्रमा उनी मुख्य पात्रकोरुपमा देखिए । चलचित्रमा पनि उनको खेल कौशल देखियो, चलचित्रले राम्रो कमाई गर्यो । तर, उनी आफुलाई कलाकार भन्न रुचाउदैनन् । सन् १९९९ देखि उनी सपरिवार क्यानाडामा छन् । त्यहाँ पनि तेक्वानदो नै सिकाउछन् । यस्तै, युनिर्भसल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशन गठन गरेर सबै महादेशमा रहेकाहरुले अक्षय कोष बनाएका छन् । उक्त कोषको ब्याजले नेपालमा तामिल हल, म्याटलगायत खेल पूर्वाधारमा लगानी गर्ने योजना उनको छ । ‘मुख्य कुरा खेलको पूर्वाधार र राम्रो प्रशिक्षक हुनुपर्छ, खेलाडीहरुको कमी हुदैन’–उनले भने । सोही कार्यक्रममा चार बर्षे कार्यकाल पुरा गरेका सुनसरी जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई पनि सम्मानसहित विदाई गरिएको थियो ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे