महिलालाई रोजगारी दिलाउन घरेलु उद्योग शुरु गरिने

धरान । एक महिनासम्म चलेको स्पेशल सिलाई कटाई तालिम बुधबार सकिदा धरान १३ सम्झना राईलाई हातमा सिप हुनुको खुशी त छदै थियो, आयोजक संस्थाको एउटा योजनाले उनलाई झन् आशा र हर्ष दिलायो । आयोजक संस्था एकल महिला समुहले समापन समारोहमा तालिम लिएका स्थानीय महिलालाई रोजगारी दिलाउन चाडै घरेलु उद्योग(गार्मेन्ट) शुरु गर्ने घोषणा गर्यो ।
समुहको यो घोषणाले प्रशिक्षार्थी पन्ध्र जना महिलाहरुमा खुशी छायो । तालिम लिएका महिलाहरुले कि त आफै लगानी गरेर सिलाई, कटाई व्यावसाय शुरु गर्नुपथ्र्यो कि अन्य व्यावसायीकोमा काम खोज्दै पुग्नुपथ्र्यो । ‘सबैले आफै व्यावसाय शुरु गर्न सक्दैनन, संस्थाले नै उद्योग शुरु गरेर रोजगारी दियो भने धेरै राहत पुग्छ’–उनले भनिन् । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा समुहले धरान १७ स्थित छहारी भवनमा स्थानीय महिलाहरुलाई तालिम दिएको थियो ।
स्पेशल तालिम लिएका महिलाहरुको सिप सदुपयोग गराउने उद्देश्यले समुहले आफै घरेलु उद्योग शुरु गर्ने जनाएको छ । संस्थाले नै तालिम लिएका महिलाहरुलाई रोजगारी दिने र दुवै पक्षको आयस्रोत बढाउने योजना रहेको समुहकी सुनसरी जिल्ला अध्यक्ष जयन्ती लाखेले बताइन् । ‘अब उहाँहरुको सिपलाई सदुपयोग गर्दै आत्मनिर्भर बनाउन संस्थाले नै घरेलु उद्योगको सोच बनाएका छौं । यसो गर्दा उहाँहरुलाई पनि आय हुने र संस्थाको पनि स्रोत हुन्छ’–अध्यक्ष लाखेले भनिन्–‘उहाँहरुलाई अझ तालिम पनि दिलाउछौं ।’
एक महिने तालिमको क्रममा महिलाहरुले कुर्ता, टपिस, म्याक्सी, सर्ट, पाइजामा र ब्लाउज सिलाउन सिकेका छन् । दैनिक प्रयोगमा आउने आइटम सिकाएको कारण उत्पादन शुरु गर्दा खपत हुनसक्ने भएकोले संस्थागतरुपमा नै उद्योगको पहल भइरहेको कार्यक्रम अधिकृत इन्द्रकला राईले बताइन् । ‘महिलाहरुकै सिप विकास र आत्मनिर्भर बनाउन च्याउ खेती तालिम दिएर टहरा पनि बनायौं र उत्पादन भइरहेको छ, यस्तै कुटानी पिसानी मेशिन पनि ल्याएका छौं, महिलाहरुलाई नै अवसर दिएर मसलाको उत्पादन गछौं’–उनले भनिन् । तालिम समापनको क्रममा लिखित र व्यावहारिक परीक्षामा प्रथम हुने लमु शेर्पा, दोस्रो हुने रुपमाया खड्का र तेस्रो हुने रिता राईलाई पुरस्कार पनि दिइएको थियो । प्रशिक्षार्थी महिलाहरुलाई मोहम्मद सागिरले तालिम दिएका थिए ।
जिल्ला संयोजक सविता राईका अनुसार कपडाको घरेलु उद्योग शुरु गर्न सुनसरी उद्योग वाणिज्य संघसँग छलफल भइरहेको र बजार अध्ययन पनि गर्ने बताइन् । उद्योग शुरु नहुदासम्म व्यापारीहरुबाट कपडा लिएर सिलाउने र व्यापारीलाई नै उत्पादन फर्काउने योजना रहेको उनले बताइन् । तालिम समापन समारोहका प्रमुख अतिथि एवं उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राईले स्थानीय उत्पादन उपयोग गर्ने बानी नभएकोले गार्मेन्टको उत्पादनको बजार भए नभएको अध्ययन गरेर मात्रै शुरु गर्न सुझाव दिए । बराह ज्वेलरी इष्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर दियालीले महिलाहरुले उत्पादन गरेका वस्तुलाई आफ्नो डिपार्टमेन्टमा ठाउँ दिने र संस्थागतरुपमा व्यापारीक सहकार्य गर्न तयार रहेको बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे